क्रोएसियाको अविश्वसनीय सफलता
दोहा : क्रोएसियन प्रशिक्षक ज्लाटको डालिच ब्राजिलविरुद्धको अविश्वसनीय जितपछि पनि भब्य ‘सेलेब्रेसन’मा सहभागी भएनन्। उनी अवाक भएर गोललाइनमै उभिरहेका थिए। उनका वरिपरि क्रोएसियाको टिमले सेमिफाइनल यात्राको खुसी मनाइरहेको थियो। उनकै रणनीतिमा क्रोएसियाले अविश्वसनीय यात्रा तय गर्यो।
ब्राजिलियन स्टार फरवार्ड नेमारले अतिरिक्त समयमा गरेको उत्कृष्ट गोलसँगै आफ्नो टिम विश्वकपबाट बाहिरिइरहेको डालिचले देखेका थिए। तर, त्यसपछि उनकै रणनीतिमा कमजोर आँकिएको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्यो। अन्तिम समयमा ब्राजिलका धेरै खेलाडी आक्रामक बनेर अगाडि बढ्दा क्रोएसियाले त्यसको फाइदा उठायो।
ब्राजिलको एक्सपोज भएको रक्षापंक्तिको फाइदा उठाउँदै क्रोएसियाले खेलमा बाजी मारेको थियो। अतिरिक्त समयमा १–१ गोलको बराबरीसँगै क्रोएसियाले पाँच पटकको च्याम्पियन ब्राजिललाई पेनाल्टी सुटआउटमा धकेलेको थियो।
जहाँ ब्राजिल चुक्यो र क्रोएसियाले अनपेक्षित रूपमा लगातार दोस्रो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सेमिफाइनलमा स्थान बनायो। यो जित यति विशाल बन्यो कि, प्रशिक्षक डालिचलाई पनि स्विकार्न समय लाग्यो। उनको आश्चर्य गर्विलो मुस्कानमा छचल्किएको थियो। उनले आफ्नो र टिमको पछिल्लो केही वर्षको यात्रा सम्झिरहेका थिए। साँच्चै यो टिमको यात्रा अविश्वसनीय छ।
सुरुवाती सफलतापछि लामो प्रतीक्षा
क्रोएसियाले इस्टोनियाविरुद्ध सन् १९९४ मा पहिलो आधिकारिक फुटबल खेलेको थियो। सुरुवाती दिनमा क्रोएसियासँग क्षमतावान टिम र ‘प्यासोनेट फ्यान’ थिए। विश्व फुटबलको नक्सामा भर्खरै जन्मिएको मुलुकले अपत्यारिला सपना त्यही बेला साकार पारेको थियो।
आधिकारिक फुटबल खेलेको दुई वर्षपछि सन् १९९६ युरोपियन च्याम्पियनसिपमा क्रोएसिया क्वार्टरफाइनलसम्म पुगेको थियो। त्योभन्दा पनि अविश्वसनीय यात्रा त्यसको दुई वर्षपछि क्रोएसियाले तय गर्यो, सन् १९९८ को विश्वकपमा। पहिलो पटक विश्व फुटबलको सर्वोच्च मञ्चमा उत्रिएको क्रोएसियाले सेमिफाइनल यात्रा तय गरेको थियो। पहिलो सहभागितामै सेमिफाइनल पुग्ने÷तेस्रो हुने हालसम्मकै पहिलो मुलुक क्रोएसिया हो।
युरोपेली फुटबलका महारथि टिमहरूमा व्यावसायिक फुटबल खेल्ने डाभोर सुकेर, भोनिमिर बोबान त्यो समयका क्रोएसियन फुटबल स्टार बने। त्यसबेला विश्वकपमा तेस्रो हुँदै गर्दा क्रोएसियन टिमले गरेको प्रदर्शनले त्यहाँको समाजमा फुटबललाई स्थापित गरेको थियो। तर, सुरुवाती सफलता लामो समय टिकेन।
