‘के लत बस्यो मलाई...’ तिलकसिंह पेलाले गाएको यो गजलले छोटो समयमै लोकप्रियताको शिखर चुम्यो। मिडियाले डा. प्रदीप मैनालीले गरेको यो सिर्जनासँगै संगीत आदिमा गरेको साधना खोजेन, बरु ‘भाइरल’ भन्दियो। अनि सुरु भयो, ती गुमनाम साधकको उत्खनन। र, रचियो ‘कसरी बन्यो भाइरल गीत ?’ टाइपका हेडलाइन। यसले मनमा कौतुहुल जगायो। साँच्चै त्यो गीत भाइरल थियो वा लोकप्रिय ? भाइरल हुनु र लोकप्रिय हुनु एकै हो ? के हो भाइरल ? अनि के हो लोकप्रिय ?
युग यस्तो भइसक्यो, मान्छेलाई लोकप्रिय हैन, भाइरल हुन परेको छ। भाइरल छोटो समयको बेग हो, हुलमुल हो, लहड हो। सबै भाइरल चिज लोकप्रिय हुँदैनन् तर लोकप्रिय चिज भाइरल बन्न सक्छ। ‘के लत...’ बोलको गजल उच्चकोटीको हो, लोकप्रिय हो। यसपालि लोकप्रिय गजलसमेत भाइरल बन्यो। दुर्गेश थापाका गीत भाइरल हुन्छन्, यस्ता गजल (गीत) कालजयी हुन सक्छन्। किनभने त्यसमा लामो साधनाको झंकार छ।
आजकल के भाइरल छैन ? गीत, पहिरन, बोली, मानिस, सृजना, हेयरस्टाइल, रेसिपी, डान्सस्टेप सबै भाइरल छन्। भाइरल र लोकप्रियताको कारण र प्रकार बखान गर्नु यहाँ आवश्यक र सान्दर्भिक दुवै छैन। गीत, संगीत, विचार हुँदै सदनदेखि सिहंदरबारसम्म पुग्ने होडमा रहेको भाइरल प्रवृत्तिले हामीलाई कहाँ पुर्याउला भन्ने सवाल उठाउँदैछु। भाइरल युगमा धेरैजसो कर्तव्य र कर्म सामाजिक सञ्जालमै पूरा हुन्छ। यसलाई बजारको माग मानेर सजिलै
सतही र हलुका चिज जस्तै डान्सस्टेप, रेसिपी, मेकअप ट्रेन्ड, कपालका डिजाइन भाइरल हुँदा उति सारो नोक्सानी छैन। जब सतही अभिव्यक्ति, सतही विचार र उग्रतासहित नीति निर्माण तहमा बस्नेहरू नै भाइरल बन्ने प्रतिस्पर्धामा उत्रन्छन् तब यसले गम्भीर समस्या सिर्जना गर्छ। जब अतिरञ्जित अभिव्यक्ति, तथ्यबिनाको उग्र विचार, मनगढन्ते योजना, हावादारी राष्ट्रियताले भाइरल बजारमा वैधानिकता पाउँछ तब त्यो ठूलो जनमानसमा पुगेर विचार र दिग्दर्शनमा परिणत हुन्छ। हो यस्ता विषय अनि घातक हुन सक्छन्।
बजारले कर्म र नीतिमा होइन आवेग, उत्तोजना र प्रतिक्रियामा मात्र विश्वास गर्छ। यो बजारमा क्रिया होइन, प्रतिक्रिया मात्र बिक्छ। भीड गलत हुन सक्छ भन्ने मान्यता लागू हुँदैन, भाइरल बजारमा।
भाइरल बजारमा बिक्नका लागि जब समाजका नीति निर्माता, पहरेदार, विज्ञ, अध्येता, नेता आफ्ना सही अनुभव र ज्ञान थाँती राखेर यो बजारमा जे बिक्छ त्यो मात्र बोल्छ अनि नबिक्ने सत्यलाई बाकसमा थन्क्याउँछ नि समस्या यहाँनिर सुरु हुन्छ। समाजले जे सुन्न चाहन्छ, त्योमात्र सुनाइनु गलत हो। हुल जताजता बढ्छ, त्यतात्यता बहकिँदै संविधानदेखि नियम कानुन लेख्नेसम्मका होड कति अव्यावहारिक थियो र होला ? गलत हो भन्ने महसुस धेरैलाई हुन सक्छ। यद्यपि कसैले भन्न नसकिरहेको हुन सक्छ। यो महसुस हुन थालेको छ।
म मिडियामा काम गर्छु। मलाई भाइरल मोह छैन तर त्यसमा मोहिलहरूको हत्कण्डा विभिन्न नाममा मेरो डेस्कसम्म पनि आइपुग्छ। कहिले त लाग्छ, हामी मिडियाकर्मीलाई पत्तै नपाई भाइरल दोकानमा ‘आउटलेट’ पो भइरहेका छौं कि ! अझ युट्युब र सामाजिक सञ्जाल ‘भाइरल बजार’ ट्रेन्ड सेटर भइरहेको छ। मूलधारसमेत त्यसलाई पच्छ्याइरहेको छ। भाइरल बजारमा भीड छ। भीडसँग शक्ति छ। भीडले कुनै एक अमूक पात्रलाई रातारात मसिहा कि त दानव बनाइदिन्छ तर भीड सधैं सही पनि त हुँदैन।
भीड गलत हुन सक्छ भन्ने मान्यता लागू हुँदैन, भाइरल बजारमा। भीडको गर्जनमा सत्य मलिन स्वरमा फुसफुसाउँदै गरेको पनि हुन सक्छ। मलिन स्वर र शालीनता यो बजारमा खपत नहुने गुण हुन्। यो बजारमा भावना बिक्छ। भावनाका होलसेलदेखि खुद्रे व्यापारी आआफ्ना क्षमताअनुसार आँसु, आशा, उत्तेजना, भ्रम बेचिरहेका छन्। भाइरल बजारको खराबी के छ भने यसमा कुनै चिज कसैले गर्नै पर्दैन। गर्थें, गर्न सक्छु भने पुग्छ। किनकि यो बजारका नायकहरू चाँडो चाँडो फेरिरहन्छन्।
एउटा नायकले बोलेको कुरा जाँच्ने, सम्झने धैर्य यो बजारमा कसैसँग हुदैन। हिजो जयजयकार गरेको नायक रातारात खलपात्र भइसकेको पनि हुन सक्छ। निमेषमै अर्को नायक जन्मिने बजारमा पुरानाले के भने भनेर हेक्का राख्ने फुर्सद पनि त हुँदैन। आजकोे नायक रातारात खलपात्र भइरहँदा भर्खरै डेब्यु गरेको पात्र एक झोकमा एक प्रतिक्रियामा तिलस्मी उडान भरिसक्छ। यो उडान त्यही बजारका क्रेता र बिक्रेताले भरिदिन्छन्। भाइरल बजारमा जवाफदेहिता शून्य हुन्छ किनकि जवाफदेहिता खोज्ने फुर्सद कसैलाई छैन। यहाँ हतार छ, आवेग छ, उत्तेजना छ, अनि एक क्लिकमै माल गुम्ने खतरा पनि त छ।
मान्छे राज्यका निकायहरूको अकर्मण्यताका कारण दिनदहाडै आत्मदाह गर्दा पनि उसको चित्कार र कोलाहल बिक्छ। तर संसार त्यागेर जाँदा उसले देखाइदिएका राज्य संयन्त्रका अनगिन्ती बेथितिबारे यो बजार मौन छ।
एउटासँग जवाफदेहिता खोज्दा अर्को नायकको चमत्कार उम्कन सक्छ। अघि नै भने भाइरल हेयरस्टाइल र डान्सस्टेप त समाजले पचाउँछ तर भाइरल योजना, भाइरल नीति, भाइरल राष्ट्रवाद र भाइरल विचारमात्र पस्कने नेता पाए यो देश कहाँ पुग्ला ? ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु हो’ भनेर भाइरल भएमात्र पुग्छ। यो बजारले स्वार्थ बाझिने मन्त्रालयमा आफ्ना सांसद पठाउनु भ्रष्टाचारभन्दा गलत हो भनेर जवाफदेही हुन कसैले पर्दैन। कसमका भरमा शासनमा पुगिने कठै कस्तो जमानामा छौं हामी। कसम त ती कायरले खान्छन्, जसलाई आफ्नै क्षमतामा विश्वास हुँदैन। यति हेक्का र विश्लेषण गर्न कसले टाउको दुखाउने ? फेरि भाइरल बजारले नायक मान्दामान्दै औंलो ठड्याउनेको के दुर्गति होला अनुमान गर्न सकिँदैन।
यो बजारमा मन्त्रीले सचिव, कर्मचारीलाई चुट्कीमा काम फत्ते नभए कारबाही गर्छु भनेर गर्जन गर्न मिल्छ। वर्षौंदेखि कर्मचारीले नेता घुमाउने, नेताले कर्मचारीलाई आफू अनुकूल चलाउने चक्र पारदर्शिता र नियम कानुनको पालनाबाट मात्र तोडिन्छ भन्ने सामान्य तथ्य यो बजारमा कसैले सम्झँदैन। कहाँ के भनियो ? को गर्जियो ? भन्नेले मात्र महत्त्व राख्छ नतिजा कुर्ने धैर्य हुँदैन। भनिहाले यो बजारमा भनेमात्र पुग्छ, निर्देशन दिएमात्र पुग्छ। काम सम्पन्न भएको रिपोर्ट कसैलाई बुझाउनु पर्दैन। यो बजारले कर्म र नीतिमा होइन आवेग, उत्तेजना र प्रतिक्रियामा मात्र विश्वास गर्छ। यो बजारमा क्रिया होइन, प्रतिक्रिया मात्र बिक्छ। मान्छे राज्यका निकायहरूको अकर्मण्यताका कारण दिनदहाडै आत्मदाह गर्दा उसको चित्कार र कोलाहल बिक्छ यो बजारमा। तर संसार त्यागेर जाँदा उसले देखाइदिएका राज्य संयन्त्रका अनगिन्ती बेथितिबारे यो बजार मौन छ। यहाँ मात्र चित्कार बिक्छ, चित्कारको कारण बिक्दैन। कारण हल गर्न योजना बनाउनु पर्छ, घोत्लिनु पर्छ तर भाइरल बजार यसका लागि होइन। जब शासनसत्तामा रहेकाहरू नै कर्तव्य र कर्म बिर्सिएर प्रतिक्रिया दिने होडबाजीमा रमाउन थालेपछि यो बजारका क्रेता, विक्रेता हौसिएका छन्। यहाँ बिक्ने मालको खोजी गर्न आजकल खासै दौडधुप गर्न परेको छैन।
बजारलाई गुल्जार बनाउने पात्रहरू अब सिंहदरबार पुगिसकेका छन्। ठूलो हिस्साले अनुमोदित यो बजारमा अटाउन कम मिहिनेतले भने पुग्दैन। यसको कारण पनि स्पष्ट छ, स–साना उद्दण्डता, हलुका गाली र ठिक्कको राष्ट्रवाद यो बजारमा चल्दैन। अब अन्तर्वार्ता दिन जानेले सँगैको अर्को वक्तालाई गाली गरेर मात्र पुग्दैन। उस्तै परे एक मुक्का दिनुुपर्छ अनि मात्र तपाईं उसको विचारमा सहमत हुनुहुन्न भने दर्ज हुन्छ। आजकल विचार बिक्दैन, उद्दण्डता बिक्छ। उद्दण्डता, सतही ज्ञान, छुद्र प्रतिक्रिया, अल्पज्ञान, घोचपेच, छाडापनलाई यो बजारले अनुमोदन गरिसकेको छ। सारा देश यो बजारमा आफूलाई बिकाउन, यी तिगडममा तिखार्न खोज्दैछ भने हामी कस्तो समाज निर्माण गर्दैछौं ? हाम्रा बहस कति सतही र बकमफुसे हुन्छन् ? सजिलै बुझ्न सकिन्छ।
जब सतही र अल्पज्ञानको मात्र कदर हुन्छ भने अब यहाँ एनजीओ र आईएनजीओका बाहेक मानिसले किन र केका लागि अध्ययन गर्ला ? अनुसन्धान गर्ला ? किन कसैले कसैका बारेमा बुझ्ला ? बुझ्न समय लाग्छ। त्यति धैर्य कोसँग छ र ? त्यसैले त बुझ्नभन्दा हामी सजिलै धारणा बनाउनतिर लाग्छौं आजकल। किनकि त्यो सजिलो छ। ऊ राष्ट्रवादी, ऊ बिखण्डनकारी, ऊ मसिहा, ऊ पाखण्डी, ऊ यो, ऊ त्यो। मानिसका एक प्रतिक्रियाले के ऊ एक निमेषमै माथि उल्लेखित उपमा भिर्न भिराउन योग्य वा अयोग्य होला ? कसैले यहाँ भन्दैन। यो बजारले यसका नायकलाई यसरी पर्दा र ढाल लगाइदिन्छन् कि यसका नायकले आफ्नो गल्ती फर्केर पनि हेर्ने मौका पाउँदैन। नायकलाई गल्ती महसुस गर्ने छुट छैन, आफ्नै भाइरल वाणीको वजनमा थिचिएको हुन्छ यसको नायक।
बजारको अर्को खराबी पनि छ। यसले हरेक मानिसका आफ्नै क्षमता र सीमितता छ भनेर बुझ्दैन। यो बजारले कुनै एक क्षेत्रमा ख्याति हासिल गरेकालाई यति हावा भरिदिन्छ कि उसलाई जुन कामले आफू समाजका स्थापित छ, त्यो नै फिक्का र फोस्रो लाग्छ। यही भीडले उसको मस्तिष्कमा तिलस्मी आइडिया फुराइदिन्छ, कहिले राष्ट्रपति बन भनिदिन्छ त कहिले सहरगाउँ बन्न नसक्ने आयोजना सबै तिमी नै बनाउँ भनिदिन्छ।
नायक यसै हौसिन्छ किनकि उसँग भीड छ। सभ्य भाषामा भन्नुपर्दा उसले सहर, रंगशालालगायतका राज्यका संयन्त्रले गर्न पर्ने काम उसैले गर्नुपर्छ भनेर भनिएको भिडियो भाइरल भएको छ। यही भीडले व्यक्तिका दिमागमा रुमानी मिसन भरिदिन्छ। मानौं त्यो रुमानी मिसन फत्ते गर्न सारा भीड आउनेछन् ढाढस बनेर। यो भीड अत्यन्त निर्मम छ। आफैंले हावा भरिदिएको बेलुनमा उडेको नायक कहाँनिर गएर पछारियो यो भीडलाई थाहै हुँदैन। त्यतिन्जेल यो भीडले अर्कै नायक पाइसकेको हुन्छ।
यो भीडले कलाकारबाट समाजसेवीको भूमिका अपेक्षा राख्छ। यसले नेता पत्रकार बनोस् भनेर बहस सिर्जना गर्छ अनि नेताले पत्रकारिता गरोस् भन्ने चाहना। यस्ता चिज यो बजारमा अट्दैन। यसले कलाकारलाई न कलाकार रहन दिन्छ न त असली समाजसेवीको रंग चिन्छ। यो बजारले नीतिनियम, सामूहिकताभन्दा व्यक्तिको चटक र चमकमा विश्वास गर्छ। आममानिसलाई चटकी बन्न प्रेरित गर्छ।
चटकी चटक देखाउन छाडेर गमेर बसोस् भन्ने चाहन्छ। मानिसका लागि यो बजारमा ठाउँ छैन। मसिहा बिक्छन् कि त राक्षसी प्रवृत्ति। भगवान् र राक्षसबीचको प्रयासरत मानिस जो मसिनो स्वरमा बोल्छ, प्रयासरत छ, क्षमाशिल छ, कहिलेकाहीँ माफी पनि माग्छ, ऊ यो बजारमा अटाउँदैन। ऊ असाध्यै निरश छ। स्तुति र छुद्रताबाहेक तर्क र सत्यमा आधारित स्वस्थ बहस यो बजारमा निषेधित छ। यो बजारमा प्रश्न गर्न पाइँदैन। कि स्तुति कि तुच्छ निन्दामात्र गर्न पाइन्छ। भलै यो बजारका नायक प्रश्न गरेरै ठूला ओहोदामा पुगेका हुन् ! प्रश्न केवल प्रश्न मात्र हुँदैन, प्रश्नले सम्भावनाको बाटो खोल्न सक्छ, प्रश्न बेथिति समाधानको सूत्र बन्न सक्छ भनेर यो भीडले बुझ्दैन।
जब लोकतन्त्रमा प्रश्न मर्छ तब तानाशाही प्रवृत्तिको अंकुरण हुन्छ । तर यो यथार्थबारे बेखबर छ यो भीड। जहानियाँ राणाशासनविरुद्ध मानिसहरूले प्रश्न नगरेको भए ? निरंकुश पञ्चायती व्यवस्थाका बेथितिविरुद्ध प्रश्न नगरेको भए ? के आज यो बजारका खपतकर्ताले चर्को चर्को स्वरमा हरेक बान्की र खान्कीको आलोचना गर्ने स्वतन्त्रता पाउँथे ? अराजकतामा परिणत हुँदै गइरहेको आजको तिनको स्वतन्त्रता कसैको प्रश्नको जगमा उभिएको हो भनेर सम्भवतः यो बजारका क्रेताले कहिल्यै बुझ्ने छैनन्। तपाईंले प्रश्न नगरे पनि तपाईंका स्वतन्त्रताका लागि हजारौंले प्रश्न गरेर ल्याएको स्वतन्त्रता हो यो।
सामाजिक सञ्जाल हुँदै नीति निर्माण गर्ने, रणनीति तर्जुमा गर्ने ठाउँसम्म भाइरल प्रवृत्ति हावी हुँदा यस्तो दिन नआओस् कि कसैले विकास, सुशासन, समृद्धि र समावेशिता कहाँ छ भनेर सोध्दा हिजोको भिडियोमा भनेकै थिएँ त हेर्नु भएन ? तीन दिनमा लाखौंले हेरिसके भनेर हाम्रा शासकले हामीलाई जवाफ फर्काउन्।