सोचबाटै समृद्धि !

चुरो कुरो

सोचबाटै समृद्धि !

सोचबाट संसारको समृद्धि सम्भव छ भने नेपालमा किन हुन्न ? संविधान संशोधन गर्न सकिन्छ भने सोचमा सकिन्न ? नेतृत्वको सोच नपुग्दा ‘डेभलपमेन्ट डिभाइडर’ बढेका छन् ।

खोज्ने त आखिर सबैले परिणाम नै हो। प्रयत्न के के भए ? कस–कसले गर्‍यो ? कति र कसरी काम भयो वा गरियो ? आदि पर्दा पछाडिका विषय हुन्। मूर्त/अमूर्त जे जसरी काम भए पनि परिणामका लागि प्रयत्न भने चाहिन्छ नै। प्रयत्नअघि त्यसका लागि ‘प्लानिङ’ (योजना) चाहिन्छ। बिनायोजना कामले न गति पाउँछ न त परिणाम नै गुणस्तरीय आउँछ। काम थाल्नेदेखि परिणाम पाउनेसम्मका लागि यदि तपाईंसँग सकारात्मक र अर्थपूर्ण ‘सोच’ छ भने हरेक कुरा सम्भव छ र मिल्नेछ गुणस्तरीय परिणाम पनि। सोचकै उपज न हो, विकास र समृद्धि पनि। सोच्नका लागि मानिसले जुन समय र सूत्र प्रयोग गरेका छन्, त्यो पर्याप्त र विवेकपूर्ण नभएरै हो आज देशले सही परिणाम पाउन नसकेको। गतिलो विषय सोच्न त सर्वप्रथम शून्य हुनुपर्छ। सरकारको नेतृत्व सम्हाल्नेहरूसँग यो फुर्सद कहाँ ?

शून्य यस मानेमा कि जसरी जमिन उर्वर बनाएर बिज रोपिन्छ। यस अर्थमा किसान उत्कृष्ट उदाहरण हो। उसले खनजोत गरी डल्ला फुटाएर झारपात हटाउँछ र जमिन उर्वर बनाउँछ। हामी (नागरिकदेखि नेतासम्म)ले पनि मनलाई सर्वप्रथम त्यसैगरी उर्वर बनाउनु पर्छ। मन खनजोत गरी त्यसमा रहेका डल्ला फुटाएर झारपात फाल्नु पर्छ। अर्थात् नचाहिएका सबै कुरा मनबाट उखेलेर फाल्नु पर्छ। ताकि सही सोच्ने र सोचेका विषयलाई पूरा गर्ने क्षमता बनोस्। मनको यो अवस्था उर्वर हो। यसपछि नयाँ लक्ष्य रोप्नु पर्छ। हामी धेरै मानिस आफू असफल हुन्छौं र भन्छौं फलानो कारणले सफल हुन सकिएन। होइन, हुँदै होइन। यो गलत सोचको उपज हो। खासमा त्यसको जिम्मेवार आफैं हो। अरूमा दोष देख्ने प्रवृत्ति उखेल्नु पर्छ।

सडकदेखि आकाशसम्म साम्राज्य जमाउने हैसियत सिंगापुरले कसरी राख्यो ? सबै सही सोचकै उपज होइन ? सिंहदरबारमा पुग्नेहरूले १०० नम्बर ल्याएर म ‘फस्ट’ हुन्छु भन्ने सोच कहिल्यै राखेनन्।

‘अर्काको दोष र अर्काले के गर्‍यो गरेन भनी हेर्नुभन्दा आफ्नो दोष र आफूले के गरें के गरिनँ भन्ने हेर्नु नै वेश हुन्छ’ गौतम बुद्धले पनि भनेका छन्। अधिकांश हामी बुद्धको वाणीलाई उल्ट्याएर व्यवहारमा प्रयोग गर्छौं र बुद्धु बन्छौं। यसरी कसरी पाइन्छ उत्कृष्ट परिणाम ! अरू गलत हुन् भन्ने विचार मनबाट उखेल्नु पर्छ। मन चञ्चल छ भने स्थिर बनाउनु पर्छ। राजनेता न शान्त देखिन्छन् न स्थिर हुन सकेका छन्। सफल हुन ‘कन्सन्ट्रेसन’ चाहिन्छ। मन उर्वर बनाएर लक्ष्य रोपेपछि ध्यानपूर्वक निरन्तर लागि परेमात्र चुम्ने हो, विकास र समृद्धिको शिखर। यसो गर्न सके हाम्रो  (नागरिकदेखि नेतासम्म) जीवनले कोल्टे फेर्छ, नयाँ गति प्राप्त गर्छ। न नेता, न नागरिक, एकाग्रताको अभ्यास नभएसम्म कसैले कुनै काममा सफलता पाउँदैन। नेपालमा भएको पनि यही हो। शून्यमा पुगेर ‘सोच’रूपी बिज रोप्ने कसले ? कहिले ?

राणाशासनको कुरो छोडौं। पञ्चायतकालमा पनि जनअपेक्षा खासै रहेन। आमअपेक्षा तब सुरु भयो, जब जनआन्दोलनपछि २०४६ सालमा नेपालमा बहुदलीय प्रजातन्त्र आयो। जब २०४७ सालमा संविधान जनताले नै लेखे। तर न सुशासन सुरु भयो न त समृद्धिका लागि शुभकार्यहरू नै। राणाकालीन सोच र पञ्चायती सोचभन्दा खासै पृथक् सोच देखिएन प्रजातन्त्रमा पुग्दा पनि। न लोकतन्त्र आउँदा नयाँ सोच आयो न त गणतन्त्र पाउँदा नै। लाग्छ, देशमा न उन्नति छ न प्रगति। जता हेर्‍यो उतै बिग्रेको र अव्यवस्थित। नकारात्मक सोचेर यी शब्द कोरिरहेको छैन, बरु चौतर्फी देखिएका दृश्य केलाएर भनिरहेछु। सूची पेस गर्दा फेहरिस्त उतार्न समय लाग्ला। नागरिकलाई बिग्रे भत्केको देखेर दिक्क लागेको छ तर त्यो देख्ने आँखा सम्बन्धित नेतृत्वसँग छैन।

नागरिकको अनुहार प्रसन्न भएका दिन देशका नेताको विजय हुने हो, होइन भने उनीहरूले केवल भ्रम पालेर बाँचेका छन्। निर्वाचनमा किनेर वा धम्क्याएर ल्याएको मतले भएको विजय राजनीतिक भ्रममात्र हो। एकपटक बहुमत आयो भनेर मक्ख पर्नु भ्रमकै एउटा रूप हो। अर्कोपल्ट नागरिकले त्यो दल वा नेतालाई लोप्पा खुवाएको सबैले देखेजानेकै यथार्थ हो। निराश नागरिक देख्दा जबसम्म नेताको मन चसक्क हुँदैन तबसम्म विकासले बाटो समात्दैन। होइन भने युवा पुस्ताले किन पढ्नदेखि कमाउनसम्म विदेश रोजिरहेछन् ? केही वर्षअघिसम्म गाउँ रित्तियो, वृद्धवृद्धामात्र बचेका छन्, लास उठाउने मान्छे छैन भन्दै थियौं। दैनिक सात सय–आठ सय विद्यार्थी अध्ययनका लागि बिदेसिने यो क्रम रोकिएन भने वा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको जनलहर बढिरह्यो भने पत्याउन कठिन पर्ला तर अब सहर सुनसान हुन बेर लाग्ने छैन। हामीसँग ‘सर्वोच्च सोच’ नभएरै ‘शुभसाइत’ नभेटिएको हो, नवयुगको। संविधानमा थुपारिएका शब्दले के हुन्छ ? निष्प्राण ती शब्दमा श्वास (प्राण) भर्ने कसले ? नागरिकलाई दुई छाक जोहो गरेर पेट भर्न आफलताफल छ। विकाससँगै अविकास छ नेपालमा।

प्राण भर्ने नेताहरूलाई आफ्ना र आफन्तलाई पोसेर सात पुस्तालाई पुर्‍याउने रस्साकस्सी गर्दै ठिक्क छ। यही कारण विकासको बाटो दुष्कर भयो। समृद्धिको ‘सोच’मा ‘ब्रेक’ लाग्यो। सुख, शान्ति र समृद्धि शब्द शब्दमै सीमित भए। कसैले साकार बनाउनै सकेनन्। साकार पार भनेर अमूल्य मत दिएर सत्तामा पठाएका नेताले न देशमा ‘सिस्टम’ बसाल्न सके न नागरिकको भविष्य कोर्न नै। दुई/चार शीर्षनेताको ‘ज्यादती’ले सीमारेखा मिच्न लागेको छ। जनता नजागेसम्म न राणाशासन फ्याँकियो न पञ्चायत। अबका दिनमा जाग्ने जनताले के फ्याँक्छन् ? त्यो हेर्न बाँकी छ। प्रकृतिको नियम नै हो, अन्धकारपछि सुन्दर बिहानी अवश्य आउँछ। होइन भने संघीयता कार्यान्वयन हँुदा पनि किन खासै परिवर्तनको आभाससम्म हुँदैन ? तीन तहका सरकारको क्रियाशीलताले मुलुकमा विकास तीन गुणाले बढ्नुपर्ने होइन र ? शासकहरूको सोच र शैली उस्तै छ। जबसम्म सोचमा परिवर्तन आउँदैन, तबसम्म कार्यशैली बदलिँदैन।

