महोत्तरीमा महिला हिंसाः बोक्सीको आरोपमा कुटिनेदेखि श्रीमती जलाउनेसम्म

महोत्तरीमा महिला हिंसाः बोक्सीको आरोपमा कुटिनेदेखि श्रीमती जलाउनेसम्म

महोत्तरी: मंसिर ९ देखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन हुनै लाग्यो। ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिए पनि हिंसा प्रभावित समाजमा यसको प्रभाव पर्न सकेको छैन । 

अहिले पनि समाजमा लैंगिक हिंसाका घटना बढिरहेका छन् । अभियानका नारा नारामै सीमित हुने गरेका छन् । नेपाली चेली वर्षेनी हिंसाको सिकार भइरहेका छन् । महोत्तरीमा वर्षेनी महिला हिंसा रोक्ने अभियान चले पनि हिंसाका घटना बढिरहेका छन्। वर्ष दिनमा घटेका केही प्रतिनिधि उदाहरण यहाँ प्रस्तुत गरिएको छ:

घटना १: दाइजो प्रकरणले पीडित बनेकी नेहा 

५१ लाख रुपैयाँ नगद र २० तोला सुन दाईजोसहित नेहा चौधरीको विवाह भयो। छोरीको उज्जवल भविष्यको कामना गरेका अभिभावक ज्वाइँले अझै दाइजो माग्दै छोरीमाथि अत्याचार गरेपछि चिन्तित बने। गत फागुनमा रामगोपालपुर नगरपालिका ५ का डा. पंकज चौधरीसँगको वैवाहिक जीवन ६ महिनापछि टुट्यो। अहिले नेहाको परिवारले छोरीमाथि अत्याचार गर्नेलाई कारबाही गर्न कानूनी बाटो खोज्दै अदालतको शरणमा पुगेका छन्। 

नेहाले दायर गरेको मुद्दामा घरेलु हिंसा र दाईजो उल्लेख गरिएको छ। नेहाका श्रीमान् पंकजले भने सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् । नेहा र पंकजको प्रेमलाई परिवारले स्वीकृत गरेर भव्य विवाह भएको हो। विवाहपछि दुई महिनाको दाम्पत्य जीवन सुखमय भएपनि त्यसपछि दुखद भयो । पंकजले शारीरिक, मानसिक तनाव दिन थालेपछि नेहाले पीडा माइती पक्षलाई सुनाइन् । 

त्यसपछि कानूनी बाटो रोजेको नेहाको परिवारले प्रहरीमा उजुरी गरेपछि पंकज पक्राउ परे। प्रहरी चौकी मै मेलमिलाप गरी विषय टुंग्याइयो । तर घर आएपछि फेरि विवादले उग्र रुप लियो । नेहाले सामाजिक सञ्जालबाटै पीडा पोखिन् । ग्राण्डी अस्पतालमा कार्यरत पंकजलाई पारिवारिक विवाद गरेको भन्दै जागिरबाटै निकालिदियो । अहिले यी दुई फरक भएका छन् । नेहाको मुद्दा अदालतमा छ। 

घटना २: आत्मदाहको प्रयासपछि डीएनए परीक्षण गर्न आदेश !

जलेश्वर निवासी निहारिका राजपुत हिंसा भोग्ने एक पात्र हुन्। उनले छोरा र बलात्कार घटनामा संलग्न धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ का २३ वर्षीय शिवराज श्रेष्ठको ‘डीएनए’ टेस्ट गर्न ठूलो संघर्ष गर्न पर्‍यो । जिल्ला अदालत धनुषाले निहारिका बलात्कृत नभएको भन्दै २४ माघ ०७८ मा आदेश नै दिएको थियो। 

अदालतको आदेशपछि न्यायका लागि निहारिका काठमाडौं पुगिन्। माइतीघर मण्डलामा धर्ना र वसन्तपुरमा अनसन बसिन्। शान्तिपूर्ण रुपले आवाज उठाउँदा केही नभएको भन्दै उनले २७ साउनमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालय अगाडिको आत्मदाहको प्रयास गरिन्। सुरक्षाकर्मीले उनको ज्यान जोगाए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएपछि उनलाई न्यान दिलाउन केही सहज भयो । अदालतको आदेशमा डीएनए परीक्षण भयो। 

खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्दा निहारिकाको छोरा र शिवराजको डीएनए ९९.९९ प्रतिशत मिल्यो ।

घटना ३: प्रमिलालाई पतिले नै जलाए
भङ्गहा नगरपालिका-९ की ३५ वर्षीया प्रमिला सदाको जलेर मृत्यु भयो । श्रीमानले आगो लगाएपछि जलेर गम्भीर बनेकी उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा गत साउन २९ गते प्रमिलाको मृत्यु भयो । 

३८ वर्षीय पति शंकर सदाले शरीरमा मट्टीतेल छर्केर आगो लगाएपछि उनी घाइते भएकी थिईन्। माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई पति शंकरले साउन २१ गते राति मट्टीतेल खन्याएर आगो लगाएका थिए। प्रमिलासँगै सुतेकी ६५ वर्षीया आमा रेशमा देवी सदाको शरीरको १० प्रतिशत भाग जलेको थियो। 

आरोपित शंकर सदालाई नेपाल-भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका-६ को सम्सी-कन्हवाबाट प्रहरीले पक्राउ गरेको थियो ।

घटना ४: बोक्सीको आरोपमा कुटपिट
जलेश्वर-६ धबौली की ५५ वर्षीया कालोदेवी महतो र ५४ वर्षीया दुलरिया देवी रामलाई गत जेठ २६ गते बोक्सीको आरोपमा अभद्र व्यवहार भयो । सोही ठाउँका ४५ वर्षीय भुलन राम, ५० वर्षीय तलेवर राम, २५ वर्षीय राकेश राम, २४ वर्षीय रवि राम, ३० वर्षीय रामु राम, २८ वर्षीया सोमनी भनिने सोमारी देवी राम र २५ वर्षीया आरती रामले ‘बोक्सी’को आरोपमा कुटपिट गरेको पीडित परिवारले जनाएको छ।

सडकमा बोलाएर ‘बोक्सी’ भन्दै कुटपिट गरेको र अभक्ष्य कोच्याउने प्रयास गरेको पीडित कालोदेवीले बताईन्। आमालाई घरबाट बाहिर बोलाएर ‘बोक्सी’ भन्दै नाङ्गै बनाएर कुटपिट गरेको पीडितका छोरा अमितकुमार महतोले बताए । छुटाउन जाँदा आफूलाई पनि कुटेको उनले बताए ।

घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालय जलेश्वरमा २७ जेठमा उजुरी दिएको अमितकुमारले बताए । आरोपित भुलन राम र सोमनी भनिने सोमारी देवी राम पक्राउ परे ।

त्यस्तै, खेतमा काम गरिरहेकी दुलारी देवी रामलाई ‘बोक्सी’को आरोपसहित कुटपिट गर्दै नाङ्गै बनाएपछि पोखरीमा हाम फालेको पीडितले बताइन् । पोखरीबाट स्थानीयले उद्दार गरेको उनका छोरा अशोक रामले बताए ।  पीडित दुई महिलालाई भूतप्रेत लगाएको भन्दै स्थानीय सोमन भनिने सोमारी देवी र भुलन राम लगायतले उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

घटना ५: श्रीमतीको गर्भपतनपछि भाउजुको हत्या
 
गत असोज २७ गते प्रहरीले भाउजुको हत्या गरेको आरोपमा महोत्तरी गाउँपालिका-३ मडैका ४२ वर्षीय सञ्जयकुमार झा पक्राउ परे । ४२ वर्षीया भाउजु शीलादेवी झालाई ‘बोक्सी’को आरोप लगाउँदै हत्या गरेको आरोपपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

श्रीमतीको गर्भपतन भएपछि बिरामी बनेकी उनलाई भाउजुले बोक्सी लगाएको आरोप लगाउँदै हत्या गरेको आरोप सञ्जयलाई छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शीलादेवीको हत्याको योजनासहित सञ्जयले २७ असोजमा जनकपुरबाट मडै घरमा आएको र राति सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या भएको गरेको सञ्जयले स्वीकार गरेका छन्।

प्रदेशगत रूपमा सबैभन्दा धेरै महिला हिंसा मधेस प्रदेशमा हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार आव ०७४/७५ यता चालू आवको असोजसम्म मधेसमा २३ हजार ८८२ घटना भएका छन्। मधेस मामिलासँग जानकार चन्द्रकिशोर झाले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतको पुरातन शैलीमा आधारित ‘डेलिभरी’ प्रणाली दोषी रहेको बताउँछन्। उनले भने, ‘एउटा पीडित सयौँ बाधा झेलेर प्रहरी कार्यालय पुग्छ, तर प्रहरीले उसलाई ‘असिस्ट’ गर्दैन। थोरै केस सरकारी वकिल कार्यालय र अदालत जान्छन्। त्यहाँबाट उनीहरूले उठ्नै नसक्ने गरी ठक्कर खान्छन् । अब यस्ता घटनालाई स्थानीय तहले समन्वयसहित सहजीकरण गर्नुपर्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.