महोत्तरीमा दुई जना पक्राउ
महोत्तरी : महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ।
बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो।
साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने क्रममा पण्डित पक्राउ परेका हुन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास स्रोतले जनाएको छ।
महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। एकडारा गाउँपालिका-५ बहेरा गाउँका ५१ वर्षीय नवल किशोर मण्डल साढे ४ किलो गाँजासहित घरबाटै पक्राउ परेका हुन्।
घरबाटै गाँजाको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घर अगाडि आँगनमा सेतो प्लाष्टिकको बोराभित्र ३ किलो लागूऔषध गाँजा, सेतो प्लाष्टिकको झोला भित्र १ किलो १०० ग्राम र कालो प्लाष्टिकको झोला भित्र ४ सय ग्राम गरी सो परिमाणको गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी सन्तोष पोखरेलले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पोखरेलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !