राजस्वमा सकस, उठ्ला ३६ अर्ब ?

राजस्वमा सकस, उठ्ला ३६ अर्ब ?

काठमाडौं : मसान्तसम्म थप ३६ अर्ब उठ्ला त आयकर ?

सरकारले पुस महिनामा उठाउने राजस्वको लक्ष्य भेट्न असम्भव देखिएको छ। अर्थ मन्त्रालयका अनुसार २५ गतेसम्म मासिक लक्ष्यको एक तिहाइभन्दा कम राजस्व उठेको हो। बाँकी पाँच दिनमा लक्ष्य पूरा हुन थप दुई तिहाइ राजस्व संकलन हुनुपर्ने हुन्छ।

सरकारले २०७९ पुसभर (एक महिनामा) १ खर्ब ८७ अर्ब ४८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो। तर, २५ दिनमा ५८ अर्ब ८४ करोड रुपैयाँमात्र राजस्व उठेको हो। करिब साढे ३ अर्ब अन्य प्राप्तिसमेत जोड्दा २५ दिनमा सरकारको आय ६२ अर्ब रुपैयाँ हुन आउँछ।

पुसको लक्ष्यमात्र भेट्न पनि बाँकी दिनमा १ खर्ब २५ अर्ब रुपैयाँ राजस्व उठ्नुपर्छ। पुसमा आयकरको ४० प्रतिशत किस्ता दाखिला हुने व्यवस्था छ। जसअनुसार अर्थ मन्त्रालयले पुसमा अरू महिनामा भन्दा बढी राजस्व उठाउने लक्ष्य लिएको हुन्छ। जानकारका अनुसार विगतमा पुस २५ गतेसम्म उठेको राजस्वभन्दा बढी आयकर पछिल्लो ५ दिनमा उठ्ने गरेको छ। सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्यांकअनुसार २५ गतेसम्म १८ अर्ब ३४ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठेको छ। बाँकी दिनमा करदाताले त्यति नै वा त्योभन्दा केही बढी आयकर बुझाएको खण्डमा पनि लक्ष्य असम्भव छ।

गत वर्ष पुसको १ देखि २५ गतेसम्म सरकारले ६७ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठाएको थियो। यो वर्षको सोही अवधिमा भएको संकलन अघिल्लो वर्षभन्दा करिब ९ अर्ब कम हो। जबकि सरकारले १९ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ कुल राजस्व उठाउने लक्ष्य लिएको छ। पुस मसान्तसम्म (६ महिनामा) ६ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँँ संकलन गर्ने भनिएकामा असारदेखि पुस २५ सम्म ३ खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँ अर्थात् ४० प्रतिशत कम उठेको छ। अन्य प्राप्तिसमेत जोड्दा हालसम्म ४ खर्ब १६ अर्ब ७३ करोड उठेको छ। राजस्व संकलन गत आवको यही अवधिको भन्दा १९.७ प्रतिशतले खुम्चिएको हो।

अर्थमन्त्री विष्णु पौडेलले लक्ष्यअनुसार राजस्व उठाउने प्रयास गर्न आग्रह गरेका छन्। लक्ष्य भेट्टाउन नसके कम्तीमा गत आवको सोही अवधिसम्मको बराबर उठाउन निर्देशन दिएका थिए। मन्त्री पौडेलले दिएको पहिलो टार्गेटअनुसार राजस्व उठ्न बाँकी दिनमा २ खर्ब ३४ अर्ब रुपैयाँ उठ्नुपर्ने हुन्छ। यति उठाउन नसकेको खण्डमा अर्थात् गत वर्षकै बराबर राजस्व संकलन हुन पनि बाँकी दिनमा १ खर्ब ५९ अर्ब रुपैयाँ उठ्नुपर्ने हुन्छ।

आयकरमा खडेरी, मूअक र भन्सार महसुल झन् नाजुक

गत वर्ष पुस १ देखि २५ गतेसम्म २० अर्ब ७६ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (मूअक) उठेको थियो। सरकारी राजस्वको सबैभन्दा ठूलो स्रोत मुअक हो। यो वर्षको पुस मसान्तसम्म १ खर्ब ८० अर्ब रुपैयाँ मुअक उठाउने भनिएकोमा हालसम्म १ खर्ब २६ अर्ब रुपैयाँमात्र उठेको छ। यस्तै अत्यावश्यक बाहेकका वस्तुको आयात खुला भए पनि भन्सार महसुल उठ्ने क्रम झनै नाजुक भएको छ। सरकारले ६ महिनामा १ खर्ब ६१ अर्ब रुपैयाँ भन्सार महसुल उठाउने भनेकामा हालसम्म ८२ अर्बमात्र संकलन भएको छ।

