मतदाताको मनोभावनालाई समेट्नै सकेनौं
ठूलो एमालेको डेक्चीबाट १ कचौरा भात लिएर बाहिर बस्या जस्तो अवस्था छ
समानुपातिकमा केन्द्रीय, पोलिटब्यूरो, स्थायी कमिटि, पदाधिकारी सचिवालयका मान्छे समेतले भोट हालेनन्। कहाँबाट पार्टीले थ्रेसहोल्ड कटाउँछ त ? झण्डै डेढ सय केन्द्रीय सदस्य भन्ने नामधारी पनि भोट हाल्न गएनन् भन्ने डाटा निकालिएको छ।
मन्त्रीबाट हटेपछि रुँदै सिंहदरबारबाट निस्कनुभयो। त्यसपछि चुनावमा पनि हार्नुभयो। आजभोली त चर्चामै हुनुहुन्न, हराएँ जस्तो लाग्दैन ?
यो त धेरै पुरानो भइसक्यो। असार १२ गते मन्त्रीबाट निस्केको १ महिनापछि नै म गाउँ गएकी थिएँ। मतदातालाई धन्यवाद दिएँ। प्रायः सबै पालिका र वडामा गएर मतदातालाई भेटेँ। महिनामा २ पटक जस्तो जिल्लामा गइराखेकी छु। भर्खरै पनि जिल्लाबाटै आएकी हुँ। चुनाव लडेपछि एउटा फरक खालको अपनत्व हुने रैछ। नयाँ सम्बन्ध पनि स्थापित भए। मर्दा–पर्दा पनि उपस्थित हुन मन हुने रहेछ। त्यसकारण जिल्ला नै जान मन लाग्छ। चुनाव हारेपछि म नियमित रुपमा जिल्ला गइ नै राखेकी छु।
आजभोलि त तपाईंले राजनीतिक विषयमा बोलेको पनि सुनिँदैन नि ?
म ‘क्विक रियाक्ट’ गर्ने मान्छे हुँ। कुनै बेला हामी बोलेपछि जनमत नै बन्थ्यो। मेरो टिमका साथिहरू फास्ट प्रतिक्रिया दिन्थ्यौं। ४/५ महिनायता धारणा दिन मन लाग्दैन। धारणा पनि कहाँ उभिएको भन्ने कुराले अर्थ राख्ने रैछ। राज्य संयन्त्र बाहिर बन्ने धारणा कहिलेकाहीँ बिना सूचनाका हुन्छन्। त्यसैले कुनै पनि विषयमा तत्काल धारणा बनाउने काम गर्दिनँ। संवाद सबैसँग हुन्छ।
अहिले जे गरिरहेको छु, अहिले यहि ठिक छ। किनभने मैले चुनाव पनि हारेँ। एउटा नयाँ पार्टी बनायौं जसले थ्रेसहोल्ड पनि कटाएन। राजनीतिक रुपले पनि चुनौति छ। त्यसैले सान्दर्भिक नलागेरै नबोलेको हो।
नयाँ पार्टी गठन गर्दा माधव नेपालको हात समात्दै गरेको तस्विर चर्चामा रह्यो, अहिले त्यही पार्टीसँग पनि तपाईं सन्तुष्ट हुनुहुन्न भन्ने छ नि ?
पार्टी खोल्नु बाध्यताको उपज थियो। एकदमै ठूलो मेनस्ट्रिम पार्टी बन्छ भन्ने विश्वासले पार्टी गठन गरेका थिएनौं। त्यतिबेला पार्टीभित्र लोकतान्त्रिकरणको विषय छँदै थियो। संसद विघटनको मुद्दा थियो। सहअस्तित्वको विषय पनि थियो। राजनैतिक अस्थिरता अन्त्य गर्दै स्थायित्व र स्थिरताका लागि हामी लडेका थियौं। २०६२/६३ मा त्यत्रो लड्यौं। संविधान जारी गर्दा संसद विघटनको परिकल्पना पनि थिएन। संसद विघटनको विषयले अन्ततः सडकमा आयौं। अरु भन्दा म व्यक्तिगत रुपमै बढी प्रभावित भएँ।तस्बिर : अशोक दुलाल
संविधानसभामा नभए पनि संविधानको दफादफामा हामीले छलफल गरेका थियौं। विकास र समृद्धिको दिशामा अघि बढनुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका १४ जनालाई कारबाहीको दायरामा ल्याइयो। संसद पद खारेज गर्न संसद सचिवालयमा सूचना पठाइएको थियो। सोही घटनाक्रमले पार्टी फुटको चरणमा पुग्यो। म त्यो एजेण्डामा सामेल भएर पार्टी विभाजनको पक्षमा उभिएँ। उभिँदा हामीसँग धेरै मान्छे थिए। हामी निर्वाचन आयोग जाँदै गर्दा पिता समानको लिडरलाई ढाडस दिएर हिँडाउनु मेरो बाध्यता थियो। त्यो हाम्रो बाध्यताको उपज थियो। कारबाहीबाट मुक्त हुनका लागि पार्टी फुटाएका थियौं। संसद विघटनको विरुद्घमा उभिँदा त्यो ठाउँमा पुगेका थियौं।
जुन ढंगले पार्टी खोल्यौं। त्यो ढंगले पार्टी अगाडि बढ्न सकेन। ठूलो एमालेको डेक्चीबाट १ कचौरा भात लिएर बाहिर बस्या जस्तो अवस्था छ। कार्यशैली, मूल्यमा, स्प्रिटमा, सिद्धान्तमा, संगठनमा वा बिचारमा नै भनौ न। कुनैमा पनि नयाँपन छैन। मतदाताको अहिलेको मनोभावनालाई समेट्नै सकेनौं। मैले निर्वाचनमा गठबन्धनबाट २६ हजार ४ सय ४१ मत ल्याएँ। जसमा मेरो पार्टीबाट करिब १६ सय चानचुन मत आएको थियो। पार्टीको हालत देख्दा त्यत्रो मत पनि कसरी आयो भन्ने लाग्छ। जुन स्प्रिटले पार्टी चलाउनुपर्ने हो त्यो हुन नसक्दा वितृष्णा हुनु स्वभाविक हो।
त्यतिबेला ‘बोल्न पाउनुपर्छ’ भन्दै एमालेबाट बिद्रोह गर्नुभयो। त्यसपछि त तपाईं धेरै नै बोल्न थाल्नुभयो भन्ने आरोप छ नि ?
त्यस्तो होइन। पार्टी ब्रेक भएको करिब ४० दिनसम्म म मन्त्री नै भएँ। जिम्मेवारीमा भएपछि बोल्नेभन्दा पनि सुन्ने नै बढी हुन्छ। त्यसपछि लगभग म बोलेको छैन। भृकुटीमण्डपमा वक्तव्य दिएको भोलिपल्टै म गिरफ्तारीमा परेको थिएँ। त्यो एउटा पृष्ठभूमि थियो। अहिले हाम्रो पार्टीमा बोल्ने विषय नै छैन। बोल्नु पर्ने केही नै छैन।
एमालेबाट जुन स्प्रिटका साथ बिद्रोह गर्नुभयो र नयाँ पार्टी बनाउनुभयो। त्यो पार्टी विद्रोहको भावनाअनुसार सञ्चालन भएको छ त ?
यसका पछाडि विविध कारण छन्। नयाँ पार्टी युवालाई लक्षित हुनुपथ्र्यो। तर, भइदियो कस्तो भने एकदमै धेरै सिनियर नेताहरूलाई मात्रै समेट्न सक्यौं। म जन्मिँदा पार्टी बनाउँदै गरेका पुस्तालाई समेट्यौं। केन्द्रिय कमिटी पनि त्यस्तै बन्यो। पार्टीका संरचना पनि त्यसैगरी बने।
जीवनको उत्तरार्धमा म नै हिँड्न लागिसकेँ। उहाँहरूमा स्वास्थ्य, ऊर्जा, सपना, सोच र क्षमताको दृष्टिकोणले काम गर्न नसक्ने व्यक्तिहरूको ‘रिटायर्ड क्लब’ जस्तो पार्टी बन्यो।
- ४/५ महिनायता धारणा दिन मन लाग्दैन। धारणा पनि कहाँ उभिएको भन्ने कुराले अर्थ राख्ने रैछ।
- हामी निर्वाचन आयोग जाँदै गर्दा पिता समानको लिडरलाई ढाडस दिएर हिँडाउनु मेरो बाध्यता थियो।
- पार्टीको हालत देख्दा त्यत्रो मत पनि कसरी आयो भन्ने लाग्छ।
- वामपन्थीहरूबीच एकता गर्नुपर्छ भन्ने कुरा साना पार्टीले नै आवाज उठाउने हो।
मैले ४० वर्षमुनिका कम्तिमा ४० प्रतिशत केन्द्रीय सदस्य बनाऔं भनेँ। किनभने त्यसो गर्दा पार्टीभित्रै एउटा भाइब्रेसन आउँथ्यो। अहिले युवा शक्तिको लाभ लिने बेला हो। हाम्रो पार्टीले त्यो लाभ लिन सक्थ्यो। मेरो फोकस त्यहीँ थियो। अहिले त स्ववियु निर्वाचनमा समेत ४० कटेका पुग्न थाले। पहिला माले भएको बेला विद्यार्थीमा हामीले अकल्पनीय सफलता हासिल गरेका थियौं।
अहिले त पार्टीमा युवाहरूलाई बढी ल्याउने भन्नेमा काम गर्ने पनि टिम छ। उहाँहरूले त्यो काम खै त गरेको भन्ने पनि छ। त्यो टिमले पनि काम गरेको छैन। विचारधारा, सिद्धान्त, कार्यशैली, संगठनको कुरा आउँछ। यि विषयमासमेत हामी डिबेट गर्दैनौं। हामी गर्छौ चाहीँ के त ? भन्ने कुरा पनि छ। यद्यपि पार्टीका विभिन्न विभागले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएकै होला।
एमालेबाट विद्रोह गरेर बनेको पार्टीले राष्ट्रिय दलको मान्यता नपाउँदा कस्तो अनुभव गर्नुभयो ?
समानुपातिकतर्फको सूची फाइनल गर्ने बेला नै गल्ति भयो। हुनुपर्ने मान्छे नभएपछि भोट पनि कसैले हालेनन्। समानुपातिकमा केन्द्रीय, पोलिटब्यूरो, स्थायी कमिटि, पदाधिकारी सचिवालयका मान्छे समेतले भोट हालेनन्। कहाँबाट पार्टीले थ्रेसहोल्ड कटाउँछ त ? झण्डै डेढ सय केन्द्रीय सदस्य भन्ने नामधारी पनि भोट हाल्न गएनन् भन्ने डाटा निकालिएको छ। किन भोट हाल्न गएनन् त भन्दा त्यहाँ जीवन देखेनन्, मान्छेमा ऊर्जा आएन, कुरा यही हो।
बिद्रोहपछि पनि पार्टी चलाउने त केपी शर्मा ओली नै हुन् भनेर प्रशंसा गर्नुभयो नि ?
त्यसो भनेको होइन। उहाँ (केपी ओली)ले क्विक निर्णय गर्नुभयो नि, त्यस सन्दर्भमा मैले भनेको हो। हिजो प्रचण्ड कमरेडसँगै हुँदा खेदो खनेको मान्छेलाई प्रधानमन्त्री दिनुभयो। माधव नेपाललाई राष्ट्रपति पद दिन तयार हुनुभयो। त्यो त क्विक लिडरशिपको हिसाबले मैले भनेको हो।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तपाईं निकै आक्रोशित हुनुहुन्थ्यो खास कारण के थियो ?
