राष्ट्रपतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई मतदान गर्दैछ ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न बिहीबार बिहान बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठकमा छलफलपश्चात आवश्यक निर्णय हुनेछ।
राष्ट्रपतिमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन्।
नेम्बाङका प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक छन्। उनका समर्थकमा एमालेकै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।
पौडेलका प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत नेता अब्दुल खान, जसपा नेता अशोक राई छन्। उनका समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे छन्।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी ८८२ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।
मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ।
निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ। मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन्।
संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !