स्थानीय पाठ्यक्रम पढाउँदै स्थानीय तह

स्थानीय पाठ्यक्रम पढाउँदै स्थानीय तह

दैलेख/ दाङ : दैलेखको नारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। विद्यार्थीलाई नगरको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी पाठ्यक्रम निर्माण हो। नगरले आधारभूत तह १–८ लागि ‘हाम्रो नारायण नगरपालिका हाम्रो पहिचान’ नामको १२८ घण्टे पाठ्यक्रम निर्माण गरेको हो। नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको अभ्यास गरेको नगर प्रमुख लोमन शर्मा बताउँछन्। 

पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरेको नगर प्र्रमुख शर्माले बताए। विद्यार्थीहरूलाई नगर के हो ? नारायण नगरमा के छ ? भन्नेबारे बुझाउँदै जनशक्तिलाई नगरप्रति उत्तरदायी बनाइने उनको भनाइ छ। पाठ्यक्रममा योग शिक्षालाई पनि समेटिएको छ। पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गरिने नगरपालिकाले जनाएको छ। 

विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक जीवराज तिमिल्सेनाले बताए। आधारभूत पाठ्यक्रममा नगरपालिकाको समग्र अवस्था विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने तिमिल्सेना बताउँछन्। उनका अनुसार हाल पाठ्यक्रमको ४२ वटा किताब छापेर सबै विद्यालयमा पठाइएको छ। 

चालू शैक्षिक सत्रमा नै पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन र छपाइको काम सकेर नयाँ शैक्षिक सत्रबाट विद्यालयमा कार्यान्वयनमा लगिने नगरको शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए। ‘पाठ्यक्रम तयार भइसकेको छ। अब पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन कार्य सुरु हुन्छ,’ उनले भने।

पाठ्यक्रमले तहगत सक्षमतासमेत तय गरेको छ।  कक्षा १–३ ले गाउँ, वडा र नगरको परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान लगायतका सक्षमताहरू हासिल गर्ने पाठ्यक्रममा उल्लेख छ। पाठ्यक्रममा कक्षा ४–५ ले नगरको नक्सांकन, अवस्था पहिचानसँगै जीवनपयोगी सीपलगायतका सक्षमता हासिल गर्ने उल्लेख छ। कक्षा ६–८ ले नगरको इतिहासको जानकारी, नगरपालिका गठन, सेवा प्रवाह, स्थानीय पर्यटन र व्यापारको सम्भावना अध्ययन गर्न सक्ने सक्षमता हासिल गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ।

त्यसैगरी दाङको राजपुर गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू भएको छ। पालिकाको भौगोलिक अवस्था, सामाजिक अवस्था, शिक्षा, कृषि, खेतीपातीलगायतका विषयवस्तु पाठ्यक्रममा समेटेको छ। वर्षौंदेखि अरूकै विषयमा लेखिएका विषयवस्तुका किताब पढ्दै आएका विद्यार्थीहरू किताबका पानामा आफ्नो ठाउँ, गाउँ र आफू रहेको वातावरणलाई पढ्न पाउँदा उत्साह थपिएको बताउँछन्।

घर आँगनमा भए गरेका गतिविधिहरूलाई किताबमा पढ्न पाउँदा रमाइलो लाग्ने साधारण मावि कक्षा ८ मा अध्ययनरत सुनिता चौधरीले बताइन्। राजपुर गाउँपालिका–५ गंगदीमा रहेको उक्त विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भए पनि सुनिताजस्तै अन्य विद्यार्थीहरू पनि रमाइलो मान्दै पढ्न थालेका छन्।

गाउँपालिकाको संक्षिप्त चिनारी सहितको पाठ्यक्रममा सो क्षेत्रको भौगोलिक अवस्थादेखि धार्मिकस्थल, कृषि, सामाजिक विषयवस्तुसँगै जीवनोपयोगी शिक्षाका कुराहरू पनि समेटिएका छन्। आफैंले देखेका, आफैंले प्रयोग गरेका, दैनिकीसँग जोडिएका कुराहरू किताबमा समेटिँदा पढाइमा नयाँपन थपिएको महसुस भएको सुनिताले बताइन्। ‘हामी हिँडेको, खेलेको, घाँसबाटेको, धान रोपेको ठाउँहरूको बारेमा पनि किताबमा पढ्न पाइन्छ’, उनले भनिन्, ‘किताब पढ्दा आफू त्यही पुगेको छु। काम गरिरहेको छु। हिँडिरहेको छु जस्तो लाग्छ। पढ्दा पनि कक्षाकोठा नै रमाइलो लाग्छ।’

विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएपछि खुसी भएको अर्का विद्यार्थी संकल्प केसीले बताए। कहिल्यै नदेखेका, महसुस नै नगरेका कुराहरू पढ्दै आएको अवस्थामा आफैंले देखेका, बुझेका कुराहरू किताबमा पढ्न पाउँदा पढाइप्रतिको चाहना बढेर गएको उनले बताए। समुदायको सार्वजनिक सवालहरू के–कस्ता हुन्छन् ? समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी लिन पाउँदा सिकाइमा उत्सुकता थपिएको उनले बताए।

स्थानीय पाठ्यक्रम सातामा एकदिन मात्रै पढाइ हुने गरेको भए पनि त्यसप्रतिको रुचि बढ्दै गएको उनले बताए। विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भए पनि विद्यायहरूको पठन रुचि पनि बढेर गएको साधारण माविका स्थानीय पाठ्यक्रम विषय शिक्षक इन्द्रबहादुर भण्डारीले बताए। उनले स्थानीय पाठ्यक्रममा प्रयोगात्मक तथा अतिरिक्त क्रियाकलापसहितको विषयवस्तुलाई समेट्न आवश्यक रहेको बताए। प्रयोगात्मक विषयवस्तु नहुँदासम्म स्थानीय पाठ्यक्रम पूर्ण नहुने र सिकाइमा प्रभावकारिता नदेखिने उनको भनाइ छ।

शिक्षक भण्डारीका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, राजपुर गाउँपालिकाको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थाका बारेमा जानकारी पढाइ हुने गरेको छ। त्यस्तै असल आनीबानी, व्यवहार र आचरणको पहिचान गरी अनुशरण गर्ने बानीको अभ्यास, आफ्नो वरपरका वातावरणमा भएका वस्तुहरूको पहिचान, महत्वबोध तथा बालबगैंचा निर्माणजस्ता कुरा पढाउने गरिएको छ।

त्यस्तै सरसफाइमा सहयोग, स्थानीय प्रविधि, अन्य बाली, फलपूmल, पशुपन्छी पालनको पहिचान, उपयोग, विपद्को परिचयका साथै प्राकृतिक र मानव सिर्जित विपदका जोखिमका लागि सावधानीसँगै राजपुर गाउँपालिकामा भएका स्थानीय पेसा, व्यवसाय, प्रविधिको पहिचान, उपयोग र संरक्षणका बारेमा पढाउने गरेको शिक्षक भण्डारीले बताउँछन्।

विद्यालयमा स्थानीय पाठ्यक्रममा कक्षा १ देखि ८ कक्षासम्म करिब ७ सय बढी विद्यार्थीले अध्ययन गर्छन्। नयाँ शैक्षिकसत्रदेखि गाउँपालिकाका ३२ वटा विद्यालयमा लागू गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए। स्थानीय पाठ्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि गाउँपालिकाले हिउँदे अधिवेशनबाट विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्न थालेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.