प्रहरीमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
राजविराज : सप्तरीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद सजाय भएको छ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशबाट खडक नगरपालिका-९ का ४१ वर्षीय पशुपती चौधरी र खडक नगरपालिका-३ का ३७ वर्षीय सागरबाहु भनिने अशोक साहलाई बिहीबार १२ वर्ष कैद सजाय भएको हो।
आरोपितहरूलाई ज्यान मार्ने उद्योगको कसूरमा आठ वर्ष र संगठित अपराधअन्तर्गतको कसूरमा चार वर्ष गरी १२ वर्ष कैद सजाय भएको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताए।
चौधरी नेपाली सेनामा १० वर्षसम्म कार्यरत रही भलिबलका राष्ट्रिय खेलाडी रहिसकेका थिए। नेपाली सेना छाडेपछि उनी सशस्त्र समूहमा संलग्न रहेको प्रहरीको दावी छ।
खडक नगरपालिका-८ बिसनपुर चोकमा ०७५ माघ २ गते राति गस्तीमा रहेका बेला प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका-६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार यादवमाथि गोली प्रहार भएको थियो।
घटनास्थलमा सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशील तराई मुक्ति मोर्चाको पर्चा र गोलीको खोका भेटिएको थियो।
काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पीडितको शल्यक्रिया गरी गोली निकालेर उपचार भएको छ। पीडितको कम्मरभन्दा मुनिको भाग चल्दैन।
प्रहरीले चौधरीलाई ०७५ माघ ७ गते हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी व्यारेजबाट पक्राउ गरेको थियो।
जिल्ला अदालतको आदेशमा आरोपित चौधरी २०७७ चैत १२ गतेदेखि पुर्पक्षमा लागि राजविराज कारागारमा थुनामा छन्।
जिल्ला अदालतमा २०७८ असार २९ गते हाजिर भएकै दिन साहलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो। आरोपितले धरौटी रकम बुझाउन नसकेपछि थुनामा छन्।
अन्य आरोपितहरू सिरहा धनगढीमाई नगरपालिका-५ का २६ वर्षीय सिजन भनिने रामकुमार यादव र भारत बिहार राज्य मधुबनी जिल्ला अनुमण्डल फुलप्रासका ३३ वर्षीय साकिर मियाँविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ।
आरोपितहरु सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशील तराई मुक्ति मोर्चाको कार्यकर्ता रहेको प्रहरीको दावी छ।
घटनामा आरोपित भनिएका सुरुङ्गा नगरपालिका-६ कडरबोनाका ३० वर्षीय दिपेश जायसवाल भनिने दिपेन्द्र चौधरीलाई प्रहरीले २०७५ माघ ९ गते विहान रूपनी गाउँपालिका-१ स्थित राजविराज आउने सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको थियो।
मृतकको साथबाट प्रगतिशील तराई मुक्ती मोर्चाको पर्चा, कटुवा पेस्तोल र गोली फेला परेको भन्दै प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको थियो।
चौधरीका परिवारका सदस्य, गाउँलेहरू र राजपा नेपाल आबद्ध राष्ट्रिय विद्यार्थी संघले प्रहरीले नियन्त्रणमा लिएर मुठभेंडको नाटक मञ्चन गरी हत्या गरेको भन्दै २०७५ माघ १० गते राजविराजमा प्रदर्शन गरेको थियो।
आरोपितहरुमाथि २०७२ पुस २० गते राजगढ गाउँपालिकाको नर्घोस्थित झौराहा चोकमा झुटकी प्रहरी चौकीका असई रमेश सुब्बाको गोली हानी हत्या गरेको, २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडरबोनाको गाडीलाई लक्षित गरी प्रेसर कुकर बम विस्फोट गराएको, २०७४ असोज २४ गते सुरुंगा नगरपालिका-६ स्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षा गार्ड नवराज कोइरालाको गोली हानी घाइते बनाएको लगायतका घटनामा संलग्नता रहेको प्रहरीको आरोप छ।
जनता नि.मा.वि.मा जुवा खेलाउँदै गरेको भन्दै प्रहरीलाई गलत सूचना दिएपछि त्यसतर्फ जाँदै गरेको प्रहरी चढेको भ्यानलाई पोखरीको डिलको साँघुरो कच्ची बाटोमा पुग्दा प्रेसर कुकर बम विष्फोट गराई क्षति पुर्याएको थियो।
लगत्तै मोबाइलबाट प्रहरी प्रमुखको नम्बरमा ‘प्रगतिशील तराई मुक्ति मोर्चा जिन्दावाद, यो घटनाको जिम्मा हाम्रो’ भन्ने व्योहोराको म्यासेज प्राप्त भएको थियो।
उक्त घटनापछि २०७४ भदौ ७ गते सुरुंगा-६ स्थित त्रियुगा डिष्ट्रीलरीका प्रबन्धकलाई फोनमार्फत् प्रगतिशील तराई मुक्ति मोर्चाको सिजन भन्ने व्यक्तिले फोन गरी ‘इलाका प्रहरी कार्यालय कडरबोनाको गाडी उडाएको थाहा छैन ? विचार गर्नु होला’ भन्दै चन्दा मागेको प्रहरीले जनाएको थियो। त्यसपछि त्यही डिष्ट्रिलरीका सुरक्षा गार्ड मोरङ घर भएका कोइरालालाई ड्युटीमा रहेका बेला गोली प्रहार गरी घाइते बनाइएको थियो।
असई सुव्वालाई गोली हानी हत्या गरेको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो।
सोही समूहबाट छुट्टिएका व्यक्तिहरूले नै प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूह बनाएर सशस्त्र गतिविधि गरिरहेको प्रहरीको अनुमान छ।