टिकटकले भैंसी बेचायो

टिकटकले भैंसी बेचायो

अछाम : किशोरावस्थाका युवामा टिकटकप्रतिको क्रेज बढ्नु स्वभाविकै हो। तर, उमेरको उत्तरार्धमा पुगेकी अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ। अछामको ठाँटीमा वाइफाइ छैन। रंगाले टिकटक बनाउन र हेर्न नेपाल टेलिकम वा एनसेलको डाटा किन्नुपर्छ। ‘छोराछोरीले टिकटक चलाएको हेर्दा रमाइलो लाग्यो। छोराले टिकटक आइडी पनि बनाइदियो। पछि त रिचार्ज गर्दागर्दै ५० हजार ऋण लाग्यो  अनि भैंसी बेचेर तिरें’, रंगाले खुँसी हुदै भनिन्।

रंगाको घरमा अझै तीनवटा लैनो भैंसी छन्। ‘रमाइलो गर्न एउटा भैंसी बेच्नुपरे पनि मलाई कुनै पश्चाताप छैन। तीनवटा भैसी त अझै छन् नि’, उनले थपिन्। उनको टिकटक आईडी छोरी देव बुढाका नामबाट छ। रंगा निरक्षर महिला हुन्। उनले केही दिनको प्रौढ कक्षा मात्र पढेकी छन्। तर, अहिले उनी आफंै टिकटक बनाउँछिन्। पोस्ट गर्छिन्। अनि लाइभमा पनि बस्छिन्। रंगा बढीजसो टिकटक अछामको स्थानीय भाषामा बनाउँछिन्। उनको अधिकांश टिकटक भाइरल हुने गरेका छन्। अछामी भाषाको प्रचारप्रसार भएको भन्दै धेरैले उनको प्रसंशा गर्न थालेपछि उनलाई अझ टिकटक बनाउने जोश बढेको हो।

ठाँटीमा इन्टरनेट र बिजुलीको पहुँच छैन। उनी मोबाइलमा रिचार्ज हालेर बढी जसो टिकटक लाइभमा बस्छिन्। छोरी देवले मोवाइलमा टिकटक चलाएको हेर्दाहेर्दै उनले सिकेकी हुन्। चलाउन सिकेपछि आफ्नै मोबाइल किनेर अछामी भाषामा बोलेर लाइभ बस्न थालेको उनले बताइन्। उनले टिकटक चलाउन थालेको एक वर्ष भयो। उनले भनिन्, ‘गत वर्षका पुसदेखि टिकटक चलाउन सुरु गरेकी हुँ। छोरीले मोबाइलमा टिकटक चलाएको बेला हेरिरहन्थें। रमाइलो लाग्यो। टिकटक हेर्दा समय बितेको थाहै नहुने रहेछ। दुई÷तीन दिन छोरीले भिडियो बनाउन र लाइभ बस्न सिकाई दिई। त्यसपछि त सिकिहालें। रहर र इच्छा भएपछि छिटो सिकिने रहेछ। आफ्नो मन र दुःख भुलाउन सजिलो हुने रहेछ टिकटकमा।’ 

टिकटक चलाउन उनको मोबाइलमा दैनिक झण्डै ५ सय रुपैयाँको रिचार्ज खर्च हुन थाल्यो। घर नजिकैको पसलबाट रिचार्ज ल्याउने गरेको उनले बताइन्। सुरुका केही दिन त उनले पैसा दिएर रिचार्ज ल्याइन्। त्यसपछि उनले उधारो ल्याउन थालिन्। रंगादेवी भन्छिन्, ‘रिचार्ज हाल्दा–हाल्दा उधारो १६ हजार पुगिसकेको रहेछ। पसलेले उधारो धेरै भयो भनेर रिचार्ज नदिने भन्यो। अनि मैले रमाइलै त हो नि भनेर भैंसी बेचेकी हुँ।’

उनले रिचार्जको पैसा तिर्न भैसी बेच्नुपर्‍यो भनेर टिकटक लाइभबाटै भनेकी छिन्। रंगाका बुढा वीरबहादुर घरमै कृषि कार्य गर्छन्। रंगाको जेठो छोरोको मृत्यु भएको दुई वर्ष भयो। अहिले १५ वर्षको छोरा एकेन्द्र र २० वर्षीया छोरी देव छन्। जेठो छोरा खेमराज भारतमा नोकरी गर्थे। धनगढीमा कमर्स पढ्दै गरेका खेमराज कक्षा १२ को पढाइ सकेर नोकरीका लागि भारत गएका थिए। 

दुई वर्ष पहिले भारतबाट घर फर्केका खेमराज गाउँ घुम्न निस्कने भन्दै काठ चिर्ने गाउँलेहरूसँगै निस्केका थिए। खोलामा पानी खाने क्रममा त्यहाँ राखिएको बिजुलीको तारबाट करेन्ट लागेर छोराको ज्यान गएको उनले बताइन्। उनले भनिन्, ‘धनगढी पढाउँदा ७ लाख खर्च भयो। छोराको बिहे धुमधामसँग गरेको थिएँ। बिहेमा ४ लाख खर्च गरें। बिहे गरेको एक महिनामा त यस्तो घटना भयो। टिकटक चलाएपछि मन भुलिन्छ। छोराको दुःख बिर्सिन्छु।’  


टिकटक चलाउन थालेको कति वर्ष भयो ?

यो पुसमा ठ्याक्कै एक वर्ष पुग्यो। टिकटक चलाउँदा–चलाउँदै वर्ष बितेको पत्तै भएन। वास्तवमा टिकटिक चलाएर समय गएको थाहै नहुने रहेछ। अघिल्लो वर्ष यही पुसमा अलि–अलि सिक्दै थिएँ। केही दिनमै आफै चलाउने भइसकेको थिएँ। अहिले त आफै लाइभ बस्छु, आफैं भिडियो बनाएर पोस्ट गर्छु। सिक्दा–सिक्दै अहिले त टिकटकका धेरै कुरा आफैं गर्न जान्ने भइसकेको छु। 

दैनिक कति घण्टा टिकटक चलाउनुहुन्छ ?

दैनिक यति घण्टा भन्ने त छैन। गाउँतिरका मान्छे हामी अरू काम पनि धेरै हुन्छन्। भैसी चराउनुपर्छ। घासपात गर्नुपर्छ। घरको काम पनि गर्नुपर्छ। बढी जस्तो भैंसी चराउन गएको बेला दिउँसोतिर टिकटक चलाउन समय बितेको पत्तो हुँदैन। काम पनि हुने सँगै राम (रमाइलो) पनि हुने। भैंसी चराउन गएको बेला जेठानी देउरानीहरूसँग मिलेर टिकटक बनाउँछु।

  • जसले इन्टरनेट चलाएरै सकाइन् ५० हजार रुपैयाँ 
  • दैनिक ५ सय रुपैयाँ बराबरको रिजार्च गर्छिन्।  
  • भन्छिन् : ‘छोरा गुमाएको पीडा कम गर्न टिकटक सहयोगी बन्यो’

हाम्रा गाउँ त विकट ठाउँ हो। कहिले मोबाइलको टावरले राम्रोसँग काम गर्दैन। कहिले बत्ती नभएर चार्ज हुँदैन। यस्तै छ। जिन्दगीमा रमाइलो गर्नुपर्छ। मरिलानु के छ र ! भोलि सबै थोक यहीं छुट्ने हुन्। ( हाँस्दै) खान लगाउन पुगे भइहाल्यो नि। 

टिकटक चलाउनकै लागि भनेर भंैसी नै बेच्नु भएछ त ?

(हाँस्दै) उम भैंसी बेचिदिएँ। दूध दिने भैंसी ५० हजारमै बेंचे। भैसी बेचेको पैसाले रिचार्जको उधारो तिरे नि। मैले टिकटिक लाइभमै यो कुरा 
जानकारी गराएको थिएँ। धेरैले ‘नबेच्नुपर्ने बरु हामी सहयोग गर्थेउँ’ भने। उनीहरूले मायाले भनेका होलान्। मैले पनि आफूलाई परेको दुःख सुनाएँ। अहिले घरमा २ भैंसी छन्। दूध दही बेच्ने बजार छैन। सबै आफैं खान्छौं। घिउ बनाउँछौं। 

लाइभमा बस्दा के के भनेर बोल्नु हुन्छ ? 
आफ्नै अछामी भाषामा आफ्नै सुख–दुःखको कुरा गर्छु। गाउँघरका कुरा। कहिलेकाहीं देउडा गाउँछु। भैंसी पालेको छु। दूध, दही, मही, खान आउनु होला भन्छु। गाउँघरमा महिलालाई हुने दुःखका कुरा गर्छु। 

कस्ता–कस्ता कमेन्टहरू आउँछन् ?
कमेन्टहरूमा ‘सन्चै छ ?’, ‘आरामै छ ?’, ‘भैसी कहाँ गयो त आज ?’ भनेर भन्ने गर्छन्। खाना खाए नखाएको सोध्छन्। टिकटक केबाट चलाउनुहुन्छ वाइफाइ छ कि छैन भन्छन्। कसैले देउडा गाउनु भन्छन्। यस्तै–यस्तै कमेन्ट आउँछ। 

कति पढ्नु भएको छ त ?
कठै के पढ्नु र म। अलि–अलि पौढ कक्षा पढेकी हुँ। हाम्रा पालामा छोरी पढाउने चलनै थिएन। आजभोलि जन्मेको भए त (हाँस्दै) पढ्न जाने थिएँ। के गर्नु भाग्य यस्तै भयो। 

कमेन्टहरू पढ्न जान्नुहुन्छ ?
सुरु–सुरुमा त आउँथेन। छोरीले सिकाइ दिन्थी। छोरीसँग सिक्न थालें। रामै्रसँग त जान्दैनँ। अलि–अलि लाइभ बस्दा आएका कमेन्टहरू पढेर जवाफ फर्काउँछु। धेरैले मैले बुझ्ने गरी नेपालीमा सजिलोसँग लेखेर पठाउनुहुन्छ।

टिकटक लाइभमा गिफ्ट माग्नुहुन्छ कि नाइ ? 
आजसम्म मागेको छैन। माग्दैन पनि। माग्नलाई टिकटक चलाएको होइन मैले। कसै–कसैले आफैं दिन्छन्। फूल दिन्छन्। आफ्नो रहर र दुःख–सुखका कुरा गर्न टिकटक चलाउँछु। लाउँ–लाउँ खाउँ–खाउँ भन्ने उमेरको जेठो छोरा बित्यो (मलिन स्वरमा) छोरा बितेको दुई वर्ष भयो। सम्झेपछि मन पागल हुन्छ। यस्तै टिकटकले त्यो पीडा भुलाउन मदत गरेको छ। हिजोआज यसैमा मन भुल्ने गरेको छ। यसैमा 
रमाउने गरेको छु। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.