आयो समीरको कोरोनातन्त्र
![आयो समीरको कोरोनातन्त्र](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_QHqExvAp0P.jpg)
काठमाडौं : रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ। लघुकथा विधाका सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो। कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक सय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन्। ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ।
कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रुपमा बुनेका छन्। कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन्। पुस्तकको केन्द्रिय पात्र डा. शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ।
हामीले भोगेका निरंकुशतन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा त्यसरी नै शासन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रुपमा लेखिएको छ। इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास लेखकले गरेका छन्। कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण ब्यंग्य गरेका छन्। कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताका लागि संग्रहणीय कृति बनेको समीरको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)