दैलेख सदरमुकामलाई व्यवस्थित बनाइँदै
दैलेख : दैलेख सदरमुकाम पुग्नेहरूले वर्षातमा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपर्छ। साँघुरो सडक त्यसमाथि व्यापारिक सामान सडकसम्मै फैलाउने, घर लगायतका भौतिक निर्माणका सामग्रीले सडक अवरुद्ध भइरहन्छ।
यिनै कारणले सदरमुकाममा पैदल आवागमनमा समेत समस्या छ। यी समस्यालाई समाधान गर्न सदरमुकामलाई व्यवस्थित बनाउन लागिएको छ।
नारायण नगरपालिकाले सदरमुकामलाई व्यवस्थित बनाउन लागेको हो। सदरमुकामको बीच सडकलाई व्यवस्थित गर्ने, सडकलाई चौडा बनाउने, साँघुरो क्षेत्रलाई फराकिलो बनाउने लगायतका काम नगरपालिकाले सुरु गरेको छ। नगरप्रमुख लोमन शर्माले सदरमुकामलाई व्यवस्थित बनाउने कार्य थालिएको बताए।
नगरले मंगलबारदेखि सदरमुकामको बीचमा रहेको सडकलाई फराकिलो बनाउन सुरु गरेको छ। नगरप्रमुख शर्माले देवकोटा चोकस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको क्षेत्रको बाहिरी भाग र चोक आपसासको पेटी भत्काइएको बताए।
देवकोटा चोकमै नेपाल प्रहरीको मातहतमा रहेको भवन समेत भत्काईने उनले बताए। भवन अगाडिको भाग भत्काइएको छ।
नगरपालिकाका प्रवक्ता जनकप्रसाद न्यौपानेले सदरमुकामलाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताए। ‘अब सडकलाई फराकिलो र व्यवस्थित बनाउँदैछौँ, सडकलाई असर गरेको पेटी, घरका सिँढी, भर्याङ, सार्वजनिक जग्गा ओगटेर बनेका संरचना भत्काउँछौँ,’ उनले भने।
देवकोटा चोकलाई फराकिलो बनाउन केही संरचनाहरू र स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको शालिक रहेको डेकेन्द्र चोकलाई पनि फराकिलो बनाउने न्यौपाने जानकारी दिए। उनका अनुसार डेकेन्द्र चोकस्थित सडकलाई असर गरेको बाल मन्दिरको एउटा भवन पनि भत्काइएको छ।
नगरपालिकाले सदरमुकामको बीच सडकलाई स्तरोन्नति तथा व्यवस्थित गर्न एक करोड १२ लाखको ठेक्का सम्झौता गरिसकेको छ। स्थानीय एनएमबी चोकदेखि देवकोटा चोकसम्मको सडकका लागि उक्त ठेक्का सम्झौता भएको नगरप्रमुख शर्माले बताए।
उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालयमार्फत झण्डै एक करोड बराबरको काम हुनेछ।
सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा दुई करोड ६० लाख बराबरको काम गर्ने लक्ष्य लिएको नगरप्रमुख शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !