लुम्बिनी लायन्समा फर्किए ट्रम्पलमेन
काठमाडौं : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि रक्षा गर्ने उद्देश्यसहित साविक विजेता लुम्बिनी लायन्सले रुबेन ट्रम्पलमेनलाई अनुबन्धन गरेको छ। तेस्रो संस्करणको लागि लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडीको रुपमा ट्रम्पलमेनलाई भित्र्याएको हो।
देब्रेहाते तीव्र गतिका २८ वर्षे वलर लुम्बिनी लायन्सको उपाधि यात्रामा एनपिएल को ‘प्लेयर अफ द टूर्नामेन्ट 'मा चुनिएका थिए। उनले ६.७२ को इकोनोमी र १४.९३ को औषतमा १५ विकेट लिनुका साथै ७ इनिङ्समा ४ मा अविजित रहि ४१ रन बनाएका थिए। बलिङका साथै कर्णाली याक्ससँगको समूहचरणको खेलमा उनले १४ बलमै १ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाएका थिए।
गत वर्षको यात्रामा ट्रम्पलमेन लुम्बिनी लायन्सले खेलेको सबै १० खेल खेलेका थिए। सुदुरपश्चिम रोयल्स सगको फाइनलमा उनी ‘प्लेयर अफ द फाइनल'पनि बनेका थिए। उनले फाइनलमा २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिएका थिए। ट्रम्पलमनले आफ्नो पहिलो २ ओभरमा विनोद भण्डारी र शेल्डन ज्याक्सनलाई आउट गरी लुम्बिनी लायन्सलाई उपाधिको नजिक पुर्याएका थिए।
‘हामी रुबेन ट्रम्पलमनलाई लुम्बिनी लायन्समा पुनः भित्राउदै उपाधि रक्षा अभियान सुरु गरेका छौं, उनी जस्ता खेलाडीसँगको सम्झौता नवीकरण गर्न केवल औपचारिकतामात्र बाँकी थियो। हामी लिगेसीलाई निरन्तरता दिन चाहान्छौं।' लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले भने।
ट्रम्पलमेनले युएईको आइएल टी–२० लिग र क्यानडाको ग्लोबल टी–२० लिगमा पनि खेलेका छन्। ट्रम्पलमेन हाल नामिबियाबाट प्रतिनिधित्व गर्दै नेदरल्यान्ड्समा नेदरल्यान्ड्स र नेपालसँग क्रिकेट विश्वकप लिग २ खेलिरहेका छन्। ट्रम्पलमेनले नामिबियाबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रियमा ७७ र ५४ टी–२० अन्तर्राष्ट्रियमा ५४ विकेट लिएका छन्।
साविक विजेता लुम्बिनी लायन्सले मार्की एवंम कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई ‘रिटेन’ गरेको थियो। त्यस्तै अक्सनबाट लुम्बिनी लायन्सले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो।
प्रतिक्रिया दिनुहोस !