युवाको राजनीतिक भविष्य
युवाले राजनीतिक भविष्य सुरक्षित राख्न जनताप्रति इमान्दार हुनुपर्छ। अन्यथा राजनीतिक यात्रा अत्यन्त कठिन छ।
विश्वभर शासकीय शैली र संरचनामा सुधार गरी लोकतन्त्रको संस्थागत विकासका लागि युवाको योगदान अतुलनीय छ। समाजका सबै तप्काका मानिसलाई राजनीतिमा प्रतिनिधित्व गराउने व्यवस्था हुनुपर्छ। युवा राजनीतिक मूल प्रवाहबाट बिमुख भए देशकै लागि प्रत्युत्पादक हुन्छ। युवालाई राजनीतिबाट बिमुख गर्दा जीवन्त र महत्त्ववपूर्ण समाजको अवस्था नै देशको नीति निर्माण गर्ने र निर्णय लिने धारबाट अलगिन्छ। राजनीतिमा सहभागिता दिन पाउने सन्दर्भ मौलिक राजनीतिक र लोकतान्त्रिक हक हो। समाजलाई अग्रगमनतर्फ उन्मुख गराउन, स्थायित्व भएको शान्तिपूर्ण समाजको सिर्जना गर्न अत्यावश्यक हुन्छ।
युवाको विशेष प्रकारका आवश्यकताहरूलाई सम्बोधन गर्ने गरी नीति र कार्यक्रम तर्जुमा साथै कार्यान्वयन अत्यावश्यक छ। लोकतन्त्रको संस्थागत विकास राजनीतिमा युवाको सहभागिताको अभावमा कल्पना गर्न सकिन्न। युवाको सहभागिता हुँदा राजनीतिले सार्वजनिक हितमा कार्यक्रमहरू कार्यान्वयन गर्नसम्भव हुन्छ। आविष्कार र असल अभ्यासहरूको प्रयोग गरी समाजलाई द्रुत गतिमा प्रगतिको पथमा अग्रसर गराउन युवा सक्षम छन्। ऊर्जाशील, जोसजाँगर र उत्साह भएका युवावाट देशको समुन्नति र समृद्धि सम्भव हुन्छ।
विश्व परिवेशमा युवाको राजनीतिक सहभागिता
विश्वका प्रायः सबै देशका युवाले राजनीतिक परिवर्तनका क्रममा अत्यन्त महत्त्ववपूर्ण भूमिका निर्वाह गरिआएका छन्। आन्दोलनका क्रममा सहभागिता मात्रदिने होइन, समग्र सहभागिता गराई जुलुसको नेतृत्वदायी भूमिकामा प्रस्तुत भएका छन्। युवालाई लोकतन्त्रको बहाली, पुनर्बहाली र लोकतान्त्रिक आन्दोलनमा प्रयोग मात्र गर्न उनीहरू अभ्यस्त छन्। केही देशले युवालाई राजनीतिमा सहभागी गराउन धेरै प्रकारका कार्यक्रम र रणनीति बनाएका छन्। उनीहरूलाई राजनीतिमा आकर्षित गराउने तरिकाहरूको अवलम्बनसमेत हुन थालेको छ।
आर्थिक विकास र सहयोगसम्बन्धी संस्था (ओईसीडी) ले प्रकाशित गरेको प्रतिवेदनमा ५३ प्रतिशत यस क्षेत्रका देशमा युवाको सक्रिय सहभागितामा राजनीति अघि बढेको उल्लेख छ। राज्यले नै युवालाई राजनीतिमा आकर्षित गर्न प्रशिक्षण, पुनर्ताजगी कार्यक्रमहरू सञ्चालन गरी सबल र इच्छुक बनाउने प्रयास भएको छ। अन्तरसंसदीय संघ (आईपीयू)ले सन् २०२१ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनका अनुसार ३० वर्षमुनिका युवाको संसद्मा प्रतिनिधित्व जम्मा तीन प्रतिशतमात्र छ। ६० प्रतिशत यस क्षेत्रका सांसद ४५ वर्षमुनिका छन्। आर्मेनिया, सन्म्यारिनो, ग्याम्बिया र बेल्जियममा १० प्रतिशत सांसद ३० मुनिका छन्।
२१औं शताब्दीको लोकतन्त्रमा केही देशले युवालाई राजनीतिप्रति सचेत बनाउन कार्यक्रम छैन। लेबनान सरकारले स्नातक गर्दै गरेका युवालाई कानुन निर्माण प्रक्रिया र नीति निर्माणका विषयमा सरकार र संसद्मा केही अवधि उपस्थिति गराई अभ्यास गराउँछ। यस प्रकारको अवसर भारत र संयुक्त अधिराज्यले समेत प्रदान गरिराखेका छन्। अन्य देशले पनि यो अभ्यासलाई आत्मसात् गर्दै प्रयोगमा ल्याएका छन्। युवाले जानकारी राख्ने मात्र होइन, यस सम्बन्धमा अनुसन्धान र बृहत् अध्ययनसमेत गर्न आकर्षित भएका छन्।
नेपालको राजनीतिमा युवाको उपस्थिति
नेपालको जनसंख्यामा युवा ४०.६८ प्रतिशत छन्। ठूलो जनसंख्या युवाकै छ। नेपालमा युवाबाटै ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएका छन्। अप्ठेरो अवस्थामा यो समूह उत्साहित बनी योगदान गरिराखेको छ। नयाँनयाँ अध्ययन र आविष्कार युवाबाटै सम्भव भएको छ। यत्ति ठूलो योगदान र महत्त्वव हुँदै गर्दा पनि युवालाई प्रत्यक्ष राजनीतिमा मूलप्रवाहीकरण गर्न खासै प्रयास भएको छैन। ऊर्जाशील र बौद्धिक क्षमतावान् युवा विदेश पलायन भइराखेका छन्। देशभित्र रोजगारीका अवसर नहुनुले यो स्थिति सिर्जना भएको हो।
बौद्धिक पलायन देशको समृद्धिका लागि प्रत्युत्पादक सिद्ध भएकोमा सन्देह छैन। यही कारण युवाको राजनीतिमा सहभागिता न्यून हुने अवस्था बनेको छ।
देशका १४ प्रतिशत युवा अध्ययन र रोजगारीका लागि उन्नत देशमा छन्। यसका पछाडि देशमा रोजगारीका अवसरहरू उपलब्ध नहुनु र राजनीतिक अस्थिरता र संक्रमणकालको अन्त्य हुने अवस्थासमेत नदेखिनु हो। अत्यन्त न्यून पारिश्रमिकका कारण जीवनयापन गर्न कठिन हुनु हो। देश लामो समयसम्म कठिन अवस्थाको द्वन्द्वबाट प्रभावित हुनुजस्ता कारण छन्। यत्ति ठूलो संख्यामा बौद्धिक पलायन हुनु र ठूलो मात्रामा युवामध्ये पूर्वी देशलगायतमा वैदेशिक रोजगारीमा जानुले देश युवाविहीन बन्दै गएको प्रमाण पेश गर्छ। नेपालका पुरातनशैली र सोचमा अभ्यस्त राजनीतिज्ञहरू युवा पुस्तालाई राजनीतिको नेतृत्व हस्तान्तरण गर्न थोरै मात्र पनि इच्छुक छैनन्।
६० वर्ष माथिकाबाट देश शासित छ। युवाको नेतृत्व विकास गर्ने पक्ष पनि वृद्धनेताहरूको प्राथमिकतामा देखिँदैन। व्यवसायी ज्ञान र अनुभवको कमी भएकाले उनीहरूलाई नेतृत्व प्रदान गर्न नहुने तर्क उनीहरूको छ। संवैधानिक र कानुुनी प्रावधानसमेत युवामैत्री छैनन्। युवालाई आकर्षित गर्न सौहाद्र्रपूर्ण प्रावधानहरू राखिएका छैनन्। निर्वाचनमा प्रतिस्पर्धा गर्न युवालाई उत्साहित बनाएका छैनन्। २५ वर्ष पूरा भएको नेपाली नागरिकमात्र प्रदेश र संघको निर्वाचनमा सहभागी हुन सक्छन्। कानुनी प्रावधानहरू युवा प्रतिनिधित्वका लागि सौहाद्र्र देखिएनन्।
नेपाल संसद्मा युवाको ५ प्रतिशतमात्र प्रतिनिधित्व छ। यही प्रतिनिधित्व विश्वका देशहरूको सरदर १३.५ प्रतिशत छ। युवालाई प्रोत्साहन गर्ने गरी युवाको दूरदृष्टि २०२५ (नेपालको दसवर्षे रणनीतिक योजनाको एक अंश) ले केही प्रावधान राखेको छ। यद्यपि यसको प्रभावकारितामा प्रश्नचिह्न छ। २०१७ मा सम्पन्न संसदीय निर्वाचनमा ३१ प्रतिशतको युवा सहभागिता थियोे। यी प्रतिस्पर्धीको प्रतिशत यस निर्वाचनमा ३२ पुगेको छ। ५० प्रतिशत स्थानमा युवाले प्रतिस्पर्धा गर्न पाउनुपर्ने मागसमेतको ज्ञापन सरकारलाई बुझाउने कार्यसमेत भएको छ। स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका युवा ४१ प्रतिशतले प्रतिस्पर्धा गरेका थिए। निर्वाचनमा पुरानाहरूलाई विस्थापित गरौं भन्ने नारा बुलन्द बनेको थियो।
निष्कर्ष
विश्वभरका युवा यदि राजनीतिमा सहभागिता दिई निर्वाचित भएमा केही समयपश्चात् कुनै दलमा प्रवेश गरेको देखिन्छ। दल प्रवेश नगर्नेहरू राजनीतिक परिदृश्यबाटै पलायन भएको पाइन्छ। नेपालको स्थानीय तहहरूको निर्वाचनमा बालेन, हर्क र गोपाल निर्वाचित भएपश्चात युवा संघीय र प्रदेशको निर्वाचनमा आकर्षित भए। स्थानीय निर्वाचनको तुलनामा संसदीय निर्वाचनमा युवाको अवस्थामा सुधार छ। दलीय व्यवस्थामा दलहरूको देशभर हुने संगठन र सञ्जालका कारण स्वतन्त्र युवालाई दलका उम्मेदवारसँग प्रतिस्पर्धा कठिन हुन्छ। तर पनि दलहरूका कार्य सम्पादनलाई नागरिकले सकारात्मक देख्न नसकेका कारण उनीहरू निराश बन्दै स्वतन्त्र युवाको पक्षमा मतदानमा सरिक भए। युवाले राम्रै संख्यामा स्थान सुरक्षित गरी उत्साहित बनेको अवस्था छ।
संसद्मा निर्णायक संख्यामा युवा छैनन्। सरकारमा सहभागी हुँदा पुरानै शैलीलाई सुधार गर्न कठिन हुन्छ। प्रतिपक्षमा रहँदा प्रमुख प्रतिपक्षको हैसियत उनीहरूको छैन। संसद्मा यी युवा सांसदको प्रस्तुतीकरण संख्यात्मक हिसाबले निर्णायक र प्रभावकारी हुन कठिन छ। युवाले राजनीतिक भविष्य सुरक्षित राख्न जनताप्रतिको इमान्दारिता हुनुपर्छ। उनीहरूले जनता र सुशासनका पक्षमा सडक, सदन र सरकारमा समेत ठूलो दबाब सिर्जना गर्नुपर्छ। तसर्थ युवाको राजनीतिक यात्रा अत्यन्त कठिन छ। मतदाताको आकर्षण अहिलेसम्म युवातर्फ देखिनु आशालाग्दो पक्ष हो। यो नै उनीहरूको राजनीतिक भविष्यको सम्भावना र सुन्दर पक्ष हो। यदि युवासमेत राजनीतिक यात्रामा चुक्दै गए भने आत्मघाती कदम सावित हुनेछ।