आरन व्यवसायीलाई कोइला अभाव

आरन व्यवसायीलाई कोइला अभाव
सुन्नुहोस्

रामपुर : विश्वकर्मा समुदायको पुर्ख्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ। यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो। 

विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो। हिजोआज भने गाउँघरमा पहिलेजसो व्यावसायिक रुपमा आरन चलाउने कमै छन्। 

यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रुपमा आरन धान्ने कम छन्। 

पाल्पाको बगनासकाली गाउँपालिका-९ बगनास बस्ने ४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गरे। 

बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रुपमा धान्दै आएको उनी बताउँछन्। 

गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उनले बताए। 'आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा हिजोआज कोइला पाइन छाड्यो', उनले भने, 'किनेर चलाउनु पर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ।'

उनले अहिले कोइला किनेर दुःखसुखले पुर्खौली व्यवसाय धानिरहेका छन्। हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजार बनाउँछन्।  

पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उनले तयार पार्छन्। उनले न्यूनतम दुई सयदेखि एक हजार तीन सय मूल्यसम्मका सामग्री तयार पारेर बिक्री गर्छन्। उनले यस व्यवसायबाट मासिक ३० हजार बराबरको कमाई गर्दै आएका छन्। 

उनले भने, 'बाउबाजेबाट सीप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रुपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन्।'

अहिले उनले भैसी बाँध्ने गोठमा आरन व्यावसाय चलाइरहेका छन्। व्यवसायमा वेल्डिङ मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न संघसंस्थाबाट उनले सहयोगको अपेक्षा गरेका छन्। सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राखेका छन्।

उनले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहेका छन्। विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्छन्। 
       
उनी वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब सात वर्ष काम गरेर स्वदेश फर्केपछि घरमै बसेर आरन व्यवसायमा रमाइरहेका छन्। 

उनले अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सीप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको अनुभव सुनाए। उनले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सीपलाई व्यावसायिक रुपमा प्रयोग गरिरहेका छन्। 

रामपुर नगरपालिका–५ सुन्दरटोलका ६५ वर्षीय इन्द्रबहादुर विक पनि यस व्यवसायमा संलग्न छन्। उनले घरको एक छेउमा जस्तापाता लगाएको छानोमुनि बसेर आरनको काम गर्छन्। उमेर बुढ्यौलीपन लागे पनि समुदायबाट यो व्यवसाय लोप हुँदै गएकामा उनी चिन्ता व्यक्त गर्छन्। 

विकले यो व्यवसाय साढे चार दशकदेखि निरन्तर धान्दै आएका छन्। घरमै बसेर एक महिनामा २० हजारदेखि ३० हजारसम्म कमाउन सकिने उनले बताए।

उनले हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री बनाउने गर्छन्। 

हातले कुँदेर बनाइएको कोदालो, बञ्चरो आकार हेरेर रु छ सयदेखि एक हजार, हँसिया एकदेखि तीन सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए। 

पहिले गाउँमा प्रशस्त मात्रामा कोइला पाउँदा व्यवसाय सजिलोसँग धानिए पनि अहिले भने कोइला पाउन गाह्रो हुँदा सबैले छाड्दै गएको विक बताउँछन्।

गाउँघरमा भने पछिल्लो समय आरन चलाउने युवा कोही पनि छैनन्। विश्वकर्मा समुदायका पाका पुस्ता आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन्। 

स्थानीय सरकारले कोइला र आरन व्यवसायका लागि आवश्यक पर्ने औजार र छाप्रो व्यवस्थापनमा सहयोग गरिदिए व्यवसायलाई व्यवस्थित बनाउने सम्बद्ध व्यवसायीको माग छ। घरमै बसेर जुनसुकै समय व्यवसाय चल्ने भएकाले यसबाट राम्रै कमाउन सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.