क्यान्सर : लागेपछि होइन, नलाग्दै होसियार

धूमपान नगर्ने मानिसको तुलनामा धूमपान गर्ने मानिसहरूमा फोक्सोको क्यान्सर हुने वा मृत्यु हुने सम्भावना १५ देखि ३० गुणा बढी हुन्छ।

क्यान्सर : लागेपछि होइन, नलाग्दै होसियार

उपचारभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ। त्यसैले आउनुहोस्, आजै एउटा वाचा गरौं, क्यान्सरको मुख्य कारक तत्वका रूपमा रहेको सुर्तीजन्य पदार्थको रोकथाममा पहल गरौं।

सुर्तीजन्य पदार्थ सेवन र क्यान्सर पर्यायवाची शब्द जस्तै हुन् भन्दा खासै फरक नपर्ला। यसैगरी, क्यान्सर र आर्थिक भार ! काठमाडौं निवासी ६३ वर्षीय शैलेश ताम्राकार (नाम परिवर्तन), सेवा निवृत्त प्राध्यापक हुन्। जो फोक्सोको क्यान्सरको सिकार बनेका छन्।

श्रीमती र दुई सन्तानसहित उनको परिवार शिक्षित र सम्पन्न छ। मासिक आम्दानी उनले पाउने पेन्सनबापतको ४० हजार छ। उनी दैनिक रूपमा नभई जमघट र पार्टीमा घुलमिल हुन धूमपान गर्ने गर्थे। यद्यपि उनलाई सन् २०१७ मै फोक्सोको क्यान्सर भएको थाहा भयो।

जुन तेस्रो स्टेजमा पुगिसकेको थियो। उनलाई पेटमा दुखाइ र कठिनाइ भयो। उपचारका क्रममा नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रका क्यान्सर विशेषज्ञले क्यान्सरको पुष्टि गरेका थिए।

अध्ययनको समयमा उनले १२ चरणको किमोथेरापी पूरा गरिसकेका थिए। जसका कारण भोग्नु परेका दुःख–कष्ट अन्य समस्या साथै उनको परिवारले भोग्नु परेका समस्या थिए।

अर्कोतिर क्यान्सरले उनको व्यक्तिगत र सामाजिक जीवनलाई मात्र असर गरेको थिएन, उनको आर्थिक जीवन झन् कष्टदायी बन्दै थियो। त्यतिञ्जेलसम्म उनको १८–२० लाख खर्च भइसकेको थियो। उनलाई लागेको क्यान्सर पूर्णतया उपचार नहुने प्रकारको हो। जसलाई नियन्त्रणमा राख्नमात्र मिल्छ। क्यान्सरको गाँठोको आकार घटेको जाँच्न प्रत्येक दुई महिनामा औषधि र सिटी स्क्यानमा खर्च हुने गर्छ। उनलाई क्यान्सरले गर्दा ग्लानी थियो।

चुरोट खाएकोमा तिक्तता थियो। क्यान्सर नभएको भए यो खर्च अन्य लाभकारी कार्यहरूमा लगानी गर्न सकिने धारणा उनको छ। यसरी उनको भावी खर्चहरूको कुनै लेखाजोखा थिएन। जबसम्म जीवन छ, व्यक्तिगत, सामाजिक र आर्थिक सकसपूर्ण दिनचर्या उनको छ।

अलि सम्पन्न परिवारको मान्छेलाई त क्यान्सरमा लाग्ने आर्थिक खर्चले सही नसक्नु बनाउँछ भने एउटा सामान्य परिवार र निम्न आय भएका परिवारमा यसको अवस्था कस्तो होला ? सन् २०१९ मा गरिएको एक सर्वेक्षणअनुसार नेपालमा धूमपान गर्नेहरूमा निम्न आय भएका व्यक्तिहरू नै अग्रस्थानमा छन्।

