जावलाखेलको सुखद सुरुवात

मलंगवा : सर्लाहीको बागमती नगरपालिकामा बुधबारबाट सुरु भएको ७औं राजर्षि जनक कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा जारी खेलको ६२औं मिनेटमा मैदानमा प्रवेश गरेका जावलाखेलका विनोद केसीले एक मिनेट नबित्दै गोल गर्दै टिमलाई अग्रता दिलाएका छन्।
६३औं मिनेटमा एपीएफको गोल पोष्ट नजिकै पास पाएका केसीले हेड गर्दै गोल गरेका थिए। हिशुब थपलियाले दिएको पासलाई हेड गर्दै केसीले गोल गरेका थिए। पहिलो हाफको खेलमा एपीएफको सामु कमजोर खेल प्रदर्शन गरेको जावलाखेलले दोस्रो हाफमा सुधारात्मक खेल खेलेको थियो। पहिलो हाफमै गोलका लागि आधा दर्जनभन्दा बढी प्रहार एपीएफले गरेको थियो। तर, जावलाखेलका गोल किपर अनिश देउलाले सबै प्रहारलाई बिफल बनाएका थिए।
१–० को अग्रता पाएपछि जावलाखेलले रक्षात्मक प्रदर्शन गरेको थियो। खेलमा फर्कनका लागि हौसिएका एपीएफका सबै प्रहारलाई जावलाखेलका खेलाडीले बिफल पारेका थिए।
खेलको म्यान अफ द म्याच जावलाखेलका गोलकिपर अनिश देउलालाई प्रदान गरिएको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए। दोस्रो दिनको खेल युनाइटेड फुटवल क्लब दार्जिलिङ र सुदुरपश्चिम ११ का बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन उपप्रधान एवं भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