सुशासन लगभग शून्य छ। सरकारी कार्यालयबाट पाउने सेवाको सहजता होइन, सास्तीले यसको पुष्टि गर्छ। अन्य देशमा हुने सुशासन नेपालमा किन हुन सक्दैन ? सोचजस्तो शासन त्यस्तै। ‘म भ्रष्टाचार गर्दिनँ’, ‘म भ्रष्टाचार गर्न दिन्नँ’ भनेर क्रमशः सरकारी कर्मचारी र सम्बन्धित निकायको नेतृत्वमा ‘सोच’ पलाउने हो भने कसरी र कहाँ हुन्छ भ्रष्टाचार ? जरैदेखि सोच्ने प्रवृत्ति नेपाली नागरिक र नेतृत्वसँग कहाँ ? प्रजातन्त्रको पुनर्बहाली भएयताका ३३ वर्षको सर्सती विश्लेषण गर्दा छर्लंग हुन्छ कि नेताको जस्तो सोच छ, त्यस्तै छ नेपालको विकास। समृद्धिसँग त उनीहरूको सोच जोड्न मिल्छजस्तो मलाई लाग्दैन। सिंगापुरको विमानस्थल विश्वकै नम्बर १ मानिन्छ। सिंगापुरको पिच सडक विश्वकै उत्कृष्टमा आउँछ। नेपालभन्दा कैयौं गरिब र फोहोर आक्रान्त एसियाकै कुनो मानिने देश हो, सिंगापुर। 

सरकारसँग ‘सर्वोच्च सोच’ हुने हो भने समस्या होइन, उसले यस्ता हरेक समस्याको समाधान देख्छ। ‘पास मार्क’मा अल्झिएको ‘नेपाली राजनीति’ले कसरी देशमा विकास र समृद्धिको पूर्णांक ल्याउला र खै ?

सडकदेखि आकाशसम्म साम्राज्य जमाउने हैसियत सिंगापुरले कसरी राख्यो ? सबै सही सोचकै उपज होइनन् ? ३२ ल्याए पास भइहालिन्छ नि भन्ने विद्यार्थीले कहिल्यै १०० नम्बर ल्याउला ? सिंहदरबारमा पुग्नेहरूले १०० नम्बर ल्याएर म ‘फस्ट’ हुन्छु भन्ने सोच कहिल्यै राखेनन्। जब शिक्षक नै ‘फेल’ हुन्छ भने विद्यार्थी कसरी पास हुन्छ ? असफल नेताले गरेको नेतृत्वबाट नागरिकले कसरी सही परिणाम पाउँछन् ? सोचबाट संसारको समृद्धि सम्भव छ भने नेपालमा किन हुन्न ?

संविधान त संशोधन गर्न सकिन्छ भने सोचमा किन सकिन्न ? नेतृत्वको सही सोच नहुँदा ‘डेभलपमेन्ट डिभाइडर’ बढेका छन्। सोचमा संस्कार र सचेतताको संगम गराउन सकियो भने जोकसैले गति लिन्छ। अझ यसमा सीपको समागम गराउन सके सुन्दर संसार सुरु हुन्छ। स्वधर्म (प्यासन) मिसायो भने जीवन फक्रन थाल्छ। तब मान्छे मान्छे बन्छ जब उसले प्यासनलाई प्रोफेसन बनाउँछ। संविधान त संशोधन गर्न सकिन्छ भने सोचमा किन सकिन्न ? सोच नकारात्मक नै भए पनि सकारात्मक बनाउन सकिन्छ नै। उल्टो बाटो हिँडेर को निर्धारित समयमा गन्तव्यमा पुगेको छ र ? सगरमाथाको चुचुरो के उल्टो पाइला चालेर पुग्न सम्भव छ ?

हो, दुनियाँमा आजसम्म कसैले पनि नकारात्मक सोचबाट जीवनलाई सर्वोच्च गन्तव्यमा पुर्‍याउन सकेकै छैनन्। जबसम्म सरकार चलाउनेहरूसँग सकारात्मक र समृद्ध सोच हुँदैन, तबसम्म नागरिकबीच पनि असमान सेवा र पहुँच रहिरहन्छ। जबकि संविधानतः मुलुकका सबै नागरिकको अधिकारबराबर हुन्छ। सोच र दृष्टि समदर्शी भएमात्र समान अवसर सम्भव छ। तर, सत्तानेतृत्वले समग्र विकास गर्दै सहरी नागरिकसरह विकटका बासिन्दालाई पनि सेवासुविधा पुगोस् भन्नेसम्म सोचेनन्। सरकारसँग ‘सर्वोच्च सोच’ हुने हो भने समस्या होइन, उसले यस्ता हरेक समस्याको समाधान देख्छ। ‘पास मार्क’मा अल्झिएको ‘नेपाली राजनीति’ले कसरी देशमा विकास र समृद्धिको पूर्णांक ल्याउला ? त्यही भएर देश विकासको सन्दर्भमा समग्र परिणाम पनि त्यस्तै देखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.