हाइक फर साल्मेडाँडा

पोखरा : पहिलो र दोस्रो विश्वयुद्धमा कति नेपाली मारिए ? कति बेपत्ता भए ? बेपत्ता हुने र मारिनेको रेकर्ड न त्यति बेला नेपालीले भाग लिएको बेलायती पक्षले दियो न नेपाल सरकारसँग थियो।
गोरखा भूतपूर्व सैनिकहरू भने कम्तीमा ६० हजार नेपाली ती दुई महायुद्धमा हराएको बताउँछन्। त्यसरी मारिएका र हराएका गोर्खाली सैनिकको सम्झनामा पोखरा नजिकै एउटा स्मारक बनिरहेको छ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले पोखराबाट जम्मा ९ किलोमिटर पश्चिम स्याङ्जाको फेदीखोलास्थित साल्मेडाँडामा गोर्खा स्मारक बनाइरहेको हो। विश्वयुद्धमा मारिएका र हराएका नेपालीको आत्माको चिरशान्तिको कामनासहितका पूजाआजा यहाँ विभिन्न दुई दर्जन धार्मिक परम्पराअनुसार भइरहेको छ। यहाँ अब गोर्खालीका इतिहास झल्काउने अरू थुप्रै अध्ययन सामग्रीको जोरजाम पनि हुँदैछ।
इतिहासको सम्झना र सम्मानका खातिर स्थापित स्मारक पर्यटकीय गन्तव्यको सम्भवना छ। त्यही सम्भावना उजागर गर्न बेलायतदेखि एउटा टोली केही दिनअघि यहाँ आइपुगेको थियो। जसले गोर्खा स्मारक र छेउछाउका गाउँहरू मट्टिखान, अयरपानी, रामकोटको पनि पर्यटकीय प्रबद्र्धनका लागि पैदलयात्रा गरेको थियो। जसलाई नाम दिइएको थियो—‘हाइक फर नेपाल’। पोखरेली मञ्च यूके, वी विल राइज फाउन्डेसन र फेदीखोला यूके समाजको अगुवाइमा भएको हाइकिङमा बेलायतबाट आएकाहरूको ठूलो संख्यामा सहभागिता रहेको वी विल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए । हाइकिङमा पोखराका समाजसेवी, अगुवा पनि सहभागी थिए। बेलायतमा बस्ने नेपालीहरूले खोलेका विभिन्न संघसंस्थाका पदाधिकारीको पनि सहभागिता उच्च थियो।
हाइकिङ र गोरखा स्मारक निर्माणमा हौसला दिन बेलायतको बे्रकन टाउनका मेयर डेनिड मेरिडिथ पनि आइपुगेका थिए। गाउँको पर्यटन प्रचारकै निम्ति हाइकिङ गरिएको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिए।
अयरपानी होमस्टेमा बास बसेको टोलीले बाजागाजासहित मट्टिखान डाँडाबाट रामकोट हुँदै साल्मेडाँडासम्म पदयात्रा गरेको थियो। गोरखा स्मारकले इतिहास सम्झाउन उत्प्रेरित फेदीखोलाको यो ठाउँबाट अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमशृंखलाको मनोरम दृश्य देखिन्छ। गुरुङ संस्कृति र परम्परायुक्त गाउँमा होमस्टे सुविधा पनि छ।
फेदीखोला समाज यूकेका अध्यक्ष हरि गुरुङले साल्मेडाँडामा पर्यटक ल्याउन सके बिस्तारै आफैं फस्टाउन सक्ने बताए। साल्मेडाँडाको नाम सुने पनि यसको अवस्थितिबारे थाहा नपाउनु प्रचारकै कमी भएको भन्दै उनले प्रचारमा ध्यान दिन जोड दिए। हाइकिङ गर्नुअघि स्याङ्जाको पुरानो सदरमुकाम नुवाकोटमा पुगेको थियो।
नुवाकोटको पुरानो दरबारको भग्नावशेष, कालभैरवको मन्दिर अवलोकन गरिएको पोखरेली समाज यूकेका अध्यक्ष करम गुरुङले बताए। सदरमुकाम सरेपछि उजाडिएको उक्त ठाउँको पुनर्उत्थानका लागि काम थाल्नुपर्ने उनको सुझाव थियो।
प्रतिक्रिया दिनुहोस !
