स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग गर्दै ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी अनसनमा

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै विद्यार्थी नेताहरू अनसनमा बसेका छन् । नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीको नेतृत्वमा विद्यार्थी नेताहरू क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजेदेखि धर्ना दिँदै अनसनमा बसेका हुन् ।
अनसनमा नेविसंघ,अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका छन् ।
स्ववियु निर्वाचन निष्पक्ष र यथावत मितिमै हुनुपर्ने माग राखेर अनसनमा बसेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शिवम साहले बताए ।क्याम्पस प्रशासन र निर्वाचन समितिले अमुक व्यक्तिलाई जिताउने षडयन्त्र गरेको तर, आफूहरूले त्यसको प्रतिवाद गर्दा चुनाव नै भाड्ने षड्यन्त्र गरेको अनसनमा बसेका नेविसंघका नेता मुनराज तिवारीले बताए । उनले चुनाव निर्वाचन समितिले तोकेको चैत ८ मै हुनुपर्ने माग आफूहरूको रहेको बताए ।
यता निर्वाचन समितिले सोमबार साँझ प्रकाशन गरेको मतदाता नामावलीबारे केही विद्यार्थी संघसंगठनले विवाद गरेपछि निर्वाचन समितिले चुनावी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । समस्या सामधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार साँझ ४ बजे सर्वपक्षीय बैठक बोलाईएको छ ।
प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा हुने बैठकमा क्याम्पस प्रमुख,निर्वाचन अधिकृत,राजनीतिक दलका प्रमुख र विद्यार्थी संगठनका प्रतनिधिलाई बोलाइएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
मंगलबार मनोायनपत्र वितरणको कार्यतालिका रहेको भएपनि केही विद्यार्थी संगठनहरूले क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित गरि सर्वपक्षीय बैठकमा आएको लामिछानेले बताए । सर्वपक्षीय बैठकले के निर्णय गर्छ त्यसैको आधारमा अगाडि बढ्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
