नमुना करेसाबारी प्रवर्द्धनका लागि नगरपालिकाको सहयोग

जाजरकोट : नमुना करेसाबारी प्रवर्द्धनका लागि भेरी नगरपालिका कृषि शाखाले छनौटमा परेका नमुना किसानहरूलाई आवश्यक बिउ बिजन र कृषि सामग्री वितरण गरेको छ।
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटको आव २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गत वर्षदेखि सञ्चालन भइरहेको प्रत्येक वडाको एक जना कृषकलाई नमुना करेसाबारी प्रवर्द्धन कार्यक्रम गर्न आवश्यक सहयोग गरिएको हो।
नगरभित्रका १३ वटै वडाका नमुना किसानलाई आवश्यक सामग्रीहरू सिल्पोलिन प्लास्टिक, यस मौसममा फल्ने तरकारीको बिउ, थोपा सिँचाइ सेट, स्प्रे टंकी, स्प्रिङकल, जैविक मल लगायत बाली संरक्षणका लागि आवश्यक जैविक किटनाशक तथा रोगनाशक विषादी प्राविधिक सुझाव सहित वितरण गरिएको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।
'कृषकहरूले राम्रो नमुना करेसाबारी बनाउने अपेक्षा लिएका छौं। हाम्रो सानो सहयोगले पनि उहाँहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने चाहना छ। उहाँहरूले गरेको नमुना योग्य करेसाबारीबाट अन्य किसान पनि प्रभावित भएर करेसाबारी तर्फ आकर्षित भई दैनिक ताजा तरकारी सेवनका लागि सहयोग पुगोस् भन्ने हाम्रो लक्ष्य हो', शाखा प्रमुख अधिकारीले भने।
प्रतिक्रिया दिनुहोस !