जसलाई दिनभरि मजदुरी गरेर बिहान साँझ छाक टार्न हम्मेहम्मे पर्छ। अब सोच्नुस्, उनीहरूलाई यदि क्यान्सरजस्तो घातक रोग लागेको खण्डमा उपचार कसरी गर्ने होला ? जसको परिवार उनैसँग आश्रित छ भने उनीहरूको हालत के हुन्छ ? पछि पछुताएर उपचारपश्चात् निको हुने रोग होइन यो।

राम्रो उपचार पाए वा अगाडिकै स्टेजमा थाहा पाएको खण्डमा मात्र निको हुन्छ यो रोग। तर के त्यसका लागि निम्न आय भएका व्यक्तिहरूले क्यान्सरको लडाइँ लड्न सक्छन् त ? सरकारले विपन्न नागरिक कोषबाट दिने एक लाख त छेउटुप्पो पनि हुँदैन।

अध्ययनका क्रममा भेटिएका सबैजसो क्यान्सर पीडितको हालत अनि पीडा खासै फरक थिएन। झापा घर भई काठमाडौं बस्दै आएका ४६ वर्षीय दिवस थापा (नाम परिवर्तन) मुखको क्यान्सर पीडित छन्। क्यान्सरको कारण हो, चुरोट अनि सुर्ती।

उनलाई सन् २०२० मा मुखको क्यान्सर तेस्रो स्टेजमा रहेको थाहा लागेको हो। बिरामीका कारण उनको र परिवारको जीवनशैली खस्कँदै गएको थियो। उनको उपचार सुरु भएको ५–६ महिनामात्रै भए पनि खर्च भने ७–८ लाख भएको थियो। मुखको उपचार भएकाले उनी बोल्नसमेत सक्दैनथे।

उनकी श्रीमतीसमेतले समय दिनुपर्ने थियो। जसका कारण व्यापार नै ठप्प भयो। अन्य पीडितको कहानी झन् कहालीलाग्दो थियो। कत्तिको त उपचारमा भएको अलिअलि घरजग्गासमेत सकिएको पीडा छ।

निको नहुने अवस्थामा पुगेको पीडा, कत्तिको भावी उपचारका लागि आयस्रोत नभएको पीडा, ऋण लिन मिल्ने सबैसँग ऋण लिँदा पनि उपचार खर्च नपुगेको पीडा र त्यसलाई कसरी चुक्ता गर्ने भन्ने अर्को सकस ! क्यान्सरको उपचारको प्रत्यक्ष खर्च मात्रै पनि नेपालीको औसत आयुभन्दा धेरै माथि छ।

यसमा अप्रत्यक्ष खर्च पनि जोड्दा त एउटा सामान्य तथा निम्न आयवर्गका मानिसलाई ठूलो आर्थिक अभाव निम्त्याउँछ। भक्तपुर क्यान्सर अस्पतालमा गरिएको सर्वेक्षणमा ८ सय ६५ मध्ये ७ सय ८५ ले उपचार खर्च जुटाउन ऋण लिएका थिए।

जसमा ४ सय ८५ जनाले आफूसँग भएको सम्पत्तिसमेत बेच्न बाध्य भएको पाइएको थियो। यसरी क्यान्सर लागेको खण्डमा यसले व्यक्तिको सम्पत्तिमात्र नास गर्दैन, व्यक्तिलाई सामाजिक र मानसिक तवरले पनि उत्तिकै कमजोर बनाउँछ।

हामी सबैले सुर्तीजन्य पदार्थलाई त्यागौं, अरूलाई पनि त्याग्न प्रोत्साहन गरौं। नीति नियम तोडेमा खबरदारी पनि गरौं। सबै तहका सरकारलाई नीति कार्यान्वयनका लागि दबाब दिऔं।

यसरी क्यान्सरलगायत दीर्घकालीन रोगका कारण बिरामी र उसको परिवारमा तनाव, चिन्ता, उदासीनता थप्ने गर्छ।

क्यान्सरका उपचाररत बिरामीहरू दुर्बलताका कारण पेसामा संलग्न हुन सक्दैनन् साथै दीर्घकालीन रोग भएका बिरामीको आत्मविश्वास र आत्मबल कम हुने र उपचारका क्रममा हुने अनवरत तनावका कारण मनोवैज्ञानिक जोखिम ज्यादा रहने देखिएको छ।

यस्ता मानसिक र मनोवैज्ञानिक तनाव नेपालका विपन्न वर्गका बिरामीहरूमा अझै प्रगाढ देखिन्छ। अझै उनीहरू विभिन लाञ्छनासहितका जोखिमपूर्ण सामाजिक वातावरणका पीडित भएको पाइएको छ।

यस्ता रोगको उपचारमा हुने बृहत् खर्चका कारण परिवारको जीवनका विभिन्न पाटोहरूलाई असर गर्छ। फलस्वरूप अर्को पिँढीका बालबच्चामा पनि नकारात्मक असर पुग्छ। कमजोर पारिवारिक अवस्थाका कारण ती परिवारका बालबच्चाहरू अक्सर विद्यालय नजाने गरेको र सानै उमेरदेखि पैसा कमाउनतिर लाग्ने गरेको पाइएको छ।

हरेक वर्षको फेब्रुअरी ४ मा विश्वका सबै देशमा ‘वल्र्ड क्यान्सर डे’ मनाइन्छ। नेपालीमा ‘विश्व अर्बुद दिवस’ भनेर मनाइँदै आएको छ। क्यान्सरको विश्वव्यापी चेतना जगाउन, यसको रोकथाम गर्न, छिट्टै पत्ता लगाउन र उपचारलाई प्रोत्साहित गर्न वार्षिक रूपमा यो दिनमा यो दिवस मनाउने गरिन्छ। यसले जनचेतना जगाउनेदेखि उपचार के कसरी गर्नेसम्मका विषय र सन्दर्भ जनमानसमा पुग्ने गर्छ।

विश्व क्यान्सर दिवसको यो वर्षको मुख्य नारा ‘क्लोज दि केयर ग्याप’ अर्थात् विश्वव्यापी रूपमा क्यान्सर हेरचाहमा रहेको असमानताहरू बुझ्न र पहिचान गर्नेबारे थियो। यद्यपि, यो सन् २०२२ देखि २०२४ सम्मको अभियान हो। नेपालजस्ता न्यून आय भएका देशहरूमा, क्यान्सरको प्रकोप र राम्रो स्वास्थ्य सेवा वित्तीयको अभावले क्यान्सरका बिरामीहरूले ठूलो आर्थिक भार खेप्नु परिरहेको छ।

अन्य निम्न तथा मध्यम आयवर्गीय राष्ट्रहरू जस्तै नेपालमा पनि क्यान्सरजस्ता दीर्घकालीन रोगहरू लागेको अवस्था छ। जुन जोखिमपूर्ण छन्। यस्तो अवस्थामा स्वास्थ्य सेवाहरू प्रयोग गर्ने वित्तीय जोखिमबाट जनतालाई जोगाउन जरुरी छ। तर, नेपालमा स्वास्थ्य सेवा वित्तीयको पर्याप्त विकास हुन सकेको छैन।

अर्कोतिर स्वास्थ्य बिमा पनि सबैका लागि सजिलै उपलब्ध छैन। नेपालमा अन्य क्यान्सरभन्दा फोक्सोको क्यान्सर अग्रस्थानमा रहेको पाइन्छ। फोक्सोको क्यान्सरलगायत अन्य क्यान्सरको मुख्य कारक तत्वमा सुर्तीजन्य पदार्थ नै हो। नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको संख्या अत्यन्तै ज्यादा अर्थात् ३२ प्रतिशत रहेको छ। अध्ययनका अनुसार धूमपान गर्नेमध्ये ११ देखि २४ प्रतिशतलाई फोक्सोको क्यान्सर लाग्छ।

धूमपान नगर्ने मानिसको तुलनामा धूमपान गर्ने मानिसहरूमा फोक्सोको क्यान्सर हुने वा मृत्यु हुने सम्भावना १५ देखि ३० गुणा बढी हुन्छ। १० जना फोक्सोको क्यान्सर लागेकामध्ये ९ जनाको निधनको कारण धूमपान नै हो। साथै सेकेन्ड ह्यान्ड स्मोकिङ (जसलाई हामी अप्रत्यक्ष धूमपान पनि भन्छौं) का कारण हुने अनुसन्धानले देखाउँछ।

दिनमा थोरै अथवा कहिलेकाहीँ धूमपान गर्दा पनि फोक्सोको क्यान्सरको जोखिम बढ्छ। सुर्तीजन्य पदार्थका कारण फोक्सोको क्यान्सर हुन्छ। हामी जो कोहीलाई पनि थाहा छ। तर सुर्तीजन्य पदार्थले फोक्सोको क्यान्सर मात्र नभई यसले शरीरको जुनसुकै भागमा पनि क्यान्सर निम्त्याउन सक्छ भन्ने कुरा जो कोहीलाई थाहा नहुन पनि सक्छ।

यसले फोक्सोलगायत मुख, घाँटी, भ्वाइस बक्स, अन्न नली, पेट, मिर्गौला, प्यान्क्रियाज, कलेजो, पिसाब नली, पाठेघर, आन्द्रा र मलाशयको क्यान्सर, रक्तनलीको क्यान्सरसहित २० प्रकारको क्यान्सर गराउँछ। स्वास्थ्य सेवा वित्तीयको अभावमा रोगको निदान तथा उपचारका लागि बिरामी आफैंले आफ्नै खल्तीबाट उपचार खर्च जुटाउनुपर्ने हुन्छ। उपचारमा सबैको पहुँच नहुने नेपालमा रोकथामका लागि बनाइएका नीति नियमहरूको समेत प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन। 

क्यान्सरको प्रमुख कारक तत्वको रूपमा रहेको सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणका लागि प्रशस्त नीति नियमहरू बनेका छन् तर, सबै कागजमा मात्र सीमित छन्। बर्सेनि ३७ हजार ५ सयभन्दा धेरैको ज्यान लिने सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा राज्यको ध्यान नजानु सामान्य अवस्था होइन। साथै बन्द भएका चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउने सरकारको कदमले जनस्वास्थ्यप्रति सरकारको दायित्वमा सिधै प्रश्न खडा गर्छ।

सबै नागरिकमा समान स्वास्थ्य सेवामा पहुँच परको कुरा भएको नीति नियमलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता हो। यसरी मात्रै पनि क्यान्सरजस्ता प्राणघातक रोग लाग्नबाट धेरैलाई बचाउन सकिन्छ भने राज्यको आर्थिक क्षति पनि न्यून हुन जान्छ।

यसका लागि पहिला त राज्य आफैँ जिम्मेवार भई प्रभावकारी कदम चाल्नु अत्यन्तै जरुरी छ। साथै नागरिक, नागरिक समाज, गैरसरकारी निकाय, साथै सञ्चारमाध्यमले पनि सरकारलाई दबाब दिन अत्यन्तै जरुरी छ।

उपचारभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ। त्यसैले आउनुहोस्, आजै एउटा वाचा गरौं, क्यान्सरको मुख्य कारक तत्वका रूपमा रहेको सुर्तीजन्य पदार्थको रोकथाममा पहल गरौं। आफू पनि यसलाई त्यागौं, अरूलाई पनि त्याग्न प्रोत्साहन गरौं। नीति नियम तोडेमा खबरदारी पनि गरौं। सबै तहका सरकारलाई नीति कार्यान्वयनका लागि दबाब दिउँ। यसरी स्वस्थ समाजको निर्माणमा सहयोग गरौं ! 
(लामिछाने, नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा कार्यरत अनुसन्धानकर्ता हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.