म्याच फिक्सिङ दाबीले टी२० लिग अन्योलमा

म्याच फिक्सिङ दाबीले टी२० लिग अन्योलमा

काठमाडौं : सुरुदेखि विवादमा परेको नेपाल टीट्वेन्टी लिग जटिल मोडमा आइपुगेको छ। घरेलु क्रिकेटकै सबैभन्दा ठूलो दाबी गरिएको प्रतियोगिता फेरि अन्योलमा परेको हो। बुधबारदेखिका खेल हुन्छन् कि हुँदैनन् भन्ने अन्योलसँगै यो लिग खेल मिलेमतो (म्याच फिक्सिङ) विवादमा जगडिएको छ।

खेलाडी, निर्णायक र अफिसियलले पूर्वप्रतिबद्धताबमोजिम पारिश्रमिक नपाएको चर्चासँगै मंगलबारदेखि म्याच फिक्सिङको विषय उठेको हो। म्याच तथा स्पट फिक्सिङ विकराल समस्या बनेको सरोकारवाला बताउँछन्। यो विषयमा अख्तियार र प्रहरीले अनुसन्धान थालेका छन्। 

कमेन्टेटर सचिन तिमल्सेनाले मंगलबार बिहान क्रिकेटमा गैरक्रिकेटीय कार्य भइरहेको भन्दै कमेन्ट्री नगर्ने घोषणा गरेका थिए। यसअघि ‘भारतीय कम्पनीले त फिक्सिङ गर्छ’, ‘आयोजकले फिक्सिङ र बेटिङ (सट्टेबाजी)बाट पैसा कमाइहाल्छ’ जस्ता चर्चामै सीमित भएको खेल मिलेमतोको चर्चामा कमेन्टेटर तिमल्सेनाको करिब ६ मिनेटको भिडियो ‘मिसाइल’ बन्यो।

‘म नेपाल टीट्वेन्टी लिगमा जोडिएको १० दिन भयो। यसक्रममा मैले धेरै यस्ता क्षणहरू मैदानमा देखेँ जुन आश्चर्यजनक लाग्यो’, तिमल्सेनाले फेसबुकमा भिडियो सेयर गर्दै भनेका छन्, ‘नेपाली क्रिकेटमा कहिल्यै नदेखेका कुराहरू यसपटक देखेँ। यसमा क्रिकेटबाहेक क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने खालका क्रियाकलापहरू मैले देखँं। केही टिमका कप्तानहरूलाई, विशेषगरी नाम नचलेका विदेशी कप्तानहरूलाई ल्याएर कप्तानी गराउनु नै अचम्मलाग्दो कुरा थियो।’

केही खेलाडीका बारेमा उजुरी आएको छ । हामीले त्यो उजुरी आईसीसीमा पठाइसकेका छौं । कुन टिम र खेलाडी भन्ने खुलाउन मिल्दैन ।
रितेश सिंह, प्रतिनिधि, एसीयू आईसीसी

उनले विराटनगर सुपर किङ्सप्रति लक्ष्य गर्दै सो कुरा भनेका हुन्। नेपालका रोहित पौडेल र जिम्बावेका सिकन्दर राजाजस्ता खेलाडी हुँदाहुँदै नाम नचलेका वेस्ट इन्डिजका खेलाडीलाई कप्तान बनाउनु अचम्म लाग्ने कुरा भएको उनको भनाइ छ। ‘बलर परिर्वतनमा पनि शंकास्पद रूपमा बलरको छनोट भएको छ’, उनले भनेका छन्, ‘सोमपाल कामीलाई बलिङ नदिएर अन्य बलरलाई रन खान दिइएको छ।’

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका एक अलराउन्डरले असामान्य नो बल फालेको र त्यो आफ्ना लागि पीडादायी क्षण भएको तिमल्सेनाले बताएका छन्। ‘एक व्यावसायिक क्रिकेटरले जानीजानी मात्रै त्यति लामो नो बल फाल्न सक्छन्’, उनले भनेका छन्, ‘मैले त्यसपछि सिधै गएर मैले एन्टी करप्सन युनिट (एसीयू)का वीर सिंहलाई यो विषयको रिपोर्ट गरेँ। रन खाएको र नो बलका बेला पनि रिपोर्ट गरेँ। पोखराका खेलाडी हाम्जा आमिरले अन्तिम ओभरमा तीनवटा नो बल फाले। त्यो पनि अन्तिम ओभरमा।’ नेपाल टीट्वेन्टी लिगमा फिक्सिङ भएको ठोकुवा गर्दै सचिनले टिमका व्यवस्थापक खेलाडीको बिफ लगाएर खेलाडीसँग कुरा गर्न वरिपरि घुमेकोसमेत भिडियोमा उल्लेख गरेका छन्।