‘गोल्डेन जेनेरेसन’का खेलाडीको ढल्कँदो उमेरसँगै क्रोएसियन टिमको प्रदर्शन पनि खस्किँदै गयो। क्रोएसियाको लामो समयको निरन्तर प्रयासले सन् २००८ को युरोकपमा सफलता हासिल गर्यो। त्यो युरोपियन च्याम्पियनसिपबाट केही क्षमतावान नयाँ खेलाडीको उदय भयो। तर, आउँदो पुस्ताका तीन उत्कृष्ट खेलाडी लुका मोड्रिच, म्लाडेन पेट्रिच र इभान राकिटिचले टर्कीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न सकेनन्।
त्यसपछि सन् २०१६ युरोकपसम्म क्रोएसियाले उल्लेख प्रदर्शन गर्न सकेन। फ्रान्समा भएको त्यो युरोपियन च्याम्पियनसिपमा स्पेन भएको समूहबाट विजेता बन्दै नकआउटमा पुगेको थियो। अन्तिम १६ मा त्यही संस्करणमा च्याम्पियन बनेको पोर्चुगलसँग पराजित हुँदै बाहिरियो। अन्तिम १६ बाट बाहिरिनु पर्दा सन् १९९८ विश्वकप यात्रा तय गर्ने क्रोएसियाको लक्ष्य फेरि चकनाचुर भयो।
गोल्डेन जेनेरेसनबाट नयाँ उचाइ
सन् २०१६ को युरोकपको असफलतापछि प्रशिक्षकको जिम्मेवारी डालिचमाथि आयो। उनले सन् २०१७ बाट राष्ट्रिय टिमको प्रशिक्षण सम्हाले। डालिचले सन् २०१६ मा यूएईको क्लब अल ऐनलाई एसियाली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको फाइनलसम्म पर्ुयाएका थिए। जहाँ उनको टिम जापानी क्लब जियोनबुक हुन्डाई मोटर्ससँग ३–२ गोलले पराजित भएको थियो।
व्यावसायिक फुटबलमा त्यो उल्लेख्य सफलता थियो। तर, डालिचको अन्तर्राष्ट्रिय फुटबलको शीर्ष स्तरमा भने परीक्षण भएको थिएन। विश्वकपको तयारीमा रहेको टिमको प्रशिक्षकको रूपमा उनलाई नियुक्त गरिएकोमा आलोचनासमेत भएको थियो। युरोपेली फुटबलमा सफल प्रशिक्षकहरू धेरै हुँदाहुँदै उनलाई नियुक्त गरिएको भन्दै समर्थकहरू पनि तीब्र आलोचनामा उत्रिएका थिए।
अन्ततः डालिच क्रोएसियालाई चाहिएजस्तै प्रशिक्षक बने। क्रोएसिया नयाँ क्षमतावान खेलाडीको युगमा प्रवेश गर्दैथियो। जसलाई उपयुक्त सययमा उपयुक्त मार्गनिर्देशनको मात्रै खाँचो थियो। मोड्रिच, राकिटिच, मारिया मान्जुकिच र डानिजेल सुबासिच करियरको उत्कृष्ट लयमा थिए। उनीहरूको तुलनामा कम उमेरका माटेओ कोभासिच, इभान पेरिसिच, मार्सेलो ब्रोजोभिचजस्ता खेलाडीहरू पनि उकालो यात्रामै थिए।
क्षमतावान खेलाडीको जमातलाई उत्कृष्ट टिममा परिणत गर्न मात्रै आवश्यक छ भन्ने डालिचलाई थाहा थियो। त्यसैले खेलाडीको क्षमताअनुसार जिम्मेवारी दिँदै संगठित रक्षापंक्ति, खेल काबुमा राख्न सक्ने मिडफिल्ड र मौकाको फाइदा उठाउन सक्ने अग्रपंक्ति निर्माण गरे। यो टिम निर्माण गर्न डालिचले कुनै क्रान्ति गर्नुपरेन। त्यो उनको व्यवस्थापकीय क्षमताको प्रभाव थियो। उनले टिममा असहमति राख्ने निकाला कालिनिचलाई सन् २०१८ को विश्वकपको समूह चरणमै हुँदा घर फर्काइदिएका थिए। सोही संस्करणमा क्रोएसिया विश्वकपको फाइनलमा पुगेको थियो।
दुर्भाग्यबस, फाइनलमा पराजित हुँदा क्रोएसियाले फेरि सन् १९९८ को जस्तै तीतो अनुभवको सामना गर्नुपर्यो। तर, उनीहरूले उपाधि नजिते पनि फुटबलका शक्तिकेन्द्र भनिने मुलुकहरूलाई पछाडि पार्दै फाइनल
यात्रा तय गर्दा राष्ट्रलाई गर्वान्वित बनाएका थिए। क्षमतावान टिमबाट त्यो संस्करणमा उत्कृष्ट आउटपुटका लागि क्रोएसियाले लामो प्रतीक्षा गरेको थियो। त्यो सफलतापछि क्रोएसियन टिम जाग्रेब विमानस्थलमा पुग्दा भव्य स्वागत पाएको थियो र, त्यसको आकर्षणको केन्द्र लुका मोड्रिच थिए।
ज्युँदा अवतार मोड्रिच
मिडफिल्ड मास्ट्रेसो मोड्रिचले करियरले सबैभन्दा धेरै राष्ट्रिय टिमको सफलतापछि स्टारडम पायो। उनका हजुरबुबा गृहयुद्धका क्रममा मारिएका थिए। ग्रामीण भुभागको एउटा झुप्रोमा मोड्रिच हुर्किएका थिए। त्यो झुपडीबाट शरणार्थी शिविर हुँदै अहिलेको स्तरमा उनी पुग्दा एउटा मात्रै स्थिर चिज भनेको फुटबल थियो। कयौं देशवासीलाई जस्तै मोड्रिचलाई पनि फुटबलले नै जीवन जिउने आधार दियो। बाल्यकालदेखि नै असामान्य क्षमता भएका मोड्रिच जन्मसिद्ध लिडर थिए। आगलागी र विस्फोटका माझ खेल्दाखेल्दै उनी डाइनामो जाग्रेबबाट खेल्न थाले। त्यसपछि, टोट्टनहाम अनि रियल म्याड्रिड पुगे।
रियालबाट उनले धेरै पटक युरोयिन च्याम्पियन्स लिगको उपाधि उचालेका छन्। त्यति मात्रै होइन, मड्रिडको सर्वकालिन सफल क्लबको मिडफिल्डका मुटु, मोड्रिच नै हुन्। क्लबबाट अपार सफलता हात पारेका मोड्रिचले राष्ट्रिय टिमलाई पनि अद्भूत सफलताको शिखरमा पुर्याएका छन्। त्यसैले उनी देशबासीका लागि एक हिसाबले भगवान् बनेका छन्। मोड्रिच हालसम्मका सबैभन्दा उत्कृष्ट क्रोएसियन खेलाडी हुन्। जसले चार वर्षअघि रुसमा विश्वकपका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए।
कतारमा साबित भयो, चार वर्षअघि संयोग मात्रै थिएन
कतारमा सेमिफाइनलमा पुगेसँगै चार वर्षअघि संयोगले मात्रै फाइनलमा पुगेको होइन भन्ने क्रोएसियाले साबित गरेको छ। डालिचले प्रशिक्षण सम्हालेयता क्रोएसिया स्थिर र बलियो टिम छ। फिफा बरीयतामा पनि शीर्ष १५ मा पर्दै आएको छ।
उमेर ढल्किँदै गएपछि सुबासिच र मान्जुकिच बाहिरिए तर नयाँ खेलाडीरू जोस्को भार्डियोल, निकोला भ्लासिच र पेनाल्टी सुटआउटका हिरो डोमिनिक लिभाकोभिच उदाएका छन्। सन् १९९८ विश्वकपको गोल्डेन जेनेरेसनभन्दा उत्कृष्ट नहोला तर कम्ति पनि छैन। सेमिफाइनलमा लियोनेल मेसीको अर्जेन्टिनासँग हार्यो भने पनि क्रोएसिया लज्जित हुनेछैन।
प्रतिक्रिया दिनुहोस !