कडा बने अर्थमन्त्री पौडेल

कडा बने अर्थमन्त्री पौडेल

काठमाडौं : मंसिरको राजस्व संकलन कात्तिकसम्म भन्दा झनै नाजुक भएको जानकारी उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पाए। अनि, खर्च धान्नसमेत पर्याप्त राजस्व संकलन नभएको भन्दै अर्थमन्त्री पौडेलले कडा कदम चालेका हुन्। 

उनले राजस्व उठाउने अर्थमाहतका दुई विभाग प्रमुख र ती विभागअन्तर्गतका कार्यालय प्रमुखलाई कम्तीमा लक्ष्यअनुसार राजस्व उठाउन आवश्यक काम गर्न निर्देशन दिएका हुन्। अर्थसचिव कृष्णहरी पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई साथै राखेर पौडेलले मन्त्रालयका महाशाखा प्रमुखहरू र विभागीय प्रमुखहरूलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

‘कम्तीमा तोकिएबमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न आवश्यक कदम चाल्नुहोला,’ मन्त्रालयका अधिकारीबाट लक्ष्यको दुईतिहाइमात्र राजस्व उठेको ब्रिफिङ पाएपछि मातहतका विभाग प्रमुखलाई निर्देशन दिँदै पौडेलले भने, ‘राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुँदा लक्ष्यबमोजिमको राजस्व संकलन गर्न आआफ्नो परिभाषित जिम्मेवारी पूरा गर्नुहोला।’ उनले राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धता मागेका छन्।

‘आजैदेखि दैनिक रूपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउँदै हालसम्मको राजस्वको न्यूनता पूरा गरी लक्ष्यअनुसार राजस्व संकलन गर्नुस्,’ पौडेलको निर्देशन छ, ‘सोही बमोजिमको कार्ययोजना तयार गरी काम गर्नुस्।’

पौडेलले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरूलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने भन्दै कर्मचारीहरूलाई कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिए। मन्त्री पौडेलले भन्सार र आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई भन्सार जाँचपासलाई वास्तविक बनाउन तथा करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्न भनेका छन्।

आन्तरिक राजस्व र भन्सार विभागका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल। तस्बिर सौजन्य : अर्थ मन्त्रालय

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्री पौडेलको निर्देशनपछि आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र भन्सार विभागका महानिर्देशक चक्र बुढाले तोकिएबमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएका छन्।

मन्त्री पौडेलले विभाग प्रमुखसँग भन्दा पहिले गृहमन्त्री रवि लामिछानेसँग राजस्व चुहावट नियन्त्रण गर्ने उपायबारे छलफल गरेका थिए। अर्थमन्त्री र गृहमन्त्री सम्मिलित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर र सुरक्षा निकाय प्रमुखहरू उपस्थित थिए। बैठकमा मन्त्रीद्वयले राजस्व संकलनमा सुधार ल्याउन राजनीतिक नेतृत्वबाट सबैखाले सहयोगको प्रतिबद्धता गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजस्व संकलनमा देखिएको अन्तर पूर्ति गर्न सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने काममा गृह प्रशासनको सक्रियतामा कुनै कमी नहुने प्रतिबद्धता गरेका थिए। मन्त्रालयका उच्च कर्मचारीको ब्रिफिङ र गृह मन्त्रालयको प्रतिबद्धतापछि मन्त्री पौडेलले सो सन्देश तल्लो तहसम्म म्यासेज पुर्‍याएको र जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता 
काफ्लेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.