झुपडीदेखि उपराष्ट्रपतिसम्म

झुपडीदेखि उपराष्ट्रपतिसम्म
सुन्नुहोस्

सिमराः बाराका रामसहाय यादव शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका यादव देशको तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन्।

  
कलैया उपमहानगरपालिका ५ मा बस्दै आएका यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद हुन्। उनी मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए।
 
यसअघि २०७४ सालमा पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै प्रतिनिधिसभामा सदस्यमा निर्वाचित यादव २०६४ सालमा समानुपातिक सूचीबाट संविधानसभामा प्रवेश गरेका थिए । २०७८ सालमा उनी वनमन्त्रीसमेत बने। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री रहेका यादव पूर्णकालीन राजनीतिक जीवनको उतराद्र्धमा मुलुकको उपराष्ट्रपति बनेका छन्।
 
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विश्वासपात्रका रुपमा रहँदै आएका यादव शिक्षण क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका थिए। साविकको कचोर्वा गाविस ८ बसवरियामा जन्मिएका उनले २०४८ सालदेखि शिक्षण पेसा सुरु गरेका थिए। पन्नादेवी कन्या माध्यमिक विद्यालयमा शिक्षण पेसा गर्नुअघिनै उनी राजनीतिसँग जोडिएका थिए।
 
२०४७ सालमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको सद्भावना पार्टीसँग आवद्ध उनी शिक्षक मञ्चमा रहेर राजनीति सुरु गरे। पहिलो पटक सिंहले सुरु गरेको मधेस एकता रथ यात्रा अभियानमा सहभागी उनी त्यसयता पनि सद्भावना पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन थाले।
  
यादव २०६४ सालदेखि सक्रिय राजनीतिमा होमिएका हुन्। सक्रिय राजनीतिमा होमिने क्रममा २०४८ साल असार ९ गतेदेखि सुरु गरेको शिक्षण पेसालाई उनले २०६४ साल फागुन १६ गते त्यागेका थिए।
 
शिक्षण पेसामै रहेका बेला दुईपटकसम्म शिक्षा सेवा आयोगको मौखिक परीक्षामा असफल बनेका उनी २०६० सालमा नाम निकाल्न सफल भए तर त्यतिबेलासम्म उनी राजनीतिमा निकै अघि बढिसकेका थिए।

२०६२/६३ को  जनआन्दोलन र २०६४ सालको मधेस आन्दोलनपछि उनले शिक्षण पेसामा भन्दा राजनीतिमा बढी रुची देखाए।
 
शिक्षण पेसाबाट बिदा लिनुअघि उनले २०६० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमका संस्थापक उपेन्द्र यादवसँग भारतको रक्सौलमा भेट गरेका थिए। त्यही भेटपछि उनी पूर्णकालिन राजनीतिमा सक्रिय रहने अठोट गर्दै अघि बढे।
 
सद्भावना पार्टीको राजनीतिमा सक्रियता देखाएका कारण रामसहाय त्यसैबेला संस्थापक यादवको नजरमा परेका थिए। भूमिगत राजनीति गर्दै आएका संस्थापक यादवसँग रामसहायको भेट गराउने वातावरण बनाइयो। संस्थापक यादवका सहयोगीले रामसहायलाई रक्सौल लिएर गए। रामसहाय र उपेन्द्रबीच रक्सौलमा भेट भयो।
 
त्यही भेटपछि रामसहायले उपेन्द्रको साथ छाडेका छैनन् । भेटमा मधेसी जनअधिकार फोरमलाई अघि बढाउने विषयमा छलफल भएको थियो। यादवलाई भेटेर फर्किएपछि रामसहायले सेना र प्रहरीसँग लुकेर पार्टीको गतिविधिलाई अघि बढाए। उनले २०६० साल फागुन ७ गते बारामा मधेसी जनअधिकार फोरमको ९ सदस्यीय जिल्ला कार्यसमिति आफ्नै नेतृत्वमा गठन गरे।
 
प्रहरी र सेनाबाट लुकेर जिल्ला कार्यसमिति बनाएका यादवले आफ्नो नाम चन्द्रगुप्त राखे। जिल्ला कार्यसमिति गठन गरेको केही समयमै उनलाई संस्थापक यावले फोरमको केन्द्रीय सदस्य बनाए। त्यसपश्चात दुबैबीच भेटघाट बाक्लिदै गयो। उनीहरूबीच भारतको विभिन्न स्थानमा भेट हुने गरेको थियो।
 
