पाटन नमुना सहरका अस्थायी संरचना हटाइँदै

पाटन नमुना सहरका अस्थायी संरचना हटाइँदै
सुन्नुहोस्

सरकारले २०६७ /६८ मा देशभर १० वटा नमुना सहरको रुपमा विकास गर्नेगरी बैतडीको पाटन बजारलाई पनि अघि बढाएको थियो।

बैतडी : बैतडीको पाटन नमुना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु गरेको छ। बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका खोका छाप्रा हटाउन थालिएको हो।  

नयाँ बसपार्क र विमानस्थल क्षेत्र जोडने सडकको क्षेत्राधिकारभित्र पर्ने नगर विकासको जमिनमा बनेका अस्थायी संरचनाहरू हटाउन थालिएको नगर विकास समितिका अध्यक्ष एवं पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए। 

५ मिटरसम्मको चौडा सडक निर्माण गरिन लागिएको नयाँ सहर आयोजना कार्यालय पाटनका सूचना अधिकारी इन्जिनियर रोहीतराज भण्डारीले जानकारी दिए। ‘५ करोडको ठेक्का भइसकेको छ, ५ मिटरसम्मको चौडा सडक बन्नेछ, सडक क्षेत्राधिकारभित्र पर्ने डेढ दर्जन बढी अस्थायी संरचनाहरू हटाइन थालिएको छ,’ सूचना अधिकारी भण्डारीले भने।  निर्माण सम्पन्न भएको बसपार्कसमेत सञ्चालनमा ल्याइने नयाँ सहर आयोजनाको कार्यालयले जनाएको छ। 

बजेट कार्यान्वयन हुन नसक्दा नयाँ सहर विकास कार्यालयको काम सोचेअनुरुप अघि बढ्न सकेको छैन। सरकारले बिनियोजन गरेको बजेट कार्यान्वयन हुन नसक्दा आयोजनाको काम सोचेअनुरुप अघि बढ्न नसकेको हो। गत आर्थिक वर्षमा आधा बजेट समेत खर्च नभएपनि चालु आर्थिक वर्षमा बजेट घटेर आएको छ। चालू आर्थिक वर्षमा १२ करोड ९२ लाख मात्रै बजेट आएको आयोजना कार्यालयले जनाएको छ।

नयाँ सहर विकास आयोजनाको कार्यालय प्रमुखविहीन रहेका कारणले पनि अपेक्षाअनुसार खर्च हुन नसकेको कार्यालय सूचना अधिकारी इन्जिनियर भण्डारीले बताए। डोटीमा रहेको सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख तुल्सीराम खरबुजाले पाटनको नयाँ सहरी विकास कार्यालयको जिम्मेवारी समाल्दै आएका छन्। कार्यालय प्रमुखले आयोजनाको कार्यालयमा कम उपस्थित हुने भएकाले पनि सोचेअनुसार काम हुन नसकेको हो।  

सरकारले २०६७ /६८ मा देशभर १० वटा नमुना सहरको रुपमा विकास गर्नेगरी बैतडीको पाटन बजारलाई पनि अघि बढाएको थियो। केही पूर्वाधारहरू सम्पन्न भइसकेको भए पनि नमुना सहरको झल्को दिने ल्यान्डपुलिङ अर्थात् जग्गा एकीकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउँदा काम अघि बढ्न सकेको छैन। 

जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुँदासम्म नयाँ सहरी विकासको कार्यालयलाई लालपुर्जासहित जग्गा हस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यस ठाउँमा नयाँ सहरी विकासको कार्यालयले उपयुक्त बासोबासको लागि घर, खानेपानी, खेल्ने चौर, विद्युतीकरणदेखि सुविधासम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्तण गर्ने कार्यक्रम हो। 

तर, नयाँ सहर आयोजनाको मुख्य कामको रुपमा रहेको जग्गा एकीकरणको काम अघि बढ्न नसकेको नयाँ सहरी विकास आयोजनाको कार्यालय पाटनका सूचना अधिकारी भण्डारीले बताए।  पाटन बजार क्षेत्र आसपासका खसरबाटा, लोर्खा र बिठ्ठेउडालगायतका क्षेत्रमा ल्यान्डपुलिङका लागि जग्गा छनौट गरिएको भए पनि कृषियोग्य जमिन नदिने बताएपछि उक्त काम रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.