विद्यालयको पहुँचमा छैनन् बालबालिका

जाजरकोट : साक्षर जिल्ला घोषणा भएको सात वर्ष बितिसक्दा पनि जाजरकोटमा अझै एकसय ८८ बालबालिका विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ।
एक सर्वेक्षणअनुसार जिल्लाका भेरी र नलगाड नगरपालिका १६ वडामा गरिएको अध्ययन अनुसार ती बालबालिका विद्यालयको पहुँच बाहिर रहेको देखिएको हो।
साक्षर जिल्ला घोषणा भएको सात वर्षपछि जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा १० देखि १४ वर्षसम्मका १८८ जना बालवालिका विद्यालय भन्दा बाहिर रहेका छन्।
घरको गरिबी, सिजनल बसाई–सराई, विद्यालय र घरको दुरी टाढा, कमजोर शिक्षण सिकाइ र बुवाको पहिचान नहुनु जस्ता कारणले १८८ जना भेरी र नलगाड नगरपालिकाका बालबालिका विद्यालय भन्दा बाहिर रहेको बताइएको छ।
भेरी नगरपालिकाका ९ वटा वडाका १२७ जना र नलगाड नगरपालिकाका ७ वटा वडाका ६१ जना १० वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरू विद्यालय भन्दा बाहिर रहेका छन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले भेरी नगरपालिकामा २४ र नलगाड नगरपालिकामा १५ जना गरी ३९ जना सहजकर्तामार्फत विद्यालय भन्दा बाहिर रहेका १८८ जना बालबालिकालाई दैनिक ३ घण्टा संश्लेषित शिक्षण सिकाइ गराइरहेको केयर नेपालका कार्यक्रम विज्ञ नवराज शर्माले जानकारी दिएका छन्।
कार्यक्रम विज्ञ शर्माले दिएको जानकारी अनुसार भेरी नगरपालिका र नलगाड नगरपालिकाका १० वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत आर्थिक तथा सामाजिक कारणले विद्यालय छोड्ने जोखिममा रहेका २५३ जना बालिकाहरूलाई उपचारात्मक शिक्षण सिकाई तथा नेतृत्व सिप विकासमार्फत विद्यालय नियमिततामा जोड दिइएको छ।
भेरी नगरपालिकाका ५ वटा विद्यालयका एकसय ४२ जना, नलगाड नगरपालिकाका ५ वटा विद्यालयका एक सय ११ जना बालिकाहरूलाई उपचारात्मक शिक्षण सिकाइ कार्यक्रममा सहभागी गराइएको छ।
प्रतिक्रिया दिनुहोस !
