नेवारी संस्कृतिले मधेश जोड्दै
काठमाडौं : मधेश आन्दोलनपछि तीव्र विकास भएको ठाउँ हो महोत्तरीको बर्दिबास। जहाँ मधेशी-पहाडी समूदायको मिश्रित बस्ती छ। अन्य जाति जस्तै यहाँ नेवार जातिको पनि बसोबास छ। हरेक वर्ष नेवारहरूले सामूहिक रूपमा गर्ने कन्याहरूको ईही (बेल विवाह) र बटुकहरूको क्यौता-पूजा( ब्रतबन्ध )ले सबैको ध्यान तान्ने गरेको छ।
यस वर्ष पनि बर्दिबासस्थित पञ्चधुरा माइस्थान मन्दिरमा ईहि र क्यौता पूजाको आयोजना गरिएको थियो। जसले बर्दिबास क्षेत्रमा बसोबास गर्ने नेवार जातिलाई भेटघाटको माहौल बनाएको थियो भने प्रसाद ग्रहण गर्न जानेहरूलाई नेवार संस्कृतिबारे बुझ्न मौका मिलेको थियो।
‘हाम्रा नेवारी संस्कृति समृद्ध छ। तर, नयाँ पुस्तालाई जानकारी नहुँदा संस्कृति मासिने खतरा पनि उत्तिकै देखिन्छ। यी सबैलाई महसुस गरेर हामीले सामूहिक रुपमा ईही र क्यौता पूजाको आयोजन गर्दै आएका छौं ’, बर्दिबास नेवाः समाजका अध्यक्ष धन नारायण श्रेष्ठले भने, ‘स्थानीय सरकारका प्रतिनिधि, समाजमा बुद्धिजीविहरूलाई बोलाएर हामीले हाम्रो नेवारी संस्कृति,पहिरन, गीतसंगीतका बारेमा जानकारी गराउँछौं।’
नेवारी भाषा, संस्कृति र साहित्यलाई संरक्षण गर्न उनले स्थानीय सरकारसँग कार्यक्रम माग गरेको बताए।
बर्दिबास क्षेत्रमा अरू भन्दा कम संख्यामा रहेको नेवार जातिको संरक्षण, सम्बर्द्धन र विकासका लागि ‘बर्दिबास नेवाः समाज’ स्थापना गरिएको छ। यसैबीच यो संस्थाको सातौं साधारणसभाको आयोजन गरिएको थियो ।
बर्दिबास नगरपालिका मेयर प्रह्लाकुमार क्षेत्रीले नेवाः संस्कृतिसँग आफू नजिक भएर भिजेकाले नेवाः संस्कृतिको विकास र प्रवर्द्धनमा नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताए।