‘देशमै सम्भावनाको खोजी गर्नुपर्छ’

काठमाडौं : विद्यार्थीले स्वदेशमा सम्भावनाको खोजी गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिरपाली ठकुरीले बताएकी छन्।
काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै दीक्षित विद्यार्थीले देखेको भिजन र मिसनको सम्भावना स्वदेशमा खोजी गर्नुपर्ने उनले बताएकी हुन्।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन, मलेसियाका प्रमुख अपरेटिङ अफिसर गुरपरदीप सिंहले संसारमा निरन्तर परिवर्तन हुने भएकाले भविष्यमा थप जटिल चुनौतीलाई सामना गर्नुपर्ने बताए।
फाउन्डेसनका अध्यक्ष पंकज जलानले पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सीपमूलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिट्यान्स बढ्ने बताए। त्यसैगरी, फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाशकुमार केजरिवालले उद्देश्य ठूलो राख्दा पेसामा सदैव प्रगति हुने सुनाए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्नातक तह अध्ययनरत विद्यार्थीलाई रोजगार सिर्जना गरी आत्मनिर्भर गराउन निजी क्षेत्र सदैव तत्पर रहेको जनाए।
दीक्षान्त समारोहमा सन् २०२२ मा स्नातक तह उत्तीर्ण गरेका सूचना प्रविधिका ४९, स्नातकोत्तर तह एमबीएका १९, एमएस्सी सूचना प्रविधि व्यवस्थापनका ४९ गरी कुल १ सय १७ विद्यार्थी दीक्षित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !
