राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्रलाई

राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्रलाई
सुन्नुहोस्

मलंगवा : सर्लाहीको बागमती नगरपालिकामा जारी सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब काठमाडौंले जितेको छ। 

बागमती नगरपालिका वडा नं. ११ मा रहेको स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मछिन्द्रले जावलाखेल युथ क्लब ललितपुरलाई २-१ ले पराजित गर्दै उपाधि चुमेको हो। ा

मछिन्द्रका लागि खेलको ३० औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरेका थिए। जावलाखेलका डिफेन्डर आदित्य चौधरीले मछिन्द्रका अभिषेक गुरुङलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीको अवसरलाई मगरले सदुपयोग गर्दै बल जाली चुमाउँदै टिमलाई अग्रता दिलाएका थिए। 

५३ औं मिनेटमा मछिन्द्रका क्याप्टेन सुजल श्रेष्ठले प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्केको थियो। डिबक्स नजिकैबाट प्रहार गरेको बल बारमा लाग्न पुगेको थियो।

खेलको ८० औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले डिबक्सको कर्नरबाट प्रहार गरेको बल जावलाखेलको गोल किपर अनिश देउला उछिट्याए पछि पाएको बललाई क्याप्टेन सुजल श्रेष्ठले डिबक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि मछिन्द्रले २–० को अग्रता पाएको थियो। 

त्यसैगरी खेलको अन्तिम समय ८४ औं मिनेटमा मछिन्द्रका गोल किपर बिशाल श्रेष्ठले डिफेन्डर दिवाकर चौधरीलाई डिबक्स भित्रै दिएको पास पुनः चौधरीले किपर श्रेष्ठलाई फर्काउन खोज्दा बीचमै पाएका बललाई जावलाखेलका बिनोद केसीले जाली चुमाउन सफल भएका थिए। केसीले गरेका गोलनै जावलाखेलका लागि पहिलो र अन्तिम साबित भएको थियो। 

जितसँगै मछिन्द्रले नगद १० लाख र शिल्ड हात पारेको छ। प्रतियोगिताको उपविजेता बन्दै जावलाखेलले ५ लाख पाएको छ।

खेलको म्यान अफ द म्याच मछिन्द्रका क्याप्टेन सुजल श्रेष्ठलाई प्रदान गरिएको छ। श्रेष्ठ ट्रफी सहित नगद सहित १० हजार पाएका छन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागमती युवा क्लबका सृजन गौतम भएका छन्। गौतमले ट्रफी सहित नगद ५१ हजार रुपैयाँ पाएका छन्। 

प्रतियोगिताको उत्कृष्ट किपर मछिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्टर जावलाखेलका सिमान्त थापा, उत्कृष्ट मिड फिल्डर जावलाखेलका समिराज ठोकर, उत्कृष्ट स्ट्राइकर मछिन्द्रका विमल घर्ती मगर, उत्कृष्ट कोच मछिन्द्रकै प्रवेश कटुवाल भएका छन्। 

हरेक विद्यामा उत्कृष्ट भएका खेलाडीलाई जनही नगद २५ हजार र ट्रफी प्रदान गरिएको छ। त्यसैगरी प्रतियोगिताको उदयमान खेलाडीको उपाधि बागमती युवा क्लबका अभिषेक वाइवा भएका छन्। 

वाइवाले २०० सिसिका मोटरसाइकल पाएको बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिएका छन्। माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी दुई विभागीयसहित १२ वटा टिमको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.