एमबाप्पे युग

एमबाप्पे युग

काठमाडौं : झन्डै ८० मिनेट खेल भइसकेको थियो। फ्रान्स २–० ले पछि। अर्जेन्टिना एकपक्षीय रूपमा हावी थियो। उसका समर्थकमा खुसीको सीमा नै थिएन। फ्रान्स लम्किन खोज्दै थियो। तर, मेलोमेसो मिलेको थिएन। त्यही बेला फ्रान्सले पेनाल्टी पायो। अघि सरे, २३ वर्षीय काइलिन एमबाप्पे। बिना कुनै गल्ती उनले गोल गरे। खेललाई रोचक बनाए। 

उनी त्यतिमा मात्रै रोकिएनन्। डेढ मिनेटमै अर्को गोल थप्दै ‘गुमिसकेको’ खेल बराबरीमा ल्याए। अनि, निराश फ्रान्सेली समर्थकमा खुसीको सीमै रहेन। समर्थकमा ‘एमबाप्पे, एमबाप्पे’ भन्ने नारावाजी भयो। 
विश्वकप फाइनलमा विश्वले देख्यो– एमबाप्पेको जादु। उनी नयाँ स्टार बने। कतार विश्वकप फाइनलमा गरेको अद्भुत प्रदर्शनले एमबाप्पेको लोकप्रियता सगरमाथाजस्तै उच्च बन्यो। 

फाइनल खेलको ९० मिनेटमा दुवै पक्ष २–२ मा थिए। खेल अतिरिक्त समयमा गयो। फ्रान्स फेरि एक गोलले पछि पर्‍यो। त्यही बेला पेनाल्टी पायो। त्यसको भरपुर सदुपयोग गर्दै एमबाप्पेले गोल गरे। खेल ३–३ को बराबरी स्थितिमा आयो। त्यसपछि खेल टाइब्रेकरमा गयो। एमबाप्पेले गोल गरे। तर, फ्रान्सका किङ्सले कोम्यान र औरेलियन तचौमेनीले पेनाल्टीमा गोल गर्न सकेनन्। खेल जित्यो, अर्जेन्टिनाले, मन जिते एमबाप्पेले। 
एमबाप्पे ५६ वर्षपछि विश्वकप फाइनलमा ह्याट्रिक गर्ने खेलाडी पनि बन्न पुगे। उनले दुई पेनाल्टीसहित ह्याट्रिक गरे। सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हस्र्टले विश्वकप फाइनलमा ह्याट्रिक गरेका थिए। त्यस बेला हस्र्टकै ह्याट्रिकको मदतमा इङ्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो। कतार विश्वकपमा एमबाप्पेभन्दा अघि पोर्चुगलका गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए। उनले स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा ह्याट्रिक गरेका हुन्। 

एमबाप्पेले कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटको अवार्ड पनि जिते। उनले आठ गोल गरे भने दुई गोलका लागि अवसर सिर्जना गरे। समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक गोल र एक असिस्ट गरेका थिए। यस्तै डेनमार्कविरुद्ध दुई, पोल्यान्डविरुद्ध दुई गोल र एक असिस्ट एवं फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए। सन् २००२ पछि एउटै विश्वकपमा सर्वाधिक गोल एमबाप्पेले कतार विश्वकपमा गरेका हुन्। सन् २००२ मा ब्राजिलका रोनाल्डोले पनि आठ गोल गरेका थिए। 

अभूतपूर्व ड्रिब्लिङ क्षमता, असाधारण गति र उत्कृष्ट फिनिसिङले एमबाप्पेले विश्वकपमा विपक्षीलाई आच्छुआच्छु पारे। उनी पोल्यान्डविरुद्धको खेलमा ३५.३ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिएका थिए। जुन विश्वकप फुटबलमा अहिलेसम्मकै तीव्र गतिको कीर्तिमान हो।

उनले गोल गर्ने मामिलामा पनि पेले र क्रिस्टियानो रोनाल्डोलाई पछि पारे। रोनाल्डोले विश्वकपमा २० खेल खेल्दै आठ गोल गरे। एमबाप्पेले १४ खेलमा १२ गोल गरेका छन्। उनले ब्राजिलका दिग्गज खेलाडी पेलेलाई भने पछि पारिसकेका छन्। पेलेले पनि विश्वकपमा १२ गोल नै गरेका छन्। २३ वर्षको उमेरमा सर्वाधिक गोल गर्ने पेलेको ६० वर्ष पुरानो कीर्तिमानलाई पनि उनले तोडेका छन्। 

अर्जेन्टिनाका कप्तान लियोनल मेसी एमबाप्पेभन्दा एक गोलले अगाडि छन्। तर, उनले पाँच विश्वकपको २४ खेलमा १३ गोल गरेका हुन्। एमबाप्पेले भने दुई विश्वकपका १४ खेलमा १२ गोल गरेका ह्ुन्। विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन्। उनको नाममा १६ गोलको रेकर्ड छ। ब्राजिलका रोनाल्डोले १५, जर्मनीका गड मुलर १४, फ्रान्सका जस्ट फोन्टेन र अर्जेन्टिनाका मेसीले १३ गोल गरेका छन्। 

एमबाप्पेभन्दा अगाडि रहेका मेसीबाहेक खेलाडीले संन्यास लिइसकेका छन्। मेसीले पनि कतार विश्वकप नै अन्तिम भएको बताइसकेकाले धेरै गोल गर्ने खेलाडीको सूचीमा एमबाप्पे मात्रै सक्रिय खेलाडी हुन्। एमबाप्पेले सन् २०१८ को विश्वकपमा कम उमेरमा फाइनलमा गोल गर्ने कीर्तिमान बनाएका थिए। क्रोएसियाविरुद्धको फाइनल खेलमा गोल गर्दै उनले यो कीर्तिमान बनाएका थिए। 

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता ओलिभर जिरुड आफ्नो कीर्तिमान क्षणिक रहेको बताउँछन्। थियरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गर्दै ५३ गोल पुर्‍याएका ३७ वर्षीय जिरुड आफ्नो कीर्तिमान तोड्न एमबाप्पेलाई लामो समय नलाग्ने बताउँछन्। ‘एमबाप्पे द्रुत गतिमा सफलतातर्फ दौडिरहेका छन्’, जिरुड भन्छन्, ‘उनले सबै कीर्तिमान तोड्ने छन्। मलाई त्यो थाहा छ।’ 

एमबाप्पेले कतार विश्वकपबाटै रोनाल्डोलाई उछिनेका हुन्। आफूभन्दा १४ वर्ष जेठा रोनाल्डोको तस्बिर फ्रेन्च फरवार्ड एमबाप्पेले बाल्यकालमा आफ्नो कोठामा सजाएका थिए। उनलाई आफू पनि एक दिन रोनाल्डोजस्तै बन्छु भन्ने लागेको थियो। तर, यति द्रुत गतिमा कुदिएला भन्ने उनले पनि सोचेकै थिएनन्, सायद। त्यसैले २० वर्षकै उमेरमा विश्वकप र फ्रेन्च लिग वान जितिसकेका एमबाप्पेले आफ्नो पुरानो कोठामा आफ्नै तस्बिर राखेर रोनाल्डोलाई प्रतिस्थापन गरे। किशोरावस्थामै ठूलो सफलता हासिल गरिसकेका एमबाप्पेको गति सुरु भएदेखि रोकिएको छैन।

भनिन्छ, फुटबल एकनासको हुँदैन। एमबाप्पे भने सधैं एकैनासकै छन्। सफलताबाट झन् बढी सफलतातर्फ। एमबाप्पेले २४औं जन्मदिन मनाउनुअघि फ्रेन्च टिमबाट ३६ गोल गरिसकेका छन्। यो उमेरमा थिएरी अनरीले १० गोल मात्रै गरेका थिए भने जिरुडले खातै खोलेका थिएनन्। 

‘उनी अविश्वसनीय छन् र अझै युवा झन्। त्यो झन् महत्वपूर्ण हो’, जिरुड भन्छन्, ‘किनभने उनी अझै उत्कृष्ट हुन सक्छन्।’ फ्रेन्च प्रशिक्षक डिडियर डेसच्याम्पस भन्छन्, ‘हामीले एमबाप्पेका रूपमा अर्कै ग्रहबाट आएका खेलाडी पाएका छौंभन्दा पनि हुन्छ। उनीसँग बस्फोटक क्षमता छ। अपत्यारिलो क्षमता र गोल गर्न सक्ने क्षमता छ। प्रत्येक खेलमा उनले त्यो देखाइरहेका छन्। त्यो एकदमै महत्वपूर्ण पनि छ।’ 

एमबाप्पे विश्वकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी पनि हुन्। उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १ सय २८ मिलियन डलरको सम्झौता गरेका छन्। पीएसजीमा उनीपछि मेसीले १ सय २० मिलियन डलर पारिश्रमिक पाउँछन्। 

रोनाल्डो र मेसीबीच आधुनिक पुस्ताको महान खेलाडी को भन्ने बहस चल्ने गरेको छ। मेसीले अर्जेन्टिनालाई विश्वकप जिताएसँगै आफू अब्बल भएको सावित गरेका छन्। मेसी र रोनाल्डोपछि अब विश्व फुटबलमा चम्किने नाम एमबाप्पेको हो। उनको नाममा सायदै बहस हुनेछ। हुनेछ त मेसी र रोनाल्डोसँगको तुलना मात्रै।

- (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.