तिमल्सेनाको भिडियो पोस्ट भएपछि तरंगित बनेको क्रिकेट वृत्तलाई काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लको कुराले झनै झस्कायो। विराटनगर सुपर किङ्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरे। 
‘अरू टोलीका बारेमा थाहा छैन। हाम्रो एउटा खेलाडीलाई फिक्सिङको अप्रोच गरेको थियो’, राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका मल्लले भने, ‘हामीले एन्टी करप्सन युनिट (एसीयू) लाई जानकारी गराइसकेका छौं।’ प्रस्ताव आउनु र फिक्सिङ नै हुनु फरक भएको उनले बताए। कसले कताबाट प्रस्ताव आएको भन्ने विषय गोप्य राख्नु नै खेलाडीका लागि सही हुने उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)अन्तर्गतको एन्टी करप्सन युनिट (एसीयू) का प्रतिनिधि रितेश सिंहले केही खेलाडीका विषयमा उजुरी आएको पुष्टि गरे। ‘केही खेलाडीका बारेमा उजुरी आएको छ। हामीले पनि त्यो उजुरी आईसीसीमा पठाइसकेका छौं’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कुन टिम र कुन खेलाडी भन्ने हामीले खुलाउन मिल्दैन।’ फिक्सिङको शंका लागे एसीयूले आईसीसीलाई रिपोर्ट गर्ने र अनुसन्धान तथा कारबाही पनि आईसीसीले नै गर्ने उनले स्पष्ट पारे।

खेल मिलेमतोको समस्या जटिल बन्दा खेलाडीहरू पारिश्रमिक नपाएर मैदानमै हड्ताल गर्न थालेका छन्। मंगलबार बिहान तय भएको काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलमा पारिश्रमिकको टुंगो नलागेसम्म टस नै नगर्ने अडान खेलाडीले राखेका थिए। टिमका मालिक सम्पर्कमा नआएपछि अभिभावक निकाय क्यानसमक्ष कुरा राख्न आफूले खेल नै नखेल्ने अडान राखेको मल्लले बताए। ‘विगतमा भएका बाचा पूरा अहिलेसम्म भएका छैनन्’, उनले भने, ‘हामीले जिम्मेवार पक्ष अगाडि आइदिनुुस् भनेका हौं।’ 

क्यानले दुवै टिमसँग बसेर मंगलबार बेलुका वा बुधबारसम्म पारिश्रमिक दिने आश्वासन दिएपछि मात्रै खेलाडी खेल्न तयार भएका थिए। प्रतियोगिताको रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन आलुवालिया भारतमा रहेकाले खेलाडी, निर्णायक र अफिसियलले तत्काल पारिश्रमिक पाउनेमा भने आशंका गरिएको छ।  

अख्तियार र सीआईबीको अनुसन्धान 

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोस्टर््सको आयोजनामा जारी प्रतियोगितामा म्याच फिक्सिङको चर्चा चलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। 

गृह मन्त्रालयबाट पत्र आएपछि अनुसन्धान सुरु भइसकेको अख्तियार स्रोतले पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एन्टी करप्सन युनिट (एसीयू)का प्रतिनिधिले पनि केही खेलाडीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि यो विषयमा अनुसन्धान अगाडि बढाएको छ। सीआईबीले म्याच फिक्सिङ र सट्टेबाजीको उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले आफ्नै ढंगले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जानकारी दिए। 

‘नेपाल टीट्वेन्टी लिगका बारेमा विभिन्न उजुरी आएपछि हामीले आफ्नै ढंगबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं’, प्रवक्ता थापाले भने। गृह मन्त्रालयले लिग विवादको तत्काल छानबिन गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। 

नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइज प्रतियोगिता ‘प्राविधिक कारण’ देखाउँदै निर्धारित मिति (पुस ८) भन्दा एक दिनपछि सुरु गरेको थियो। मंगलबारसम्म २२ खेल सकिएका छन्। फ्रेन्चाइज लिग आयोजनाको अधिकार किनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको पृष्ठभूमि र नियतसँग जोडिएका थुप्रै चर्चा नेपाली खेलकुदमा व्याप्त छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.