
मलंगवा: सर्लाहीमा शितलहरबाट यो वर्ष ६ जनाको मृत्यु भएको छ। चिसो बढेसँगैको शितलहरले वृद्धवृद्धाको ज्यान गएको हो।
अहिले चिसो अत्याधिक बढेसँगै जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ। कठ्यांग्रिदो चिसोले सर्वसाधारण घरबाट बाहिर निस्कन सकेको छैनन्। चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्।
चिसो बढेपछि मलंगवा, चक्रघट्टालगायतका स्थानीय तहले सामुदायिक विद्यालयमा बिदा दिएको छ। बजार पसलमा चहलपहल पनि घटेको छ। व्यापार व्यवसाय मन्द बनेको व्यापारीले बताएका छन्।
चिसोले काम गर्न नसकेको मलंगवा नगरपालिका वडा नं. ४ का ४५ वर्षीय तिलाई पासवानले बताए। दैनिक ज्याला मजदुरी गरेर घर परिवारको पालनपोषण गर्दै आएका पासवान अहिले घरबाट बाहिर निस्कन सकेका छैनन्। भवन निर्माणको काम गर्दै आएका उनी चिसोले काम गर्नै नसक्ने अवस्था आएको बताउँछन्। आगो तापेर बसेमात्र दिन कटाउन सकिने उनले बताए।
चक्रघट्टा गाउँपालिका वडा नं. ७ पटेर्वाका राजकुमार माझीले चिसोका कारण मुसहर समुदाय निकै प्रभावित बनेका छन्। गाउँमा ४ दर्जन भन्दा बढी मुसहर परिवार छ । सबैले दैनिक ज्याला मजदुरी गरेर नै जीवन निर्वाह गर्ने गरेको छ। गाउँका अधिकांश मानिस इटाँ भट्टामा काम गर्छन्। पानी र हिलोको काम चिसोमा गर्नै नसकिने मजदूरले बताएका छन्।
चिसो प्रभावितलाई राहत दिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले केही स्थानमा राहत सामग्री स्वरुप न्यानो कपडा वितरण गरेको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। संघीय सरकार र प्रदेश सरकारबाट आएको रकमलाई मिलाएर राहत बाँडिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