जो जहाँ छ, पदीय हिसाबले गरिमा र मर्यादा राख्नुपर्छ भन्ने मेरो कुरा हो। सम्माननीय पूर्वराष्ट्रपतिप्रति त्यत्तिकै सम्मान र श्रद्धा छ। उहाँले संविधान र जनभावनाभन्दा बाहिरको स्टेप लिँदा मैले प्रतिक्रिया जनाएकी हुँ। त्यो सन्र्दभमा ती प्रतिक्रिया जायज थिए। व्यक्तिगत हिसाबले केही पनि छैन। मेरो पार्टीको लिडर नै हुनुहुन्थ्यो। हामी काम गर्ने सन्र्दभमा फरक–फरक पृष्ठभूमिबाट आयौं होला। संसद विघटन र अध्यादेशका विषयमा मेरो प्रश्न थियो। त्यो मेरो मात्र प्रश्न थिएन, सबै नेपालीको प्रश्न थियो।
एमालेसँग पार्टी एकता सम्भव छ कि छैन ?
वामपन्थीहरूबीच एकता गर्नुपर्छ भन्ने कुरा साना पार्टीले नै आवाज उठाउने हो। ठूलो पार्टीलाई मतलब हुँदैन। वामपन्थीबीच व्यापक एकताको पहलकदमी लिनुपर्छ भनेर हाम्रो पार्टीले निर्णय नै गरेको छ। जनमोर्चालगायतका साना पार्टीले यि मुद्दा बोकि राख्छन्। जरुरी छ। तर, तत्काल देखिँदैन। भविष्यमा एकले अर्कोको आवश्यकता खट्किएमा होला।
माओवादीसँग पार्टी एकता गर्न लाग्नुभएको हो ?
माओवादीसँग पनि एकता भने हुँदैन। मोर्चा गरेर जाने भनेर पार्टीले निर्णय गरेको थियो, त्यो निर्णय कार्यान्वयन भएको छैन। पार्टी एकताको सम्भावना अहिले नै कसैसँग छैन।
मुलुकको अर्थतन्त्र नाजुक छ। तपाईको पार्टीको पनि अर्थमन्त्रालय नै दाबी हो ?
पुजीँगत खर्च गर्न सकेका छैनौं। बजारमा सर्कुलेशन कम हुने भो। अर्को रेभेन्यु टार्गेट मिट गर्न सकेका छैनौं। जसले गर्दा साधारण चालु खर्च धान्न मुश्किल छ। सबैभन्दा पहिला साधारण खर्च घटाउनु पर्छ। जसका लागि गाउँपालिका नगरपालिकामा मेयर उपमेयरका स्वकीय सचिव, पिए, सल्लाहकारलाई कटौति गरिनुपर्छ। कतिपय स्थानमा राखिएका अनावश्यक करारका कर्मचारी कटौति गर्नुपर्छ। कतिपय मन्त्रीका १० वटा गाडीसम्म चलिरहेका हुन्छन् ति कटौति हुनुपर्छ। अहिले अनुदानजन्य कुराहरू तत्काल रोकिनुपर्छ। राज्यको सम्पत्ति लुटेर बाडेँर खानुहुँदैन भन्ने कुरा हो।
तपाईंको पार्टीको भागमा कतिवटा मन्त्रालय आउँछन् ?
अर्थ मन्त्रालयमा कर्मचारी प्रशासन बुझेको, धेरथोर अर्थतन्त्र बुझेको मान्छे जाँदा देशलाई राम्रो हुन्छ। मन्त्रालयमा दाबीका लागि मरिहत्ते गर्नुपर्दैन। स्वतः सम्मानजनक सहभागिता हुनेछ। र, अर्थमन्त्रालय सम्हाल्नसक्ने साथीहरू हाम्रो पार्टीमा पनि हुनुहुन्छ।
प्रस्तुति : राधा खनाल