गठबन्धन नटुटेसम्म सरकार बनाउने खेलमा एमाले रहँदैन : ईश्वर पोखरेल
धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म नेकपा एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल धनकुटाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले नेकपा एमाले सरकार बनाउने खेलमा नरहेको प्रष्ट पारे।
पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका उनले भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए । गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उनले बताए ।
पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश समितिले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाको सहिदपार्कमा आज हुन लागेको सहिद परिवारलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस !