भैरहवाका सुत्केरीलाई कोसेली दिँदै घर-घरमा उपप्रमुख

भैरहवाका सुत्केरीलाई कोसेली दिँदै घर-घरमा उपप्रमुख

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ। 

कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरीहरूलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ।

सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घर घरमा पुगेर सुत्केरी आमाहरूसँग कोसेली भेट गरेकी छिन्। 

कोसेली झोलासहित घर घरमा पुगेर आमाहरूलाई कोसेली दिँदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरूको स्वास्थ्यका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन्।

नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन साबुन, जनसन तेल, स्यानटरी प्याड, झुल, मेक्सी रहेको नगर उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइरालाले बताइन्। 

उनका अनुसार करिब ३ हजार रुपैयाँ मूल्य बराबरको कोसेली एक सय दिन भित्रका सुत्केरी आमाहरूलाई उपलब्ध गराउन सुरु गरिएको छ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्यूनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने नगरालिकाले प्रावधान बनाएको छ।

‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन्। सुत्केरी अवस्थामा के खाने ?, कति दिन आराम गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्पलेटसमेत कोसेली भेटमा उपलब्ध गराइएको छ।  
‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौं’, अधिकारीले भनिन्।

बेलहियाकी सुशीला श्रेष्ठले नगरपालिकाबाट कोसेली झोला पाएको खुशी व्यक्त गरिन् । ‘हामीलाई चाहिएको सबै साम्रगीहरू कोसेली झोलामा रहेको छ’ उनले भनिन्, ‘उपप्रमुखले घरमै आएर भेट गरेर कोसेली दिनुभयो, धेरै खुशी लागेको छ।’

वडा नम्बरका १ का वडाध्यक्ष उज्जवल पोखरेलले उपप्रमुख सुत्केरी कोसेली भेट कार्यक्रम धेरै फलदायी रहेको र वडावासीहरूले खुशी व्यक्त गरेको बताए। 

उनले अगामी दिनमा नगरपालिकाबाट थप जनमुखी कार्यक्रमहरू ल्याउनका लागि सुझावहरू आएको र आफूहरूले ल्याउने प्रतिवद्ध रहेको जनाए।  

सुत्केरी आमाहरूलाई कोसेली सहित उपप्रमुख अधिकारी, वडा नम्बर १ का वडाअध्यक्ष पोखरेल, वडा सदस्यहरू, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी, स्वयंसेविका लगायतले भेट गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.