एरास्मसको शतकमा नामिबियाले पीएनजीलाई दियो ३८२ रनको लक्ष्य

विन्डोक : कप्तान गर्हर्ड एरास्मसको शतकप्रेरित नामिबियाले आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा पपुवा न्युगिनीलाई तीन सय ८२ रनको लक्ष्य दिएको छ।
नामिबियाको विन्डोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले आठ विकेट गुमाएर तीन सय ८१ रनको योगफल तयार गर्यो।
नामिबियाका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका एरास्मसले एक सय १३ बलमा एक सय २५ रनको शतकीय इनिङ खेले। उनले त्यस क्रममा ११ चौका र पाँच छक्का प्रहार गरेका थिए।
यस्तै ओपनर निकोलस डाविनले ७९ बलमा १३ चौका र एक छक्कासहित ९० रनको इनिङ खेले। यान निकोल ५९ बलमा ६ चौका र दुई छक्कासहित ६१ रनको इनिङ खेलेर पेभेलियन फर्किँदा जेन ग्रिनले ३३ तथा कार्ल बिर्केन्स्टोकले अविजित १९ रन जोडे।
आईसीसी विश्वकप क्रिकेट लिग २ को शीर्ष तीनमा नपर्दा प्ले अफमा पुगेको नामिबिया शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ।
तर पहिलो खेलमा अमेरिकासँग ८० रनको फराकिलो पराजयपछि नामिबिया जितका लागि आत्तुर छ। यस्तै, पछिल्लो खेलमा यूएईसँग २१ रनले हारेको पीएनजी पनि आजको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।
प्ले अफमा क्यानडा, जर्सी, नामिबिया, पपुवा न्युगिनी, यूएई र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसबाट शीर्ष दुई टिम जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकपको छनोटमा स्थान बनाउने छन्।
प्रतिक्रिया दिनुहोस !