सरकारले वस्तु आयात र निर्यातमा भन्सार महसुल उठाउने गर्छ। त्यसबाहेक इन्धनमा लगाइने पूर्वाधार कर, सडक निर्माण, मर्मत तथा सम्भार शुल्क र कृषिजन्य वस्तुमा लगाइने कृषि सुधार शुल्क पनि भन्सार बिन्दुमै उठाइन्छ।

आयकरको ४० प्रतिशत किस्ता दाखिला गर्ने समय सीमा पुस मसान्त भएकाले सरकारले यो महिना ८० अर्ब ३० करोड रुपैयाँ आयकर उठाउने लक्ष्य लिएको थियो। तर हालसम्म १६ अर्ब ४० करोड रुपैयाँमात्र उठेको अर्थ मन्त्रालयको तथ्यांक छ। गत आवमा पुसको २५ दिनमा १३ अर्ब ४९ करोड रुपैयाँ उठेकामा बाँकी ५ दिनमा ३९ अर्ब १७ करोड रुपैयाँ आयकर थपिएको थियो। मन्त्रालयले बाँकी दिनमा करिब ४० अर्ब रुपैयाँ आयकर उठाउँदा मासिक राजस्व लक्ष्य प्राप्ति गर्न ८० अर्ब रुपैयाँ अपुग हुन्छ। आयकरको अर्धवार्षिक लक्ष्य हासिल गर्न ३७ अर्ब अपुग हुनेछ।

अर्धवार्षिक लक्ष्यभन्दा संकलित राजस्व डेढ खर्ब कम हुने

सरकारले हालसम्म संकलन गरेको राजस्व चालू आर्थिक वर्षको अर्धवार्षिक लक्ष्यभन्दा २ खर्ब ३ अर्ब रुपैयाँ कम हो। सरकारले पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाउने भनेकामा पुस २५ सम्म ३ खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ। ३१ अर्ब रुपैयाँ अन्य प्राप्तिसमेत जोड्दा कुल सरकारी प्राप्ति ४ खर्ब १६ अर्ब रुपैयाँ हुन आउँछ। बाँकी ४ दिनमा अनुमान गरेअनुसार ४० अर्ब रुपैयाँ सरकारी खातामा आउने हो भने लक्ष्यको तुलनामा राजस्व संकलन १ खर्ब ६० अर्ब रुपैयाँ कम हुनेछ।

आगामी शनिबार पनि कर कार्यालय र बैंक खुल्लै रहने

आन्तरिक राजस्व विभागले कर कार्यालयलाई पत्र लेख्दै पुस ३० गते शनिबारको दिन पनि कार्यालय खुला राख्न भनेको छ। विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयलाई पत्र लेख्दै सार्वजनिक बिदाको दिनसमेत राजस्व संकलन निरन्तर गर्न भनेको हो। विभागले कार्यालयलाई सम्बन्धित बैंकको शाखासँग समन्वय गरी राजस्व बुझ्न भनेको छ।  

‘गत वर्ष पुसको २५ दिनमा १३ अर्ब ४९ करोड रुपैयाँ उठेकामा बाँकी ५ दिनमा ३९ अर्ब रुपैयाँ आयकर थपिएको थियो। यस वर्ष पनि सोही मात्रामा आयकर संकलन हुने आन्तरिक राजस्व विभागको दाबी छ। अर्थात् गत वर्षबराबर आयकर संकलन हुन पुसका बाँकी दिनमा ३६ अर्ब रुपैयाँ आयकर उठ्नुपर्ने हुन्छ।’

पुस मसान्तसम्म राम्रै प्रगति हुनेछ 

दीर्घराज मैनाली, महानिर्देशक, आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको पुस महिनामा ७० अर्ब रुपैयाँ राजस्व परिचालन गरेको थियो। चालू आर्थिक वर्ष पुसमा भएको प्रगतिका आधारमा सोभन्दा बढी उठ्ने देखिन्छ। मंगलबारसम्मको तथ्यांक हेर्दा पनि गत वर्षको सोही अवधिभन्दा तीन अर्ब बढी कर उठाएका छौं।

आयकरतर्फ पनि पुस मसान्तसम्म राम्रै प्रगति हुनेछ। हालसम्म १७ अर्ब रुपैयाँ आयकर परिचालन भएको छ। बाँकी दिनको अनुमान गर्दा गत वर्ष पुस महिनामा उठेको भन्दा केही बढी आयकर प्राप्त हुनेछ। यसबीचमा बिदा परेको भए पनि हामीले सबै कर कार्यालयलाई राजस्व बुझ्न निर्देशन दिएका छौं।

समग्रमा भन्नुपर्दा आन्तरिक राजस्व विभाग र कर प्रशासन चलायमान भएको छ। कर्मचारी साथीहरू पनि उत्साहित भएर काम गरिरहनु भएको छ। व्यवसायी साथीहरू पनि दायित्वअनुसार बुझाउन तयार हुनुहुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.