सोर्स फोर्सका लागि मलाई फोन नगर्नुहोस्: डा. सीके राउत
काठमाडौं: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सोर्स फोर्सका लागि फोन नगर्न सार्वजनिक आह्वान गरेका छन्।
जागिर लगाइदिन, सरूवा गराइदिन, परीक्षामा पास गराइदिन धेरै फोन आउन थालेपछि डा. राउतले सामाजिक सञ्जालबाट यस्तो अपील गरेका हुन्। उनले भ्रष्ट्राचार अन्त्य गर्नका सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन्।
‘तपाइँले मलाई भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न जिताउनु भएको हो’, समाजिक सञ्जालका राउतले लेखेका छन्, ‘मलाई जागिर लगाइदिन फोन गरिदिनुस्, सरूवाको लागि फोन गरिदिनुस्, प्रवेश परीक्षामा ‘सोर्स’ लगाइदिनुस्, दूतावासमा नाम निकालिदिनुस्, भिसा दिलाइदिनुस्, बढी तलब दिलाईदिनुस् भनेर कृपया अनुरोध नगर्नुहोला।’
यस्तो अनुरोध आएमा अर्को पटकदेखि फोन नै उठाउन गाह्रो हुने उनको भनाइ छ।
देशमा सुशासन कायम गराउने गृहकार्यमा जुट्ने क्रममा कुनै कामको प्रक्रिया गलत भएको थाहा पाए ठोस प्रमाणसहित सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्। राउतले भनेका छन्, 'हामीले गर्ने कामलाई निष्पक्ष र धाँधलीरहित बनाउने कामका लागि अवश्य भन्नुहोला।’
प्रतिक्रिया दिनुहोस !