हिमपात नहुँदा सोलुका किसान चिन्तित, हिमालहरु काला पहाडमा परिणत हुँदै
सोलुखुम्बु : समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका किसानहरु चिन्तित बनेका छन्। बितेका वर्षहरुमा मंसिर पुसमै हिमपात हुने जिल्लामा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा डाँडापाखा तथा हिमालहरु कालो पहाडमा परिणत हुँदै गएका छन्। हिमपात नहुँदा यहाँका बाली नाली सुक्न थालेका छन्।
यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्। हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन्।
तर यस वर्ष हिउँ नपर्दा बाली सुक्न थालेको छ भने डाँडाकाँडा उजाड लाग्दा बन्दै गएको लिखुपिके गाउँपालिका ५ का कामी छिरी शेर्पाले बताए। जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिमपात भएको थियो। तर यस वर्ष माघमासमेत हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसान बताउँछन्।
हिँमपात नहुँदा बारी सुख्खा बन्दै गएको माप्यदुधकोशी गाउँपालिका ५ की हस्तकला राईले बताइन्। 'मङ्सिर सुरु नहुँदै सोलुखुम्बुको अधिकांश डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो। चारैतिर सेता हिमाल टल्किन्थे। केही वर्षयता भने हिउँ कम पर्न थालेको छ। यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ', उनले भनिन्।
यहाँका हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको छ भने मौसम समेत तातो हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका ३ का मिङमार शेर्पाको अनुभव छ। समयमा हिमपात नहुँदा खुम्बु क्षेत्रबाट देखिने सेताम्मे हिमालहरु समेत कालो बन्दै गएको स्थानीय ङिमा शेर्पाले बताइन्। याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन्।
हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसमसमेत तातिंदै जाँदा यहाँका नागरिकहरु अच्चमित बनेका छन्। बन जंगलको तीव्र फडानी, विभिन्न हानिकारक ग्यासहरुको उत्सर्जन लगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरु देखापरेको वातावरणविद राजन थापाले बताए।