हरेक नेपालीलाई वित्ताीय पहुँच पुुर्याउने भनिए पनि अझैसम्म सबै स्थानीय तहमा बैंक पुगेका छैनन्।
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा आम सर्वसाधारण जोडिएर मात्रै हुँदैन। हरेकले बचतदेखि ऋणलगायतको कारोबार, त्यो पनि अहिलेको आधुनिक प्रविधिसँग परिचित भएर कसरी गर्ने भन्ने जान्न जरुरी छ। शैक्षिक ज्ञान भएकाहरूलाई पनि वित्तीय कारोबारमा साक्षर नहुने भएकाले यो जरुरी भएको हो।
यसैलाई मध्यनजर गर्दै वित्तीय संस्थाहरूले वित्तीय साक्षरता पनि गर्दै आएका छन्। तर, यसलाई कस्तो ढाँचामा आम सर्वसाधारणलाई वित्तीय साक्षरतामा जोड दिन केन्द्रीय बैंकले शुक्रबार अध्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको हो। संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो मार्गदर्शन जारी गरिएको केन्द्रीय बैंकले बताएको छ।
मुलुकभर क्रमशः वित्तीय पहुँच वृद्धि भएसँगै वित्तीय साक्षरता अत्यावश्यक पर्ने भएकाले नेपाल राष्ट्र बैंकदेखि बैंक तथा वित्तीय संस्थाहरूले यसलाई जोड दिएका छन्। तर, हरेक नेपालीलाई वित्तीय पहुँच पुुर्याउने भनिए पनि अझैसम्म सबै स्थानीय तहमा बैंक पुगेको छैन। आर्थिक वर्ष २०७९/८० को माघसम्ममा कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५२ तहमा मात्रै वाणिज्य बैंकहरूका शाखा खुलेका छन्।
अझै बझाङ जिल्लाको साईपाल गाउँपालिका बैंकको पहुँचबाहिर छ । हाल मुलुकभर बैंक तथा वित्तीय संस्थाहरूको संख्या १ सय २१ रहेको छ। यसमध्ये २२ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्। बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजार ६ सय ११ पुगेको छ ।
यससँगै वाणिज्य बैंक, विकास र वित्त कम्पनीमा कुल निक्षेप खाता संख्या ४ करोड ८१ लाख ७५ हजार २ सय ३५ पुगेको छ। एउटै व्यक्तिले ४–५ ओटा खाता खोल्ने गरेकाले जनसंख्याको दोब्बर खाता पुगेको तथ्यांकमा देखिन्छ। निक्षेपको तुलनामा कर्जाको खाता संख्या कम अर्थात् १८ लाख ३६ हजार ४ सय ८५ मात्रै छ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार वित्तीय साक्षरता मार्गदर्शनको उद्देश्य पनि वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने हो। ‘पछिल्लो समय सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम भए। वित्तीय ज्ञान नभएकालाई वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएकालाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणालीप्रति अभ्यस्त बनाई नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पुर्याउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने भनिएको हो,’ उनले भने
यसैले बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुने गरी वित्तीय ज्ञानको विविध क्षेत्र समेटी व्यवस्थित रूपमा योजना तयार गर्नु पर्नेछ।
यसरी योजना तयार गर्दा प्रत्येक लक्षित वर्गको वित्तीय ज्ञान र व्यवहार परिवर्तनका लागि वित्तीय अनुशासन, बचत, कर्जा, विद्युतीय वित्तीय सेवाहरू, केन्द्रीय बैंकबारे जानकारी तथा कार्यहरू, ग्राहक संरक्षण÷गुनासो सुनुवाइ, ब्याजदर, औपचारिक वित्तीय कारोबार, गुनासो व्यवस्थापन, धितोपत्र बजार, घरायासी बजेट, तर्कसंगत वित्तीय निर्णयहरू, वित्तीय लक्ष्य, लघुउद्यम तथा व्यवसाय योजना बनाउनेलगायतबारे ज्ञान दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ।
यसलाई बैंक तथा वित्तीय संस्थाको योजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित अनुगमन तथा रिपोटिङका लागि संस्थाले पूर्ण प्रतिबद्धता व्यक्त गर्नु पर्नेछ।