अझै अन्धकारमै रुबीभ्याली

अझै अन्धकारमै रुबीभ्याली
सुन्नुहोस्

धादिङ : गणेश हिमालको काखमा फैलिएको रुबीभ्याली बिहानको घामसँगै झन् मनमोहक देखिन्छ। हरिया डाँडा, हिमशृंखलाको दृश्य, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यका कारण धादिङको उत्तरी भेगमा रहेको यो क्षेत्र पछिल्ला वर्षहरूमा चर्चित पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

तर प्रकृतिले उदारतापूर्वक दिएको सुन्दरताबीच यहाँका बासिन्दा भने एउटा आधारभूत सुविधाको अभावसँग जुधिरहेका छन्। त्यो हो भरपर्दो विद्युत् सेवा।रुबीभ्याली गाउँपालिकाका लापा, सेर्तुङ र तिप्लिङलगायतका बस्तीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको वर्षौं भइसकेको छ। गाउँका डाँडाकाँडामा पोल ठडिएका छन्, तार तानिएका छन्। तर, ती तारबाट स्थानीयका घरमा उज्यालो भने अझै पुगेको छैन।

अहिले पनि अधिकांश बासिन्दा स्थानीय खोलाबाट उत्पादित लघु जलविद्युत्मै निर्भर छन्। तर कम क्षमताको विद्युत्का कारण सामान्य बत्ती बाल्नबाहेक अन्य काम गर्न कठिन छ। विद्युतीय उपकरण सञ्चालन गर्ने, साना उद्योग स्थापना गर्ने वा आधुनिक सेवा विस्तार गर्ने कुरा अझै सपना जस्तै बनेको छ। स्थानीय सार्की विकका अनुसार केन्द्रीय विद्युत् उपलब्ध भए गाउँमै रोजगारी सिर्जना हुन्छ। काष्ठ उद्योग, ग्रिल उद्योग, चिस्यान केन्द्र तथा अन्य साना व्यवसाय सञ्चालन गर्न सकिने अवस्था बन्थ्यो। तर विद्युत्को अभावले गाउँको आर्थिक सम्भावनालाई सीमित बनाइरहेको छ।

विद्युत् नहुँदा सञ्चार सेवा पनि भरपर्दो छैन। कहिले नेटवर्क आउने, कहिले हराउने समस्या यहाँका बासिन्दाका लागि सामान्य बनिसकेको छ। यसको असर सर्वसाधारणदेखि सरकारी कार्यालय र सुरक्षा निकायसम्म परेको छ। सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिनेश घिमिरेका अनुसार कमजोर विद्युत् आपूर्तिले सञ्चार प्रणालीलाई प्रभावित बनाएको छ।

  • धादिङको रुबीभ्याली क्षेत्र प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाका कारण लोकप्रिय बन्दै गए पनि भरपर्दो विद्युत् सेवाबाट अझै वञ्चित छ।
  • लापा, सेर्तुङ र तिप्लिङलगायत बस्तीमा केन्द्रीय प्रसारण लाइन पुगेको वर्षौं भइसके पनि स्थानीयले नियमित विद्युत् पाउन सकेका छैनन्।
  • अधिकांश बासिन्दा कम क्षमताको लघु जलविद्युत्मा निर्भर छन्, जसले सामान्य बत्ताी बाल्नबाहेक अन्य विद्युतीय काम गर्न कठिन बनाएको छ।

सबैभन्दा बढी समस्या भने स्वास्थ्य क्षेत्रमा देखिएको छ। रुबीभ्याली आधारभूत अस्पतालकी चिकित्सक सञ्जिता केसीका अनुसार बिरामीलाई तत्काल रेफर गर्नुपर्दा एम्बुलेन्ससँग सम्पर्क गर्नसमेत कठिन हुने अवस्था छ। सञ्चार सम्पर्क नहुँदा उपचार प्रक्रियामा ढिलाइ हुने र बिरामीको अवस्था थप जटिल बन्न सक्ने जोखिम रहन्छ।

रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङका अनुसार घाम लागेका बेला मोबाइल टावरले काम गरे पनि मौसम प्रतिकूल हुँदा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ। विद्युत् समस्या समाधानका लागि विभिन्न निकायसँग निरन्तर छलफल भइरहेको उनले बताए।

यता नेपाल विद्युत् प्राधिकरण, धादिङ वितरण केन्द्रले भने स्थानीय स्तरमा देखिएका केही अवरोधका कारण केन्द्रीय प्रसारण लाइनबाट विद्युत् वितरण हुन नसकेको बताएको छ। वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार मिटर जडानका लागि आवश्यक प्रक्रिया अघि बढाउन पर्याप्त आवेदन नपरेको अवस्था छ।

धादिङ–२ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले समस्या समाधानका लागि संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार लघुजलविद्युत् सस्तो पर्ने भन्ने बुझाइले पनि केन्द्रीय विद्युत् विस्तारमा केही समस्या देखिएको छ।

पर्यटनको अथाह सम्भावना बोकेको रुबीभ्यालीमा विद्युत् र सडकजस्ता आधारभूत पूर्वाधार अझै चुनौतीकै रूपमा छन्। नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीतामाया गुरुङका अनुसार पर्यटन विकासका लागि यस्ता पूर्वाधार अपरिहार्य छन्। रुबीभ्याली पुग्ने पर्यटकहरूले प्राकृतिक सौन्दर्यको भरपूर आनन्द लिन्छन्। तर, विद्युत् अभावले उनीहरूले समेत सास्ती खेप्नुपरेको छ।

स्थानीय बासिन्दा र पर्यटक दुवैले भोगिरहेको यो समस्या समाधान भए रुबीभ्यालीको विकासले नयाँ गति लिन सक्ने विश्वास गरिएको छ। केन्द्रीय प्रसारण लाइनका तारहरू गाउँमाथि वर्षौंदेखि झुन्डिएका छन्। अब स्थानीयको अपेक्षा एउटै छ कि ती तारबाट केवल विद्युत्मात्र होइन, विकास र सम्भावनाको उज्यालो पनि घरघरमा पुग्न सकोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.