भत्काउन थालियो रंगशाला

भत्काउन थालियो रंगशाला

दोहा : कतारमा जारी फिफा विश्वकप फुटबल सकिन अझै एक साता समय बाँकी छ। तर, प्रतियोगिता नसकिँदै कतारले केही रंगशाला भने भत्काउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कतारले दोहाको रस अबु अबाउद क्षेत्रको स्टेडियम ९७४ भत्काउन थालेको हो। यो  रंगशाला मुख्य रूपमा ९७४ सिपिङ कन्टेनरहरू प्रयोग गरेर निर्माण गरिएको थियो। 

यो रंगशालामा विश्वकप फुटबलका सात खेल सञ्चालन भएका थिए। गत सोमबार ब्राजिल र दक्षिण कोरियाको प्रिक्वार्टरफाइनल खेलपछि रंगशाला भत्काउन थालिएको हो। उक्त खेलमा पाँच पटकको विजेता ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित गरेको थियो।  स्टेडियम ९७४ मा समूह चरणअन्तर्गत पोल्यान्ड र मेक्सिकोबीच पहिलो खेल आयोजना भएको थियो। पुनःप्रयोग गर्न मिल्ने कन्टेनरहरूबाट निर्माण गरिएको यो रंगशाला भत्काएर कन्टेनरहरूलाई विभिन्न राष्ट्रमा पठाइने जनाइएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप आयोजनाका लागि ८० हजार दर्शक क्षमताको एउटा रंगशाला हुनुपर्ने र अरु ६० हजार र ४० हजार दर्शक क्षमताको रंगशाला हुनुपर्ने प्रावधान राखेको थियो। त्यही प्रावधान अनुसार कतारले ८० हजार क्षमताको लुसेल रंगशाला निर्माण गरेको थियो। यो रंगशालामा विश्वकप फुटबलको फाइनल खेल सञ्चालन हुनेछ। विश्वकपको उद्घाटन भने अल बायत रंगशालामा गरिएको थियो। सो रंगशालाको क्षमता ६० हजार छ। आठमध्ये बाँकी रंगशालाको क्षमता भने ४० हजार छ। 

सन् २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि १२ वटा रंगशाला बनाउने योजना भएको कतारले कोरोना महामारीलगायतका कारणले आठ वटा मात्रै रंगशाला तयार गरेको थियो। जसमध्ये सात वटा रंगशाला नयाँ बनाएको थियो भने खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने पुनर्निर्माण गरिएको थियो। 

कतारका अनुसार लुसेल रंगशाला अब विद्यालय र सपिङ मलमा परिणत गरिने छ। अल बायत रंगशाला भने पाँच तारे होटलमा परिणत हुनेछ। दुई वटा रंगशाला भने स्थानीय क्लबहरूले प्रयोग गर्ने भएका छन्। अहमद अली बिन रंगशाला अल रेबान क्लब र अल जानोब रंगशालाको स्वामित्व अल वाहराहले लिनेछ। खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने कतारी फुटबल संघले आफ्नो स्वमित्वमा लिनेछ। यस बाहेक केही रंगशाला भने सन् २०२४ मा हुने एसियन कपका लागि प्रयोगमा ल्याइने छ।

विश्वकप सुरु हुनुभन्दा एक महिना अघि मात्रै कतारले एसिया कप आयोजनाको जिम्मेवारी पाएको थियो। यसअघि चीनले आयोजना गर्ने तय भए पनि कोरोना महामारीका कारण कतारलाई जिम्मेवारी दिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.