८२५ सिटकै परिणाम, मत बदर ५.०६ प्रतिशत
![८२५ सिटकै परिणाम, मत बदर ५.०६ प्रतिशत](https://annapurnapost.prixacdn.net/media/albums/election_20221215064312_ngYznwI87o.jpg)
काठमाडौं : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८ सय २५ जना निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना उम्मेदवार निर्वाचित भएका हुन्।
प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भए। प्रतिशतका आधारमा यो पुरुष ६६.९० र महिला ३३.१० प्रतिशत हो। प्रदेशसभातर्फ भने पुरुष ३ सय ५० र महिला २ सय जना निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ।
प्रदेशसभामा ६३.६४ प्रतिशत पुरुष र ३६.३६ प्रतिशत महिला निर्वाचित भए। बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। मत परिणाम सार्वजनिक गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्तिम नतिजा बिहीबार राष्ट्रपतिलाई बुझाउने बताए। ‘प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष बुझाउने प्रावधान छ। हामी त्यसैअनुसार बिहीबार बुझाउँछौं,’ उनले भने,‘प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिसमक्ष पेस हुन्छ। ’
आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशका प्रदेश प्रमुख समक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने आयुक्त थपलियाले बताए। प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने उनले बताए।
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन बनाउने
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकार दिन कानुन बनाउने बताए। भने, ‘यो निर्वाचन आयोगको प्रतिबद्धता हो। ८ वटा कानुन छन्। अब एउटै बन्छ। धेरै कुरा जुधेका पनि छन्। ’
४,२८५ को जमानत जफत
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशतभन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ। आयोगका अनुसार प्रतिनिधिसभामा २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको थियो। तीमध्ये प्रतिनिधिसभातर्फ १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ जना महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको हो।
निर्वाचन आयोगमा बुधबार पत्रकार सम्मेलन गरेर अन्तिम मत परिणाम सार्वजनिक गर्दै आयोगका पदाधिकारी ।
त्यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २ सय ३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ। दुवैतर्फ गरी ४ हजार २ सय ८५ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन आयोगले जानकारी दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६ सय ३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको हो।
५.०६ प्रतिशत मत बदर
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा ५.०६ प्रतिशत मत बदर भएको जनाएको छ। बुधबार आयोगले पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको जनाएको हो।
त्यसमध्ये १ करोड ४ लाख ८७ हजार ९ सय ५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ।
८६ दल दर्ता, ४७ सहभागी
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २ सय २५ र पुरुष २ हजार १ सय ८६ गरी २ हजार ४ सय ११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो। सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १ सय ८७ र पुरुष १ हजार १२ गरी २ हजार १ सय ९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।
त्यसैगरी प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २ सय ८०, पुरुष २ हजार ९ सय ४३ र अन्य १ गरी ३ हजार २ सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५ सय ११ र पुरुष २ हजार १ सय ९७ गरी कुल ३ हजार ७ सय ८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)