अझै सामान साटासाट
धनकुटा : महालक्ष्मी नगरपालिका–३ डाँडागाउँकी लक्ष्मी वस्नेत खोर्सानी बोकेर महालक्ष्मी नपा–४ चानुवास्थित हाटडाँडामा साप्ताहिक रूपमा लाग्ने बुधबारे हटिया भर्न आएकी थिइन्। उनले आफूले ल्याएको खोर्सानीसँग स्कुस साटिन्। उनीसँगै आएका अन्य साथीहरूमध्ये कोहीले बन्दागोभीसँग स्कुस साटे भने कोहीले स्कुससँग बयर साटे। त्यस्तै, भोजपुरको जरायोटारदेखि लामपाते सुर्ती बिक्री गर्न आएकी सुस्मा राईले एक मुठा सुर्तीसँग एक काइयो केरा साटिन्।
परापूर्वकालदेखि लाग्दै आइरहेको यस बुधबारे हटियामा अहिले पनि वस्तु विनिमय प्रचलन कायम छ। हटिया भर्न आउने प्रायः किसानहरूले यहाँ आफूसँग भएको कृषिजन्य वस्तुसँग अन्य वस्तु साटासाट गर्ने गर्छन्। वस्तु विनिमय प्रचलन अन्य स्थानका हाटबजारमा हराउँदै गइरहे पनि यस हटियामा कायम नै रहेको डाँडागाउँकी लक्ष्मी बस्नेतले बताइन्।
बुधबारे हटिया भर्न थालेको २५÷३० वर्ष भइसक्यो। तर, वस्तु विनिमय चलन हराउन नसकेको उनी बताउँछिन्। उनका अनुसार पहिले धेरै वस्तु साटासाट गर्ने चलन थियो। अहिले भने कम हुन थालेको छ तर चलन नहराएको उनले बताइन्। वस्तु विनिमयको कारण औला (बेंसी)मा फलेको उत्पादन लेकका किसानले खान पाउँछन् भने लेकमा फलेको उत्पादन औलाका किसानले खान पाउँछन्।
यहाँ हटिया भर्न आउने किसानले मूल्यांकन वस्तुको आधारमा गर्छन्। साटासाट गर्दा वस्तुअनुसार बराबरीमा भाग लगाउने गर्छन्। हाट भर्न आएका किसानहरू आफुले ल्याएको तरकारी डुलाउँदै आफूलाई चाहिने खोज्दै साट्छन्। विशेषगरी यहाँको प्रचलन भोजपुरको जरायोटारबाट लामपाते सुर्ती ढाकरमा बोकेर हाट भर्न आउने बासिन्दाले महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवाका माथिल्लो भेगका किसानसँग तरकारी साट्ने गर्छन्।
वस्तु विनिमयको चलन मुद्राको कारोबार सुरु हुनुभन्दा अघिको प्रचलन हो। आफूले जानेदेखि नै चानुवा क्षेत्रभरि लाग्ने यो एकमात्र सो हटियामा वस्तु विनिमय प्रचलन अहिले पनि चलिरहेको महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष सुत्रबहादुर बुढाथोकीले बताए। बहुदलीय व्यवस्था हुनुपूर्व चानुवामा प्रत्येक महिनाको १५ गते हाटिया लाग्थ्यो।
प्रतिक्रिया दिनुहोस !