को कस्ता मन्त्री ?
![को कस्ता मन्त्री ?](https://annapurnapost.prixacdn.net/media/albums/pm_20221226164606_KXvWP3BNTu.jpg)
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालका सात सारथिमध्ये पहिलो वरीयतामा छन् उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल। त्यसपछि अर्का उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन्।
एमाले उपाध्यक्ष पौडेल यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधान एवं अर्थमन्त्री नै भएका थिए। ओलीकै अघिल्लो कार्यकालमा उनले अर्थ मन्त्रालयकै जिम्मेवारी सम्हालेका थिए। त्यसअघि पनि पटक–पटक मन्त्री बनेका उनी यसपटक रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजय गरेका थिए।
माओवादी नेता श्रेष्ठ पनि यसअघि नै उपप्रधानमन्त्री बनेका थिए। उनी ९ माघ २०७६ गते राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। उनले गण्डकी प्रदेशमा सूर्यप्रसाद रेग्मीलाई पराजित गरेका थिए। गोरखा क्षेत्र नम्बर २ मा २०७४ मा डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
रास्वपा सभापति रवि गृहमन्त्री पहिलोपटक मन्त्री बनेका हुन्। सञ्चार कर्म छाडेर राजनीतिमा लागेका उनको नागरिकता विवाद अदालतमा विचाराधीन छ। चितवन–२ बाट निर्वाचित लामिछाने पार्टी संसदीय दलका नेतासमेत हुन्।
अमेरिकी नागरिकता नत्यागी झुटा विवरण पेस गरेर नेपाली राहदानी बनाएको आरोप उनीविरुद्ध लागेको छ। अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। उनले पहिलो पटक २०५० सालमा नागरिकता निकालेका थिए। अन्य चार मन्त्रीले शपथ लिए पनि कार्यभार भने तोकिएको छैन। जसमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान छन्।
एमालेकी साह प्रतिनिधिसभा सदस्यमा बारा ३ बाट विजयी भएकी हुन्। उनले निकटतम प्रतिस्पर्धी जसपाका रामबाबुकुमार यादवलाई झन्डै ३ हजार मतले हराएकी थिइन्। पहिलो संविधानसभामा माओवादीबाट समानुपातिक सांसद बनेकी उनी २०७४ मा मधेसमा बारा ३ क बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्। नेकपा विघटनपछि एमालेमै रहेकी थिइन्।
एमालेका भण्डारी यसपटक बैतडीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनले माओवादीका नरेन्द्रबहादुर कुँवरलाई पराजित गरेका थिए। २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई उनी राजनीतिमा होमिएका थिए। अनेरास्ववियुको अगुवाइ गर्दै पार्टीको जिल्ला नेतृत्वमा पुगे।
एमालेकै राई धनकुटाबाट यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनले कांग्रेसका सुनीलबहादुर थापालाई पराजित गरेका थिए। उनको नेतृत्वमा पार्टीले ०७४ को स्थानीय निर्वाचनमा क्लीनस्वीप गर्दै जिल्लाका तीन नगरपालिका र चार गाउँपालिका जितेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राईलाई एमालेको ‘म्यान अफ इलेक्सन’ घोषणा गर्दै माला लगाइदिएर बधाई दिएका थिए।
प्रतिनिधिसभा निर्वाचनबाट मधेसको बलियो शक्तिका रूपमा उदाएको जनमत पार्टीले उपाध्यक्ष खानलाई नेतृत्वको सरकारमा पठाएको हो। खान एनजीओ, आइएनजीओको जागिर छोडेर जनमतमा लागेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)