एकीकरणको मुहानले बिर्सिएको छैन पृथ्वीनारायणको योगदान
देवीघाट: नुवाकोटबाट बृहत नेपालको एकीकरण थालनी गरेका पृथ्वीनारायण शाहलाई बुधवार नुवाकोटबासीले सम्झिए। नुवाकोटमा राष्ट्रिय एकता दिवसप्रति सबै समुदायको सक्रियता बढेको छ।
नेपालमा राष्ट्रिय एकताको सन्देश दिन सबै पक्ष मिल्नुपर्ने नुवाकोटबासीको भनाइ छ। नुवाकोटबासीले नुवाकोटलाई एकीकरणको मुहान ठान्दै पृथ्वीजयन्ती मनाउने गर्छन्। १८०१ साल असोज १५ गते आफ्ना गोर्खाली फौजमार्फत नुवाकोट टांकुरोमा रहेको अशोकवाटिकामा पहिलो पटक विजयी पाइला चालेका पृथ्वीनारायण शाहको ३०१ औं पृथ्वी जयन्तीको सन्दर्भमा सदियौं पहिले नेपाललाई एकतावद्ध गरेका नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको योगदान सदियौंसम्म पनि जीवन्त रहेको स्मरण गरे।
पृथ्वीनारायण शाहको ३०१ औं पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोमा उनीहरुले खुसीसमेत व्यक्त गरे। अब यस अवसरमा निरन्तर बिदा दिइनु पर्ने उनीहरुको माग छ।
नुवाकोटमा मंगलवार ३०१ औं पृथ्वी जयन्ती नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय क्षेत्र, पृथ्वी स्मारक देवीघाट र विदुरलगायतका स्थानमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
नुवाकोटबाटै एकीकरणको पाइला चालेका र नुवाकोटको देवीघाटमा आफ्नो जीवनको अन्तिम क्षण बिताएका पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई कुनै पनि परिवर्तनको वहानामा भुल्न नहुने सहभागीले बताएका छन् ।
पृथ्वीनारायण शाहले गत १८०१ साल असोज १५ गते नेपाल एकीकरणको विजयी सुरुवात गरेका नुवाकोटको साततले दरवार राष्ट्रिय संग्रहालय र पृथ्वीनारायणले देह त्याग गरेको देवीघाटस्थित उनको पुर्ण कदको शालिक स्थापित देवीघाटमा राष्ट्रिय एकता दिवस मनाइएको हो।
प्रतिक्रिया दिनुहोस !