गुन्द्रुकबाट समृद्धि खोज्दै रोङ
इलाम: दुई हप्ता अघिसम्म इलामका पुर्वी गाउँका बारी रायोको सागले भरिएका थिए। अहिले यो सिजनको साग मैजारोको चरणमा पुगेको छ। यही सागको खेतीबाट किसानले वर्षभर पुग्ने अन्न जोहो गर्दछन्। कतिपय गाउँमा आफूले प्रयोग गर्ने,गुन्द्रक बनाउने बाहेक गाईवस्तुलाई खुवाएरै सकिन्छ।
यसरी खेर जाने सागलाई इलामको रोङ गाउँपालिकाले आयआर्जनको माध्यम बनाउन थालेको छ। आधुनिक प्रविधिकोको प्रयोगमार्फत गुन्द्रुकको व्यावसायिक उत्पादन सुरु भएको छ।
देवनछापा सानाकिसान कृषि सहकारी रोङ ५ का अध्यक्ष बमबहादुर राई भन्छन्, ‘सुरुमा सागको मूल्य आउँछ, झापाको बजारमा राम्रो बिक्छ,उत्पादन बढि भएपछि ढुवानी भाडा पनि उठ्दैन थियो।’ उनका अनुसार यसपटक रोङका धेरै गाउँको साग गाउँपालिका,देवनछाप कृषि सहकारी र दाताको सहयोगमा सुरु गरेको गुन्द्रक बनाउने उद्योगमा प्रशोधन भयो।
५० हजार किलो हरियो साग, डुकु प्रशोधन गरेर गुन्द्रक बनाएको देवनछाप कृषि सहकारीका अध्यक्ष राईले बताए।
तुलनात्मक रुपमा कम लगानी हुने साग उत्पादन व्यवसायबाट किसानको हातमा उत्पादन लागत भन्दा राम्रो मूल्य प्राप्त हुने भएकाले पनि साग उत्पादन गर्न प्रोत्साहन गर्ने र सहकारीमार्फत गुन्द्रुक उद्योग सञ्चालन गरेर थप रोजगारी र्सिजना गर्न गुन्द्रक उद्योगको काम थालेको रोङ गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले बताए।
रोङ गाउँपालिकाले सुरु गरेको गुन्द्रक उद्योगको सिको अरु स्थानीय निकायले पनि गर्नुपर्ने सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए। राईले भने, ‘स्थानीय कृषि उपज प्रशोधन र बजारीकरणमा रोङले जस्तै काम गर्नु पर्ने सन्देश रोङको गुन्द्रक उद्योगले दिएको छ।’
रोङ गाउँपालिकाले यो सिजनमा चार सय किलो गुन्द्रुक उत्पादन गरेर भण्डारण गरेको छ। अध्यक्ष स्याङ्बोले भने, ‘अब ब्राण्डिङ, प्याकेजिङ गरेर बजारमा पठाइन्छ।’
अहिले चिया प्रशोधन कारखाना भाडामा लिएर गुन्द्रुक बनाउन थालेको उनले बताए। अर्को वर्ष किसानले आफ्नै गुन्द्रक कारखाना निमार्ण गर्ने उनले बताए। त्यसका लागि गाउँपालिकाले पहल थालेको राईले बताए।
गुन्द्रुकको परीक्षण गरिँदै
उद्योगका लागि रोङ गाउँपालिकाले १७ लाख ६० हजार, देवनछापा सानाकिसान कृषि सहकारीको १५ लाख ३० हजार र नेपाल कृषिबजार विकास कार्यक्रमको (सहज)को ३४ लाख ४५ हजारको लागतमा उद्योग स्थापना भएपछि गाउँपालिका भित्र उत्पादन हुने सागले बजार पाउने विश्वास गरिएको छ। गुन्द्रुक, सिन्की उत्पादन तथा ब्राण्डिङ गर्न परियोजनाले मेसिनरीदेखि ब्राण्डिङसम्मको काम गर्नेछ।
इलामले करिब १० करोड ५१ हजारको साग उत्पादन गर्ने गरेको सरकारी तथ्यांक छ। त्यही सागलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि श्रृंखलामा जोड्न सके नगदे बालीको जिल्ला इलामममा अर्को आम्दानीको स्रोत थपिने राष्ट्रय किसान समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलाल बताउँछन्।
इलामका रोङ गाउँपालिका, सुर्योदय नगरपालिका, इलाम नगरपालिका लगायतका किसानले व्यावसायिक रुपमा सागको खेती गर्ने गरेका छन्। तुसारो र हुस्सुले प्रभाव नपार्ने भएकाले रायोको सागको खेतीमा सबैको आकर्षण बढ्दै गएको छ।
इलाममा वार्षिक १० हजार ५१ दशमलब ९२ मेट्रिक टन उत्पादन हुने गरेको छ। जिल्लाभर ५५२ हेक्टरमा खेती गरेर किसानले प्रति किलो १० रुपैयाँका दरले पनि १० करोड ५१ लाख बराबरको साग वार्षिक उत्पादन गर्ने गरेको कृषि ज्ञान केन्द्र इलामका कृषि प्रशार अधिकृत रुजन खड्काले बताए। इलाममा सागको उत्पादकत्व १८ दशमलव २१ छ । रायो साग असोजदेखि चैतमहिनासम्म उत्पादन हुन्छ।
गुन्द्रुक बजार पुर्याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने र जनता उत्पादन र प्रशोधनसँग जोडिने भएकाले उद्योग चलाएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले गुन्द्रुक उत्पादन अभियान सुरु गरेपछि सबै गाउँलेले समान मूल्य पाएको अध्यक्ष राईले बताए।
गाउँपालिका अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकेजी १० रुपैयाँ निर्धारण गरेको छ। साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था मिलाइएको छ। त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ।
यही महिनादेखि बजार पुर्याउने तयारीमा रहेको गाउँपालिका अनुज्ञा पत्र लिनेदेखि उत्पादनको नाम र लोगो निर्धारणको काममा पनि जुटेको छ।
उनले भने ‘देशभरबाट सकारात्मक प्रतिक्रिया आएको छ, यस पटक माग पुरा गर्न सकिँदैन अर्को वर्षदेखि बजारको माग पुरा गर्ने गरी काम हुन्छ।’
गाउँघरमा खाल्डो वा प्लाष्टिकको भाँडोमा हालेर गुन्द्रक सिन्की बनाउने प्रचलन पुरानै हो। रोङ गाउँपालिकाले भने खाद्य प्राविधिक राखेर नै गुन्द्रक उत्पादन गरिरहेको छ। रोङ गाउँपालिकाकी खाद्य प्राविधिक दीक्षा भट्टराई भन्छिन् ‘उत्पादनका हिसाबले पूर्ण रुपमा खान योग्य गुन्द्रुक उत्पादन गरिएको छ ।’
सरसफाई, खाद्य शुरक्षाका दृष्टिले सबै सावधानी अपनाएर गुन्द्रक उत्पादन गरेको उनले बताइन्। उद्योगमा दैनिक २० जनासम्मले काम पाएका छन्। भट्टराईले भनिन्, 'प्रशोधनको काम चाहिँ यो सिजनलाई अब अन्तिम चरणमा पुगेको छ। अब बजारीकरणसम्मको काममा लाग्ने योजना छ।'