सुदूरपश्चिममा प्रदेशसभा सदस्यले लिए शपथ
धनगढी : सुदूरपश्चिम प्रदेश सभाका ५३ जना प्रदेश सभा सदस्यहरुले आज शपथ लिएका छन्।
जेष्ठ सदस्य अछाम निर्वाचन क्षेत्र नम्बर २ (२) बाट जितेका नेपाली कांग्रेसका मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशी र अरू ५२ जना सदस्यलाई रावलले शपथ खुवाएका हुन्।
प्रदेश प्रमुख जोशीले जेष्ठ प्रदेशसभा सदस्य रावललाई साइत हेरेर दिउँसो १ बजेर ५ मिनेटमा शपथ दिलाएका हुन्।
नागरिक उन्मुक्ति पार्टीबाट जितेका थारु समुदायका पाँच जनाले थारु भाषामा शपथ लिएका छन्। उनीहरूले थारु पोसाक लगाएका थिए।
नागरिक उन्मुक्ति पार्टीबाट जितेका पहाडी समुदायका दुई जना प्रदेश सदस्य टीका थापा र इन्दिरा गिरीले भने नेपाली भाषामा शपथ लिएका छन्।
यस्तै कञ्चनपुर १ बाट नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य गीता चौधरीले पनि थारु भाषामा शपथ लिएकी छिन्।
प्रदेश प्रमुख देबराज जोशीले प्रदेशसभाको अधिवेशन पुस १८ गते बोलाएका छन्।