वीरगन्ज जगदम्बा जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा

वीरगन्ज जगदम्बा जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा
सुन्नुहोस्

सिमराः वीरगन्ज युनाइटेड क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

सिमरा रंगशालामा शुक्रबार भएको खेलमा बागमती युवा क्लबलाई ३–० ले पराजित गर्दै वीरगन्ज अन्तिम आठमा प्रवेश गरेको हो। 

वीरगन्जको जितमा विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गरे। वीरगन्जले तीन वटै गोल दोस्रो हाफमा गर्दै जित निकालेको हो। पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेनन्। 

खेलमा सुरुवाती लय बनाउन नसकेको वीरगन्जले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कियो। पहिलो हाफमा गोलका लागि निकै संघर्ष गरेको वीरगन्जले खेलको ५४औं मिनेटमा खाता खोलेको थियो।

वीरगन्जका कप्तान विवेक चौधरीले टिमलाई अग्रता दिलाएका थिए। बागमतीका डिफेन्स कामागाते मउसालाई बिट गर्दै विवेकले खेल १–० को स्थितीमा पुर्‍याएका थिए। त्यसलगत्तै कृपा चौधरीले अर्को गोल थपे।

खेलको ५६औं मिनेटमा कृपाले सानदार गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन्। सागर चौधरीले डिबक्स भित्र मिलाएको ब्याक पासलाई सदुपयोग गर्दै कृपाले आकर्षक गोल गरेका थिए।

बागमती विरुद्ध २–० को अग्रता लिएपछि वीरगन्ज खेलमा हाबी देखियो। बागमतीले दोस्रो हाफमा खासै आकर्षक अवसर सिर्जना गर्न सकेन। बागमतीलाई दवावमा राखेको वीरगन्जले खेलको ८६ औं मिनेटमा तेस्रो गोल थपेको थियो।

वीरगन्जका डिफेन्डर संजय चौधरीले निकालेको लामो पासलाई सदुपयोग गर्दै विवेकले टिमको जित सहज बनाएका थिए। 

प्रतियोगितामा विजयी सुरुवात गरेको वीरगन्जले आइतबार साविक विजेता न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ। यता खेलमा राम्रो सुरुवात गरे पनि स्कोर निकाल्न नसकेको बागमती भने पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा दुई गोल गरेका विवेक खेलको म्यान अफ दि म्याच घोषित भए। उनले महालक्ष्मी विकास बैंकद्वारा प्रायोजित १० हजार राशीको म्यान अफ दि म्याच पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत शनिबार भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच खेल हुनेछ। आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै चितवनले मकवानपुर ११ सँगको भेट पक्का गरेको हो।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टिल्स् प्रालिको मुख्य प्रायोजनमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.