देश झल्काउँदै नयाँ संसद्

देश झल्काउँदै नयाँ संसद्

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले बिहीबार शपथ लिएका छन्। जो देश झल्काउँदै संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए। कोही सांसद राष्ट्रिय पोसाक त कोही आआफ्नो जातीय सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएका थिए। उल्लेख्य रूपमा नयाँ अनुहार देखिए। 

उनीहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ खुवाए। २८ जनाले १४ मातृभाषामा शपथ लिए। रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिए। उनले छोटो प्रतिक्रिया दिँदै भाषाको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए। 

गाडीहरूमा इम्बोस्ड नम्बर राख्दा अंग्रेजीमा राख्नुपर्ने व्यवस्था गलत भएको टिप्पणी उनले गरे। सांसदहरूले सञ्चारकर्मीसँग कुरा गर्दै आआफ्ना एजेन्डाका विषयमा कार्यकाल अगाडि बढाउने बताए। ‘इमानलाई सबैभन्दा माथि राखेर जनतामा निभाउनुपर्ने जनमुखी भूमिका निभाउनेछु। जनताको मौलिक हक र अधिकारका मुद्दाहरू सम्बोधन हुनेछन्’, सांसद डा. तोसिमा कार्कीले भनिन्, ‘बनेका नीतिमा नियमन गर्ने हो। सरकार गठनको विषयमा जनमुखी एजेन्डा अगाडि बढाउन प्रतिपक्षमा रहोस् वा सतापक्ष जुन भूमिकामा रहेर सम्बोधन गर्छौं।’

सांसद ज्ञानेन्द्र शाहीले कुनै एउटा दलको व्यक्तिको एजेन्डा नभई मुलुकको हितमा बन्ने एजेन्डा बन्ने गरी काम गर्ने बताए। सांसद महेश बस्नेतले विकासको सिद्धान्तलाई बुझ्नुपर्ने धारणा राखे। 

इलामको आर्थिक समृद्धि र पूर्वाधारसम्पन्न बनाउन संविधान र कानुनको दायराभित्र रहेर काम गर्ने उनको भनाइ थियो। सांसद रामहरि खतिवडाले पहिलाजस्तो निदाएर बस्ने प्रतिनिधिसभा नभई जनताको आवाज उठाउने एउटा माध्य बन्नुपर्ने बताए। ‘सदनमा आएर हाजिर गर्ने टाप कस्ने, निदाएर बस्ने ठाउँ मात्र प्रतिनिधिसभा हुने छैन। जनताको कुरा सरकारमा पुग्ने र सरकारका राम्रा काम जनताको बीचमा लाने काम गर्नेछौं’, उनले भने, ‘केही बेथितिहरू देखिएका छन् जुन मन्त्री भयो उसको क्षेत्रमा बजेटको ओइरो लाग्ने कमजोर र बोल्न नसक्ने माननीयतिर नजाने भएका छन्। 

कमसेकम समानुपातिक र प्रत्यक्ष समावेशी बनाएपछि भूगोलको आधारमा विकास हुने ५ वर्षको मेरो प्रयास र प्रयत्न हुनेछ।’ 

अर्का सांसद असिम शाहले मुस्लिम धर्मावलम्बी भएकाले ईश्वरको ठाउँमा अल्लाह भनेर शपथ लिएको बताए। फिल्म निर्माता तथा निर्देशक शाहले चलचित्रकर्मीलाई भेटेर यसक्षेत्र प्रतिचासो दिने बताए। 

यसअघि उपनिर्वाचनबाट सासंद बनेर एकलै शपथ लिएकी विद्या भट्टराईले यसपटक सबैसँग हुँदा फरक अनुभूति भएको बताइन्। उनले भनिन्, ‘कास्कीका जनताले जुन विश्वास गर्नुभएको छ, त्यो सँगै आशा पनि छन्। त्यो आशा पूरा गर्नुपर्ने सांसदको मूलभूत दायित्व हो’, उनले भनिन्, ‘नीति निर्माण सँगै सरकारलाई विकास प्रतिजवाफदेही बनाउन मलाइ यहाँ पठाउनु भएको छ। त्यसलाइ पूरा गर्ने प्रतिबद्धता छ।’

रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले यसबारे अहिले नै केही नबोल्ने बताए। ‘म यो विषयमा केही बोलिरहनु नै पर्दैन’, उनले भने, ‘सम्मानित अदालतमा यो विषय छ। सम्बन्धित निकायले हेरिरहेको छ। म उहाँहरूको निर्णयलाई नै पर्खिन्छु।’ 

कस्तो होला अबको सरकार ? 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै सरकार बन्ने बताए। अब को प्रधानमन्त्री बन्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा दाहालले भने, ‘गठबन्धनकै सरकार बन्छ। पहिलो पालामा को बन्ने सल्लाह हुँदै छ।’

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले दलहरू नेता चयनमा व्यस्त रहेको र आफू पनि बिरामी परेकाले सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताए। छिट्टै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने उनको भनाइ थियो। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन भन्ने चाहेको बताए। भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए। 

सांसद आरजु राणा देउवाले गठबन्धनबाट शेरबहादुर देउवाको नेतृत्व सरकार बन्न सक्ने बताइन्। कसको सरकार बन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘गठबन्धनको नै सरकार बन्छ जस्तो लाग्छ। संविधानको प्रक्रियाअनुसार ठूलो पार्टीको सरकार बन्छ। एक÷दुई दिनमै नतिजा आइहाल्छ।’ 

कांग्रेस महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसद्मा छलफल हुनुपर्ने बताए। संसद्बाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठीक लागेको आधारमा रोक्न थाल्ने हो भने संसद्को सार्वभौमसत्ता खोसिने उनको भनाइ थियो। उनले सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने बताए। त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ।’

२ सय ७५ प्रतिनिधिसभा सदस्यमध्ये ४ जना शपथ कार्यक्रममा अनुपस्थित रहे। जसमा नेकपा (एस)का प्रेम आले, माओवादीका महिन्द्रा राय यादव, कांग्रेसकी माया राई र माओवादीकै रामकुमार राई रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.