खेलाडी छनोट भनसुनका आधारमा हुँदैन, मेडल जित्न करोड खर्च गर्न तयार छौं : सदस्यसचिव घिसिङ

खेलाडीमाथि लगानी गरे मात्र मेडल आउँछ

खेलाडी छनोट भनसुनका आधारमा हुँदैन, मेडल जित्न करोड खर्च गर्न तयार छौं : सदस्यसचिव घिसिङ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिव टंकलाल घिसिङले रणनीतिक तयारीका साथ खेल र खेलाडीलाई अगाडि बढाउने बताएका छन्। सोमबार रामेछाप-काठमाडौं पत्रकार समाजले कोटेश्वरमा आयोजना गरेको खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै घिसिङले खेल र खेलाडीप्रति लगानीबिना देशलाई मेडल दिलाउने कुरा सोच्न नसकिने स्पष्ट पारेका हुन्। 

दबाब र भनसुनका आधारमा खेलाडी छनोट नगर्ने बताउँदै उनले क्षमताका आधारमा राम्रो खेलाडी छान्न प्रशिक्षकलाई आग्रह गरेको जानकारी गराए।

‘खेलाडीसँग दैनिक नजिक हुने भनेको प्रशिक्षक हो। प्रशिक्षकलाई विश्वास गर्नुपर्छ, गरेको छु। प्रशिक्षकले बेइमानी गर्नुहुँदैन। योग्य क्षमतावान् खेलाडीलाई टीममा समावेश गर्नुपर्छ। खेलाडीको जिम्मा नै प्रशिक्षकको हातमा हुन्छ। नियममा आउने हो, कसरी खेलाउने, कसलाई खेलाउने सुक्ष्म अध्ययन गरेर त्यसलाई सुधार गर्ने जिम्मा त प्रशिक्षकमा हुन्छ। संघले, राखेपले टपक्क टिपेर खेलाडी तोक्ने भए प्रशिक्षक र प्रशिक्षण किन आवश्यक पर्‍यो र !’ सदस्य सचिव घिसिङले थपे, ‘मलाई पनि कतिपयले फोन गर्ने गरेका छन् खेलाडी समावेश गरिदिनुपर्‍यो, प्रशिक्षक बनाउनुपर्‍यो भनेर। तर जो खेलाडीलाई टीममा समावेश गर्नुपर्‍यो भनेर फोन आउँछ, जो प्रशिक्षक बन्छु भनेर आउँछ त्यो अरुभन्दा कमजोर छ भन्ने मैले बुझेको छु, अब आइन्दा यस्तो कुरा नगर्न भनेको छु। खेलको माथिल्लो निकाय, सदस्य सचिवले भन्दियो भने फोन आएपछि मान्नैपर्छ, परिवर्तन गर्नैपर्छ भन्ने पर्दो रहेछ त्यो थाहा पाएपछि एक जना प्रशिक्षकलाई पनि मैले टेलिफोन गरेर दबाब दिएको छैन। ’ 

घिसिङले प्रशिक्षकले कसैको दबाब आधारमा खेलाडी छनोट गर्न नहुने स्पष्ट पारे। उनले खेलाडी छनोट भनसुनका आधारमा गर्न थालियो भने राष्ट्रले सर्वनाक हार हुने बताए। उनले खेल क्षेत्रको बेथिति हराउन आफू कार्यभार सम्हालेदेखि नै लागिपरेको बताए। 

उनले खेल क्षेत्रमा गलत काम भइरहेको जानकारी पाए गहिरो अध्ययन गरेर बाहिर ल्याउनसमेत आग्रह गरे। सदस्य सचिव घिसिङले रेफ्रीहरु जसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नियमसँग अपडेट हुन्छन् त्यसरी नै पत्रकारहरु पनि नियममा अपडेट हुनुपर्ने तर्क गरे। खेलाडीलाई खेलमा प्रोत्साहन गर्न पत्रकारको भूमिका पनि अहम् हुने उनको भनाई छ।

आवश्यक परे एक खेलाडी बराबर एक करोड रुपैयाँ लगानी गर्ने

सदस्य सचिव घिसिङले खेलकुद क्षेत्रको विकासका लागि आफू रणनीतिक रूपमा अगाडि बढाउन लागिपरेको बताए। उनले खेलाडीमाथि राज्यले लगानी गरेर अगाडि बढ्दा मात्र मेडल प्राप्त गर्ने धारणा राखे। 

‘कुनैपनि कष्टमा मेडल प्राप्त गर्ने, रणनीतिक तयारी अन्तर्गत ६ देखि ८ वटा खेलबाट आवश्यकता अनुसार कम्तिमा २ जनादेखि अधिकतम ८/१० जनासम्म हरेक खेलबाट लिएर रणनीतिक सहभागिताका लागि तयारी गर्ने, साउथ एसियन गेम्समा मेडल प्राप्त गर्नका लागि रणनीतिक रुपमा तयारी गर्ने र त्यसमा लगानी भइरहेको छ।’ घिसिङले भने, ‘अब जनवरीदेखि सेप्टेम्बरसम्म छ, मैले के घोषणा गरेको छु भने एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यकता परेपनि राज्यले लगानी गर्ने। तर, त्यो खेल र त्यो खेलाडीको मेहनतका आधारमा लगानी गर्ने। एउटा व्यवस्थित योजना नबनाई खेल क्षेत्रको विकास हुन सक्दैन।’ 
२०२२ मा स्थगित भएको एसियन गेम्स आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङझोउमा हुँदैछ।

सदस्य सचिव घिसिङले खेल क्षेत्र मात्र त्यस्तो एक क्षेत्र हो जसमा पार्टी, जात नहुने बताए। उनले भने, ‘खेलमा देशको कुरा हुन्छ, राज्यको कुरा हुन्छ,यहाँ पार्टी र जात हुँदैन।’  उनले राज्यले खेलाडीमाथि लगानी गरेपछि खेलाडीले पनि सोचेर खेल्नुपर्ने बताए। खेलकुद पत्रकारिता प्रशिक्षण मंगलबार सकिँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.