पटनामा बसेको फोरमको केन्द्रीय समिति बैठकले जनआन्दोलनमा सहभागी हुने निर्णय गरेपछि रामसहाय नेपालमा आएर आन्दोलनमा सहभागी बने। जनआन्दोलनपछि २०६३ सालमा फोरमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भयो र यादव अध्यक्ष चुनिए।
 
त्यसैबेला उनलाई पर्सा जिल्लाको इन्चार्जको समेत जिम्मेवारी दिइयो। अन्तरिम संविधान जलाउने फोरमको निर्णयपछि उनी २०६३ साल माघ ३० गते वीरगन्जबाट पक्राउ परे। उनीसहित ९ जना पक्राउ परेपछि मधेस आन्दोलन थप चर्कियो र केही दिनमै उनको रिहा भयो।
 
एक महिनापछि गौरमा फोरम र नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताबीच झडप भयो। २७ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि अध्यक्ष यादवले रामसहायलाई रौतहटको जिम्मेवारी सुम्पिए। रामसहायले रौतहटको जिम्मेवारी लिएर पार्टी गतिविधि अघि बढाए । 

मधेस आन्दोलनपछि २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट उनी समानुपातिक सूचीबाट संविधानसभा सदस्य चयन भए । २०६५ साल जेठ १९ गते सम्पन्न फोरमको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय महासचिव चयन भए।
 
अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पार्टी एकता गर्दै बनेको संघीय समाजवादी फोरमको छैठौं अधिवेशनबाट पुनः यादव महासचिव बने । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसंग एकता हुँदा उनलाई पहिलो बरियताको महासचिवको जिम्मेवारी दिइयो । महन्थ ठाकुर नेतृत्वको राजपासँग पार्टी एकता गर्दै संघीय समाजवादी फोरमलाई जनता समाजवादी पार्टी (जसपा) मा रुपान्तरण गरियो।
 
हाल उनी जसपाका संसदीय दलका नेता हुन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि केन्द्रीय अध्यक्ष यादवले आफ्नो विश्वासपात्र रामसहायलाई संसदीय दलको नेता बनाएका हुन् । त्यससँगै जनता समाजवादी पार्टीको भागमा परेको उपराष्ट्रपति पदमा रामसहायलाई नै उम्मेदवारी बनाउने निर्णय अध्यक्ष यादवले गरे, जसअनुसार रामसहाय देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए।
 
रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अध्यक्ष यादव बारा २ को उपनिर्वाचन लड्ने निश्चित भएको छ । अध्यक्ष यादव उपनिर्वाचन लडेर प्रतिनिधिसभामा प्रवेश गर्ने तयारीमा छन्। 

null

शिक्षण पेसा छोडेको १६ वर्षमा उपराष्ट्रपति
उपराष्ट्रपतिमा निर्वाचित यादव जिल्लामा अत्यन्तै सालिन नेताका रुपमा परिचित छन्। पत्नी र तीन सन्तानका पिता अहिले कलैया ५ स्थित गोरुबजार छेउमा रहेको घरमा बस्छन्। 

शिक्षण पेसा सुरु गरेपछि उनी जन्मस्थल कचोर्वाको बसवरिया छोडेर कलैया आएका थिए । कलैयामा किनेको १२ धुर जमिनमा सानो झुपडी र गोठ बनाए । 

आर्थिक जोहो गर्न गोठमा गाईबस्तु पाल्न सुरु गरे । गाईबस्तु पत्नी चम्पादेवी स्याहार्थिन भने यादव शिक्षण पेसामा व्यस्त हुन्थे । उनले टिउसन र कोचिङ पढाउन सुरु गरे । शिक्षण पेसाबाट आएका तलब खाद्यान्न र सन्तानको शिक्षामा खर्च हुन्थ्यो । 

२०६४ सालमा संविधानसभा सदस्य चयन भएपछि उनले आफ्नो तलब तिनै सन्तानको शिक्षाका लागि खर्चिए । हाल उनका तीन सन्तान शिक्षाका लागि काठमाडौंमा छन्। पत्नी चम्पादेवी गाइवस्तु स्याहार्छिन्। उनी बारामा रहँदा त्यही गोठसँगैको घरमा बस्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.