बझाङमा ८ वर्षपछि ट्रस पुल बन्दै
बझाङ : निर्माणाधीन रायल–उत्गडी सिमार जोड्ने ट्रस पुलले तीव्रता लिएको छ। लामो समयदेखि अधुरो रहेको केदारस्युँ गाउँपालिकाको रायल र थलारा गाउँपालिकाको उत्गडी जोड्ने ट्रस पुलको निर्माण कार्यले तीव्रता लिए थलाराबासीमा खुसियाली छाएको छ।
सेती नदीमाथि बनिरहेको ७७ मिटर लामो ट्रस पुल आगामी असारसम्म गाडी चल्ने गरि अगाडी बढिरहेको छ। संविधानसभा सदस्य एलबी रावलले आफू संसद्मा हुँदा पहल गरेको यो पुलमा झन्डै ८ वर्षदेखि काम हुन सकेको थिएन। ८१ करोडको लागत अनुमान गरिएको यो पुलमा कालिका चन्द सेवाले ठेक्का सम्झौता गरेको भए पनि निर्माणको जिम्मा भने ग्वाल्लेख निर्माण सेवाले पाएको छ।
पहिलेको सम्झौता अनुसार निर्माण कार्य नभएपछि पुनः म्याद थप गरी अहिले तीव्र गतिमा काम भइरहेको यो पुलको ट्रसिङको काम यसै चैत महिनामा सकिनेछ भने आगामी वैशाखमा पुलमाथि आरसीसी ढलानको काम सुरु गरी असारमा पूर्णरूपमा सवारी साधन गुड्न योग्य हुने साइट इन्जिनियर सन्तोष चन्दले बताए। उनका अनुसार पुल निर्माणपछि आगामी जेठ महिनामा पुलको वारिपारि दुवैतिर जाली भर्ने र तटबन्धनको कार्य गरिने छ।
यो पुल निर्माण भएपछि विशेषगरी थलाराको वडा नम्बर १ वडा नम्बर र वडा नम्बर ३ बासीले भोग्दै आएको यातायात समस्या समाधान हुने थलामरा २ का स्थानीय देवेन्द्र सायरले बताए। अहिले यी तीन वटा वडाका बासिन्दाहरूले देउरा हुँदै पैदल यात्रा र ३ घण्टा टाढा झनानाबाट गाडीको यात्रा गर्नु परिरहेको छ। सेती नदीमा बनेका पुलहरू सेतीवारीका बासिन्दाहरूलाई असमान दुरी र भौगोलिक कठाइले गर्दा यात्रा गर्न सकस हुँदै आएको छ।