डा. सुवेदीका एकैपटक सात कृति विमोचन
![डा. सुवेदीका एकैपटक सात कृति विमोचन](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_GO4GABO12Q.jpg)
काठमाडौं : डा. सीता सुवेदी पन्थीका सात कृति एकैपटक विमोचन गरिएका छन्।
उनको खण्डकाव्य ‘मातापिता’, कविता संग्रह ‘छन्दमालिका’, सचिव बालकविता संग्रहत्रय ‘मेरो नेपाल’, ‘कति राम्रो जुनकिरी’ र ‘मयुर साथी’, सचित्र बालकाव्य ‘स्वाबास बाबु’ र बालचित्र कविताकृति ‘ढुकुर कुर कुर’को राजधानीमा विमोचन गरिएको हो। बालसिर्जना मञ्च, नेपालले कार्यक्रमको आयोजना गरेको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य प्रा.डा. हेमनाथ पौडेलले सीताको लगनशीलता आज शास्त्रीय छन्दमा गहिरो प्रभाव पारेको बताउँदै उनले आफूले गरेको विद्यावारिधि बालकवितामा नीतिचेतना सिर्जनाहरूमा देखिएको बताए। कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले कुनै पनि काममा निरन्तर लागिरहने विशेषताले सात कृति एकैपटक जन्माउन समर्थ भएको बताए।
‘मातापिता’ खण्डकाव्यको समीक्षा गर्दै सहप्राध्यापक डा. लेखप्रसाद निरौलाले खण्डकाव्यमा मानवीय संवेदनाका पक्षमा वैचारिक सन्देश प्रवाह भएको, सामाजिक जनजीवनको कुरुप यथार्थको चित्रण गरिएको बताए।
उनले भने, ‘खण्डकाव्यमा गाउँ छोडेर छोराबुहारीका साथ सहरमा पुगेका वृद्धका यथार्थलाई मुख्य विषय बनाउँदै जेष्ठ नागरिकका पीडा प्रस्तुत भएकाले मार्मिक छ।’ डा. रमेश शुभेच्छुले छन्दमालिका कविता संग्रहको समीक्षा गर्दै २४ शास्त्रीय छन्दका ७१ कवितामा प्रचलित तथा अप्रचलित छन्दको कुशल प्रयोग गर्न कवि सफल भएको बताए।
नेपाल बालसाहित्य समाजका अध्यक्ष डा. ध्रुव घिमिरेले ‘मेरो नेपाल’को समीक्षा गर्दै बालबालिकालाई देश, जीवन र जगत्बारे सर्जकले सचेत गराउँदै ज्ञान प्रदान गरेको बताए। साहित्यकार हरि खनालले ‘कति राम्रो जुनकिरी’ र ‘स्याबास बाबु’बारे बोल्दै गुरु, गुरुआमा, आमा, विद्यालय, विद्यार्थी, कक्षाकोठा आदिबारे कलात्मक शैलीमा कवितामार्फत् जानकारी दिएको बताए।
साहित्यकार एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले ‘ढुकुर कुर कुर’ र ‘मयुर साथी’माथि समीक्षा गरे। उनले भने, ‘ढुकुर कुर कुरले बालबालिकालाई विभिन्न पशु, पन्छीका आनीबानी, आवाज, बासस्थान आदिबारे जानकारी दिएको छ भने मयुर साथीले नैतिकता, सतेतता, समाज र संस्कृति सिकाएको छ।’
कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, सर्जक डा. सीता सुवेदी, साहित्यकार जितेन्द्र रसिकले बोलेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)